अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४७ | Colorodo: 00:02

इजरायलको आदेशपछि हजाराैँ सर्वसाधारण गाजाको रफाह शहर छाड्दै

बिआरटीनेपाल २०८१ वैशाख २४ गते ७:२६ मा प्रकाशित

इजरायली सेनाले गाजाको दक्षिणी भेगमा रहेको पूर्व रफाह शहर छाड्न आदेश दिएपछि स्थानीयवासीले धमाधम शहर छाड्न थालेका छन् ।रफाहमा झन्डै १५ लाख जना गाजाका शरणार्थी बस्छन् । तीमध्ये पूर्वी रफाहका एक लाख जनालाई तुरुन्तै शहर छाड्न इजरायलको सेनाले आदेश दिएको छ । इजरायली आदेशपछि हजारौँ सर्वसाधारणले शहर छाडिरहेका छन् । कोही पैदलै, कोही टेम्पु र साना गाडी चढेर तथा कोही खच्चरमा चढेर शहर छाडिरहेका देखिन्छन् । शहर छाड्नेमध्ये धेरैजसोले आफूहरूको जाने ठाउँ र खानेकुराकाे टुङ्गो नलगेको तर ज्यान बचाउनका लागि मात्रै शहर छाडेको गुनासो गरेका छन् ।

गाजा क्षेत्र तहसनहस हुनेगरी इजरायलले महिनौँदेखि आक्रमण गरिरहेको छ । गाजा ध्वस्त भएसँगै त्यहाँका बासिन्दा रफाहमा गएर बसेका थिए । गाजाको तुलनामा रफाहमा सहायता सामग्री पुर्‍यान केही सहज भएको थियो तर रफाहमै इजरायलले हमला गर्न थालेपछि सहायता सामग्री ढुवानी पनि अनिश्चित बनेको छ ।संयुक्त राष्ट्र सङ्घसहित अन्य विश्वव्यापी मानवीय सङ्घ–संस्थाले रफाहमा आक्रमण गर्ने इजरायली तयारीको चर्को विरोध गरेका छन् । रफाहमा आक्रमण गर्दा एकातिर हजारौँ सर्वसाधारणको ज्यान जाने र अर्कोतिर मानवीय सहायता सामग्री पुर्‍याउन गाह्रो हुने सङ्घ–संस्थाहरूको भनाइ छ ।

इजिप्टको राजधानी कायरोमा दुई दिनसम्म चलेको वार्ता असफल भएपछि इजरायली सेनाले आक्रमणलाई तीव्रता दिँदै रफाह शहरमा व्यापक आक्रमण गर्ने तयारी गरेको हो । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टिनी विद्रोही समूह हमासलाई पराजित गर्नका लागि रफाह शहरमा आक्रमण गर्नैपर्ने बाध्यता रहेको बताउनुभएको बीबीसीले जनाएको छ । तर हमासले भने रफाहमा आक्रमण गर्ने इजरायली उग्रताको परिणाम राम्रो नहुने चेतावनी दिएको छ । हमासका वरिष्ठ अधिकारी सामी अबु जुहरीले समाचार संस्था रोयटर्ससँग कुरा गर्दै रफाहबाट सर्वसाधारण निकाल्ने इजरायली योजना ठूलो विनाशको सङ्केत भएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू