अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५७ | Colorodo: 18:12

सापसको कविता यात्रा र आठ बुँदे घोषणापत्रसहित सकियो इलाम पर्यटनमैत्री साहित्य सम्मेलन

बिआरटीनेपाल २०७८ मंसिर २६ गते ११:३० मा प्रकाशित

इलाम । सूर्योदयको जिल्ला इलाममा आयोजना गरिएको दुई दिने अन्तर्देशीय इलाम पर्यटनमैत्री साहित्य सम्मेलन आठ बुँदे घोषणापत्रसहित सकिएको छ ।

साहित्यिक पत्रकार सङ्घ, काठमाडौँ र इलाम नगरपालिका साहित्य, कला, सङ्गीत प्रतिष्ठान र इलाम नगर पर्यटन प्रवर्द्धन समितिले संयुक्त रूपमा आयोजना गरेको सो सम्मेलनमा इलाम बाहिरबाटमात्र एक सय बढी साहित्यकारहरू इलाम पुगेका थिए ।

सो सम्मेलनमा नेपालबाट काठमाडौँ, चितवन, मकवानपुर, सिन्धुली, नेपालगन्ज, इलाम, झापा, पाँचथर, ताप्लेजुङ, सुनसरी, मोरङ, पोखरालगायत भारतको दार्जिलिङ, सिलगढी, कालेम्पोङ्ग, सिक्किम, गुवाहाटी, मणिपुर, कोलकातालगायत क्यानमेरा, अस्ट्रेलिया, अमेरिकाबाट गरी एक सय बढी साहित्यकारहरूले सो सम्मेलनमा भाग लिएका हुन ।

यस सम्मेलनले नेपाल र भारतको नेपाली साहित्यिक सम्बन्धलाई अझ बलियो बनाएको र इलामको पर्यटनको प्रचारमा सहयोग पुग्ने विश्वास आयोजकहरूको रहेको छ।

वरिष्ठ साहित्यकार डा. गाग्री शर्माको प्रमुख आतिथ्यमा आयोजना गरिएको सो कार्यक्रमको अध्यक्षता इलाम नगरपालिका साहित्य, कला, सङ्गीत प्रतिष्ठानकी अध्यक्ष टीका घिमिरेले गरेकी थिइन ।

सो कार्यक्रममा सम्मेलनका सह अध्यक्ष तथा साहित्यिक पत्रकार सङ्घका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीले कार्यक्रमको उद्देश्य र महत्त्वमाथि प्रकाश पार्दै नेपाली साहित्यको पूर्णता नेपाल, भारत र डायस्पोराको साहित्यलाई मिलाएर मात्र हुने उल्लेख गर्दै इलामको साहित्यिक सम्मेलनहरूको चर्चा गरे । उनले नेपाली साहित्यमा चेतको कुरा गर्दै अब नेपाली साहित्यको  अन्तर्राष्ट्रियकरणको लागि थप कार्यको लागि जोड दिनु पर्ने पनि बताए ।

कार्यक्रममा विशेष अतिथिका रूपमा इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, नेपाली साहित्य सम्मेलन दार्जीलिङ्गका पूर्व अध्यक्ष एवं नेपाली भाषा परामर्श समिति, दिल्लीका पूर्व संयोजक वरिष्ठ साहित्यकार प्रेम प्रधान, भारतीय नेपाली नारी साहित्य मञ्चकी अध्यक्ष वरिष्ठ आख्यानकार
विन्द्या सुब्बा (दार्जिलिङ), नेपाली साहित्य सम्मेलन दार्जीलिङ्गका पूर्व अध्यक्ष गोपीचन्द्र प्रधान, साहित्यिक पत्रकार सङ्घका पूर्व अध्यक्ष सर्जक नरेन्द्रबहादुर श्रेष्ठ, गुन्जनकी निवर्तमान अध्यक्ष वरिष्ठ आख्यानकार एवं साहित्यिक पत्रकार हिरण्यकुमारी पाठक (काठमाडौँ),  प्रा. युद्धप्रसाद वैद्य, वरिष्ठ नाटककार प्राज्ञ अशेष मल्ल, वरिष्ठ साहित्यकार मुक्ति बराल (सिलगढी), वरिष्ठ साहित्यकार गायत्री श्रेष्ठ (चितवन) आदि रहनु भएको थियो ।

यसै गरी अतिथिका रूपमा दायित्व प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, वरिष्ठ समालोचक प्रमोद प्रधान, वरिष्ठ नियात्राकार युवराज नयाँघरे, साहित्यकार नारायण होमागाई (कोलकाता), अनेसास सिलगढी च्याप्टरकी अध्यक्ष लतिका जोशी, वरिष्ठ सङ्गीतकार बुलु मुकारुङ, प्राज्ञ नन्दु उप्रेती, वरिष्ठ समालोचक प्रा. डा. सावित्री मल्ल कक्षपति, अनेसासकी सल्लाहकार एवं सिक्किम च्याप्टकी निवर्तमान अध्यक्ष डा. पुष्पा शर्मा, सखी प्रतिष्ठान अध्यक्ष मन्जिला अनिल, दार्जिलिङका साहित्यकारहरू
युवराज काफ्ले, नगेन्द्र गोर्खा, सीताराम काफ्ले, सूर्य श्रेष्ठ, जाेगेन दर्नाल, सविता थापा संकल्प, सुमित्रा अविरल, नगेन्द्र गाेर्खा, प्रा. तेजमान बराइली, सुकराज दियाली, डा. जीवन राणा, कृष्ण पी ठटाल, जीवन नामदुङ, बीनिता छेत्री, नरेश कटुवाल छेत्री, रोशन राई, ज्ञानेन्द्र खतिवडा, ललिता जोशी, खेम सापकोटा, कालुसिह रनपहेली, नुहाङ् राई (मिरिक), लोकनाथ उपाध्याय चापागाईं, टिकाराम थापा, तेजमान बरायली, शान्ति सिह, उषा गहतराज नन्दी, कृष्ण बी. ठटाललगायतको उपस्थिति रहेको थियो ।

यसै गरी सिक्किमका साहित्यकारहरू उषा शर्मा, कवि मुन्ना बराल, युवा बराल, हरिश मोक्तान अल्लारे, जीविका अश्रु र गुवाहाटी, असमका साहित्यकारहरू कृष्णा क्षेत्री, लक्ष्मी सुवेदी, हीमा क्षेत्री विष्णु शास्त्री, पूर्ण कुमार शर्मा, सागर सापकोटा तथा माणिपुरका साहित्यकारहरू बसन्ती पौडेल र सीतादेवी छेत्रीलगायतको पनि उपस्थिति रहेको थियो ।

सोही कार्यक्रममा काठमाडौँका साहित्यकारहरू किशोर पहाडी, दिव्य गिरि, मुरारी सिग्देल, कमला रिसाल, सुष्मा अंशु (भक्तपुर), मनिला वन्त, सुमन थापा संगम, पारु तिमिल्सिना, गोमा कटुवाल, डम्बर पहाडी, नीरु श्रेष्ठ, भगिरथ काफ्ले र अनिलनाथ उप्रेतीको उपस्थिति रहेको थियो ।

यसै गरी नेपालगन्जबाट कल्पना खरेल, चितवनबाट सुरेन्द्र अस्तफल, उषा तिवारी, सरला जोशी, केशव श्रेष्ठ र  मकवानपुर, पालुङबाट बिर्खे अनजान, सिन्धुलीबाट मैयाँ लामिछाने र सन्ध्या देवकोटा, धरानबाट लक्ष्मी अच्युत ढुंगाना, ताप्लेजुङबाट भवनी तावालगायतको उपस्थिति रहेको थियो ।

यसै गरी अस्ट्रेलिया क्यानबेराबाट कविहरु महत्ता घिमिरे चापागाईं र वासु चापागाईं तथा अमेरिकाबाट कवि नीता श्रेष्ठको उपस्थिति रहेको थियो ।

कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, नेपाली साहित्य सम्मेलन दार्जीलिङ्गका पूर्व अध्यक्ष एवं नेपाली भाषा परामर्श समिति, दिल्लीका पूर्व संयोजक वरिष्ठ साहित्यकार प्रेम प्रधान, प्राज्ञ नन्दु उप्रेती, प्रा. युद्दप्रसाद बैद्य, इलामका प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्कालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यसअगि सम्मेलनका प्रमुख अतिथि डा. गाग्री शर्मा र इलाम नगरप्रमुख महेश बस्नेतले पानसमा दीप प्रज्वलन गरेर सम्मेलनको उदघाटन गरेका थिए भने प्रसिद्द गायक नारायण गोपालको तस्बिरमा फूलमाला चढाएका थिए । यसै गरी इलाम नगर पर्यटन प्रवर्द्धन समितिका संयोजक प्रकाश अधिकारीले सम्मेलनका अतिथिहरुलाई स्वागत गरेका थिए ।

सोही सम्नेलनमा इलामको सात अ आलु, ओलन, अलैंची, अदुवा, अकबरे, अम्लिसो प्रदर्शनीको पनि उदघाटन गरिएको थियो । सात अ मा अतिथि पनि एक हो ।

सोही सम्मेलनमा गुवाहाटी, भारतकी चर्चित नृत्याङ्गना कृष्णा छेत्रीले उडिसाको प्रसिद्द ओडिसी नृत्य प्रस्तुत गरेकी थिइन । उनले ओडिसी नृत्यको मंगलचरण पन्च देवी प्रस्तुत गरिन ।

सम्मेलनमा इलामका गायक नन्दकुमार श्रेष्ठ र चित्रकार प्रेम केसीलाई नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो ।

वरिष्ठ कवि,आख्यानकार एवं समीक्षक प्रेम प्रधानको प्रमुख आतिथ्यमा विभिन्न स्थानबाट भेला भएका साहित्यकारहरूले कविता, गीत, गजल वाचन गरेका थिए । जसको सञ्चालन कवि विमल वैद्यले गरेका थिए । साथै सम्मेलनमा इलामका  पर्यटकीयस्थलहरुको प्रदर्शनी पनि गरिएको थियो ।

इलामका साहित्यकार एवं संचारकर्मी दिवाकर भण्डारीले सञ्चालन गरेको सो सम्मेनलनमा बालवाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष वरिष्ठ समालोचक प्रमोद प्रधानले “पर्यटन प्रवर्द्धनमा साहित्यको भूमिका”
कार्यपत्र प्रस्तुत गरेका थिए भने प्रा. डा सावित्री कक्षपति मल्लले सो कार्यपत्रमाथि टिप्पणी गरेकी थिइन । यसै गरी वरिष्ठ नियात्राकार युवराज नयाघरेले “यात्रा: भाव, भाका र भाषा” शीर्षकको कार्यपत्र प्रस्तुत गरेका थिए । सो कार्यपत्रमाथि वरिष्ठ नियात्राकार एवं साहित्यिक पत्रकार रामप्रसाद पन्तले टिप्पणी गरेका थिए । यसै गरी साहित्यकार डा. देवी क्षेत्री दुलालले “पर्यटनको विकासमा साहित्यको भूमिका” शीर्षकको कार्यपत्र प्रस्तुत गरेका थिए । सो कार्यपत्रमाथि निकै लामो टिप्पणी साहित्यकार चन्द्र भण्डारीले गरेका थिए ।

कार्यक्रममा पुस्तक प्रदर्शनी र सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो ।

दुई दिने अन्तर्देशीय इलाम पर्यटनमैत्री साहित्य सम्मेलनमा सहभागी दुवै देशका सय हाराहारी साहित्यकारले पर्यटन प्रवद्र्धनमा साहित्यको महत्त्वपूर्ण भूमिका रहने औंल्याएका छन् ।

वरिष्ठ साहित्यकार प्रमोद प्रधानले इलामको पर्यटनमा लेखनको भूमिका महत्त्वपूर्ण रहेको बताए । ‘पर्यटनको कुरा गर्दा लेखनको चाहिँ पहिला छलफल गर्नुपर्छ ।’ उनले भने, ‘अमूर्त वा गाउँ–ठाउँमा लुकेका विशेषता लेखनका माध्यमबाट उजागर गर्न सकिए पर्यटनमा सहयोग पुग्छ ।’

त्यस अवसरमा साहित्यकार युवराज नयाँघरेले ‘यात्रा : भाव, भाका र भाषा’ विषय अवधारणापत्र प्रस्तुत गरे । उनले यात्रा साहित्य पनि अभिव्यक्तिको उत्तम माध्यम भएको जनाए । देशका ऐतिहासिक महत्वका स्थलहरू आफैंमा साहित्य सिर्जनाका विषय भएकाले सर्जकहरू यात्रा साहित्यमा आकर्षित भएको उनको भनाइ छ ।

यसै गरी ‘पर्यटनको विकासमा साहित्यको भूमिका’ विषयक अवधारणापत्र प्रस्तुत गर्दै साहित्यकार डा. देवी क्षेत्री दुुलालले साहित्यजन्य गतिविधि, सृष्टि, सिर्जना, दृष्टि र कृति नै साहित्यिक पर्यटन भएको बताए । उनले स्रष्टाहरू नै साहित्यिक पर्यटक भएको पनि जनाए । पर्यटन एउटा व्यवसाय र उद्योग हो । यो एक प्रकारको अवसर पनि हो । साहित्यिक पर्यटन अन्तर्देशीय र स्वदेशी हुन्छ । साहित्यिक पर्यटनले भाइचारा सम्बन्ध पनि विकास गर्छ भन्दै दुुलालले इलामको परम्परा, संस्कृति, साहित्य, कला र कृषि उत्पादन यहाँको पर्यटनका आधार भएकाले साहित्यकारले तिनीहरूको प्रचारप्रसारमा उल्लेखीय योगदान गर्न सक्ने बताए ।

डा. दुलालको अवधारणापत्रमाथि टिप्पणी गर्दै झापाका अगुवा पत्रकार चन्द्र भण्डारीले साहित्य र पर्यटनमा ‘मोफसल’ शब्दले सबैलाई पीडाबोध गराइरहेको बताए । उनले काठमाडौंले बाहिरलाई र जिल्ला सदरमुकामले गाउँहरूलाई मोफसल देख्ने भएकाले दूरदराजको दुःख, पीडा, परम्परा, संस्कृति, वैभव ओझेलमा परेको टिप्पणी गरे । ‘अबको पर्यटकीय क्षेत्र सगरमाथा, हिमाल, घाम, जूनमात्र होइनन् । प्रकृतिसँगै स्थानीय कला, संस्कृति, भेषभूषालाई हामीले पर्यटकीय बनाउन सक्नुपर्छ ।” उनले भने, ‘सीमा क्षेत्रमा बसोबास गर्ने व्यक्तिका पीडा, दुर्गममा जीवनयापन गर्नेहरूका कथालाई साहित्यमा उन्नुपर्छ । यसले साहित्य र पर्यटन विकासमा सघाउँछ।’

त्यस अवसरमा इलामको पर्यटकीय क्षेत्रबारे सञ्जीव पौडेलले अवधारणापत्र प्रस्तुत गरे ।

स्मरण रहोस् साहित्यिक पत्रकार सङ्घ र इलाम नगरपालिकाले वि. स. २०४१ सालमा यस्तै कार्यक्रमको आयोजना गरेको थियो । जसमा वरिष्ठ भूपि शेरचन, केशवराज पिडाली, भवानी घिमिरे, शङ्कर कोइरालालगायतका स्रष्टाहरुको विशेष उपस्थिति रहेको थियो ।

इलाम नगरपालिकाले हालै स्रष्टापार्कको निर्माण गरिसकेको छ । भौतिक उपलब्धिमा अग्रस्थानमा रहेको इलाम नगरपालिका साहित्यिक र सास्कृतिक विकासको लागि साहित्य, कला, सङ्गीत प्रतिष्ठानको स्थापना गरेर काम गर्दै आएको छ । यस्तै इलामको पर्यटन विकासको लागि पनि इलाम नगर पर्यटन प्रवर्द्धन समितिमार्फत काम गर्दै आएको छ ।

इलाम अहिले आन्तरिक पर्यटकहरुको गन्तव्यस्थल बन्दै गएको छ । यस सम्मेलनमार्फत इलामको पर्यटन र साहित्यको अझ प्रचार हुने पनि विश्वास लिइएको छ ।

साहित्य, कला, सङ्गीत प्रतिष्ठानले इलाममा पारिजातको प्रतिमा स्थापना, अरनिको सास्कृतिक सङग्राहालयको व्यवस्थापन र सञ्चालन, वरिष्ठ सङ्गीतकार कोमल निरौलाको राष्ट्रिय गीतको म्युजिक भिडियो निर्माण, चर्चित साहित्यकार विष्णु नविनको अप्रकाशित तीन कृतिहरुको प्रकाशन, वरिष्ठ इतिहासविद एवं लेखक प्रा. युद्धप्रसाद बैद्यको “इलाम इतिहास र विकास” कृतिको प्रकाशन र बालसाहित्यको कृति प्रकाशनलगायत विभिन्न साहित्यिक र सास्कृतिक गतिविधिहरू सम्पन्न गर्दै आएको छ ।

नेपाली तथा भारतबासी नेपाली साहित्यकारले साहित्य र पर्यटनबीच अन्योन्याश्रित सम्बन्ध रहेको निष्कर्ष निकालेका छन् ।  यस सम्मेलनमार्फत साहित्यका माध्यमबाट पर्यटन विकास र पर्यटनका माध्यमबाट साहित्य सिर्जना हुने अनुभव दुवै देशका साहित्यकारले आदानप्रदान गरे ।

कार्यक्रमको समापनको अवसरमा प्रसिद्द गायक नारायण गोपालको स्मृति दिवस साझको आयोजना गरेर विशेष सास्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । सो कार्यक्रममा वरिष्ठ सङ्गीतकार बुलु मुकारुङ, कोमल निरौला, रोशन कर्माचार्य, रोशित कर्माचार्यलगायत स्थानीय कलाकारहरूको गीत र नृत्यहरु प्रस्तुत भएका थिए ।

समापन कार्यक्रम कै अवसरमा आठ बुँदे इलाम घोषणापत्र जारी गरिएको थियो । सो घोषणापत्र को १९ सदस्यीय तयारी समितिको संयोजकमा प्रेम प्रधान (दार्जिलिङ) रहनु भएको थियो भने सदस्यहरूमा क्रमशः राधेश्याम लेकाली, विन्द्या सुब्बा, गायत्री श्रेष्ठ, प्रमोद प्रधान,नरेन्द्रबहादुर श्रेष्ठ, मुक्ति बराल, प्रा. डा. सावित्री कक्षपति मल्ल, युवराज नयाँघरे, टीका घिमिरे, पुष्पा शर्मा, नारायण होमागाई, प्राज्ञ नन्दु उप्रेती, लतिका जोशी, रत्ना सुब्बा, मन्जिला अनिल, बसन्तीदेवी पौड्याल, कल्पना खरेल, पूर्णकुमार शर्मा र महता घिमिरे रहेका थिए । सम्मेलनमा घोषणापत्रको प्रस्तुति र व्याख्या प्रा. डा. सावित्री कक्षपति मल्लले गरेकी थिइन ।

इलाम घोषणापत्र
१. “पर्यटन” शब्दलाई पुनर्परिभाषा गर्दै यसलाई “सास्कृतिक पर्यटन” भनेर सम्बोधन गरिनुपर्छ ।
२. ओझेलमा परेका सामाजिक र सास्कृतिक महत्त्व बोकेका विषय र पात्रलाई लेखनको केन्द्रमा ल्याइनुपर्छ ।
३. लोकजीवनमा रहेका अमूल्य सम्पदा लोकचेतना, लोकपरम्परा र सकेसम्म समग्र  सस्कृतिलाई सम्बोधन गर्ने खालको लेखनलाई प्राथमिकता दिइनुपर्छ ।
४. एकअर्काको स्थानीय पर्यटनलाई प्रवर्द्धन गर्ने खालको लेखनलाई प्राथमिकता दिइनुपर्छ ।
५. प्रविधि केन्द्रित लेखनभन्दा अनुभूतिजन्य मौलिक लेखनलाई प्राथमिकता दिइनुपर्छ ।
६. भारतीय नागरिकका रूपमा रहेका नेपाली जसले भाषा र जातिलाई प्रतिनिधित्व गर्दछन् तिनलाई सम्बोधन गर्दा प्रयोग गर्दै आइरहेको भाषिक ब्यवहार “प्रवासी” नेपाली भन्ने शब्दलाई वर्जित गरिनुपर्छ र भारतीय नेपाली भनेर सम्बोधन गरिनुपर्छ ।
७. यस्तो कार्यक्रमलाई निरन्तरता दिइनुपर्छ ।
८. यो कार्यक्रमलाई दस्तावेजीकरण गर्दै स्मारिका प्रकाशन गरिनुपर्छ ।

कार्यक्रमको दोस्रो दिन स्थानीय पर्यटनस्थलहरुको भ्रमण, माईपोखरीमा नेपाल र भारतका विभिन्न कविहरुबाट काव्य वाचन, साहित्यकार अशेष मल्लबाट  कविताबारे चर्चा, गायक कमला रिसालबाट गीत र चर्या नृत्यका लागि प्रसिद्द नाम मेनका लामाबाट बन्दना नृत्य सम्पन्न भएको थियो । सोही दिन साझमा इलाम चियाबारी होमस्टेमा स्रष्टा क्याम्फायर सम्पन्न भएको थितो । यसै गरी तेस्रो र चौथो दिन कन्याम र श्रीअन्तुको भ्रमण सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू