अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४० | Colorodo: 01:55

कोलोराडोमा कोभिड –१९ को नयाँ संस्करण ओमिक्रोन

बिआरटीनेपाल २०७८ मंसिर १७ गते १३:०० मा प्रकाशित

डेनभर । कोलोराडोमा कोभिड –१९ को नयाँ संस्करण ओमिक्रोनको पहिलो संक्रमित फेला परेको छ ।

कोलोराडोका अरापोह काउन्टी निवासी एक व्यक्तिमा ओमिक्रोन फेला परेको कोलोराडो डिपार्टमेन्ट अफपब्लिक हेल्थ एण्ड इन्भाइरोमेन्ट (सिडिपिएचई) ले पुष्टि गरेको छ । ओमिक्रोन फैलिएको प्रमाण भने फेला नपरेको उसले जनाएको छ ।

सिडिपिएचईका अनुसार बिहीबार एक बयस्क महिलामा ओमिक्रोन संक्रमण पुष्टि भएको हो । उनी हालै साउथ अफ्रिकाको विभिन्न देश भ्रमण गरेर फर्केकी थिइन् । सामान्य बिरामी भएपछि उनी घरमै आराम गरेर बसेकी थिइन् ।

संक्रमित महिलाले पूर्ण सतर्कता अपनाएर यात्रा गरेको, यात्रामा मास्क लगाएको र लक्षण देखा पर्न साथ परीक्षण गरेको बताएकी छन् । उनी कोभिड खोप लगाए पनि बुस्टर खोप भने लगाएकी थिइनन् ।

महिलाको सम्पर्कमा आएका व्यक्तिहरुलाई आइसोलेसनमा राखी निगारानी गरिएको छ । तर, परीक्षण गर्दा उनीहरू कसैमा कोभिड पोजेटिभ भेटिएको छैन ।

ओमिक्रोन कोभिड–१९ को डेल्टा संस्करण भन्दा धेरै संक्रामक भएको अप्रत्यक्ष परीक्षणहरूले देखाउँछ । गभर्नर जारेड पोलिसले ओमिक्रोन संक्रमित फेला परेको प्रति ‘नट टेरिब्ली आलाम्र्ड’ भन्दै धेरै नडराएको प्रतिक्रिया दिएका छन् । तर उनले कोभिड खोप र बुस्टर खोप लिनपुनः आह्वान गरेका छन् ।

कोलोराडोमा कोभिड सङ्क्रमणको अवस्था सुधारोन्मुख छ । बिहीबार कोभिड सङ्क्रमितको सङ्ख्या घटेर १ हजार ४ सयमा झरेको छ । तर, संक्रमित ब्यबस्थापन क्षमताका हिसावले कोलोराडोको अबस्था चिन्ताजनाक छ । कोलोराडोमा करिब २० हजार भन्दा बढी नेपाली तथा नेपालीभासीको बसोबास रहेको अनुमान छ ।

प्रतिक्रिया