अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२४ | Colorodo: 17:39

विभिन्न देशको कुटनीतिक बहिष्कारका बीच चीनमा शीतकालीन ओलम्पिक्स सुरु

बिआरटीनेपाल २०७८ माघ २१ गते ६:४३ मा प्रकाशित

शीतकालीन ओलम्पिक्स खेल चीनमा सुरु भएको छ । कोरोनाको नियन्त्रण, मानव अधिकार हननकाे आरोप र कुटनीतिक बहिष्कारका बीच बेइजिङमा ओलम्पिक्स सुरु भएको हो । बेइजिङ ग्रीष्मकालीन र शीतकालीन दुवै ओलम्पिक्स आयोजना गर्ने एक मात्र सहर बनेको छ । ओलम्पिक्समा खेल प्रतियोगिताहरू हुने खेलस्थलमा भएका धेरैजसो हिउँ मानवनिर्मित हुन् । चीनले शून्य कोभिडको अवस्था हासिल गर्नका लागि विभिन्न प्रयास गरिरहेकाले सर्वसाधारण दर्शकहरूलाई खेलको टिकट बेचेको छैन ।

सत्तारूढ कम्युनिस्ट पार्टीका सदस्य वा सरकारी स्वामित्व रहेका कम्पनीहरूका कर्मचारीमात्र खेल हेर्नका लागि आमन्त्रित छन् । उनीहरूले पनि परीक्षण र प्रतिबन्धका कडा नियमहरू पालना गर्नुपर्नेछ । खेलाडी र व्यवस्थापनको टोलीलाई पनि कडा नियम लागू गर्दै सीमित चौघेराभित्र राखिएको छ ।चीनले मानव अधिकार उल्लङ्घन गरेको भन्दै अमेरिका, बेलायतसहित विभिन्न देशले ओलम्पिक्समा कुटनीतिक बहिस्कार गरेका छन् ।

अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आईओसी) ले यो प्रतियोगितामा ९१ देशले भाग लिने जनाएको छ । प्रतियोगितामा एक सय नौ इभेन्ट्समा दुई हजार आठ सय ७१ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । २४ औँ संस्करणको शीतकालीन ओलम्पिक्सको बेइजिङ राष्ट्रिय रङ्गशालमा चीनका राष्ट्रपति सी जिनपिङले उद्घाटन गर्नुभएकाे हाे । ओलम्पिक्सकाे समापन समारोह पनि यही रङ्गशालामा हुनेछ । शीतकालीन ओलम्पिक्स आउँदो फेब्रुअरी २० तारिखसम्म चल्नेछ ।

प्रतिक्रिया