अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१८ | Colorodo: 06:33

लक्ष्मी तिमी भएको भए ?

गोपी मैनाली २०७८ कार्तिक १७ गते ६:४४ मा प्रकाशित
(महाकवि लक्ष्मी जयन्ती, २०७८ का सन्दर्भमा)

लक्ष्मी तिमी पहिल्यै बिदा भयौ, ठिकै भयो । तिमी भएको भए तिम्रो कति रुन्थ्यो होला १म कल्पना गरिरहेछु । बहुधा मानिसहरूमा दुःखका अनुभूति बताउने शब्द र सामर्थ्य हुँदैन, तिमी सबै ऊहापोह र छटपटीलाई सजिलै पस्किन सक्थ्यौ । आफ्ना होइन, अरूहरूका दुःख र अनुभूतिहरू छरपस्ट पोखिदिन्थ्यौ । त्यसैले तिमी महाकवि बनेका थियौ ।

तिम्रो मुलुकको स्थिति तिमीलाई थाहा छ ? केही अघि देशले आफ्ना सन्तानलाई सुरक्षित भविष्य दिन सक्दिन भन्ने ठानेर वैदेशिक रोजगारीको नीतिगत ढोका नै खोल्यो । तिम्रा धेरै मदनहरू मुगलान गएका छन्, कैयन मुनाहरू मदनको पर्खाइमा नै इहलीला समाप्त गरिरहेका छन् । तिमीलाई राम्ररी थाहा होला बिदेसिएका सबै मदनका मुनाहरू मायाको दियो बालेर बस्न छाडे । अव मदनको प्रतीक्षा मुनाहरू गर्दैनन् र पसिनामा पिल्सिएर जीवन र जवानी चाउ¥याएर फर्किदा मुनाले प्रेमको हत्या गरेको, मायाको बलात्कार गरेको उजाड फुसको घर मात्र पाएको छ । कतिपय मदनहरू पनि नक्कली मुनामा पो रमाउन थालेका छन् । तिमी भए तिम्रो मन कति दुख्थ्यो होला ?

तिम्रै समयमा तिमी तीन पटक पागल बन्यौ रे १हो, परिस्थितिले तिमीलाई पागल बनाएको थियो । चेतना थियो, त्यस कारण पागल बनेका थियौँ, चिन्ता थियो, त्यसैले पागल बन्यौ, विवेकले पनि पागल बन्यौँ । चेतना, विवेक, सामर्थ्य र भलोसोच राख्नेहरू पागल बन्नुपर्छ । अविवेकीले त हो तिमीलाई पागल बनाएको । अहिले हेर त तिम्रो जन्मभूमि कति निष्ठुर देखिएको छ । नेता–नीति, पात्र–प्रवृत्ति, भोग–भग्नासा, इच्छा–ईर्ष्या कति अमानवीय बन्दैछ । ज्ञानी बन्नुपर्ने नेता दम्भी छ, संयमित बन्नुपर्ने पदाधिकारी असहिष्णु छ, कामी बन्नुपर्ने कर्मचारी अकर्मण्य छ, विधिका व्यापारी निर्विधिमा छन् । न्यायको अन्तिम चौतारीले छहारी होइन, राप पो दिन थाल्यो, न्यायको मन्दिरमा न्यायमूर्ति ईश्वर खोज्नुपर्ने भयो । जो चेतना, विवेक र कर्ममा छन्, ती सबै खेदिए, दपेटिए, लपेटिए । सबैलाई तिमीलाई जस्तै पागल बनाइयो । थाहा छ तिमीलाई विवेक र चेतनालाई कसरी कैद गरिदैछ ? तिमी मरेर गयौ, हामी जिउँदाहरू लास बनेर बसेको छौँ । चेतना गुमाएको मानिस लाती हो नि । लास बन्न नसकेर हामी पागल बनेका छौँ । भूपि शेरचनले तिमीलाई स्वर्गमै भन्दा हुन्–‘मरेर सहिद बनेकाहरू, बाँचेर त हेर बाच्न कति गार्‍हो छ’ । र तिमी भने कविता कविता भन्दा हौ । गोपालप्रसाद रिमाल चाहिँ ‘एक युगमा एक दिन आउँछ’ भन्दै क्रान्ति गाउँदै होलान् ।

भएको भए भूपीले थुप्रै कविता लेख्थे होलान्, तिमी दाडिमको रुखलाई प्रतीक बनाएर आकाश हानिन्थ्यौँ होला । मोहन कोइरालाको फर्सीको जरोले ठुलो जन्जाल बनाउँथ्यो कि । शङ्कर लामिछानेको प्याजले एव्स्ट्र्याक्ट चिन्तन गर्न छाडेर, पत्र पत्रमा रङ्ग विरङ्गका मानव भाव उठाउन छाडेर प्याज तरकारीको डल्लो बन्थ्यो होला । ईश्वर वल्लभको आमाले आत्महत्या गरेको पाकेको उराठ सगर लेख्थे होलान् । अपसोच, जिउँदा वैरागीहरू पनि ‘मातेको मान्छेको भाषण’ लेख्न डराई रहको छन् । मेरो पनि ‘सपनाको आत्महत्या र निष्ठाको अपहरण’ भएको छ । त्यसैले निमानवीकृत भएको धरती कसरी देख्न सक्थ्यौँ ? तिमीले बिम्बमा पागल भनेथ्यौं, हामी वास्तविकतामा पागल बाँचेका छौँ ।

अहिले तिम्रा बेलाका जस्ता सर्जक छौ भन्दा हौँ । धेरै सर्जकले सिर्जना गरेर साहित्य निहारिकामा चम्केका भन्दा हौ । अहिले त बोल्ने कविता पो लेखिन्छ, मन छुने होइन, शरीर घोच्ने कविता पो लेखिन्छ । दुःखले होइन, सुखले कविता लेखिन्छ । कति घोप्ट सर्जकहरू कथा, कविता, उपन्यास काव्यहरू लेखिरहेका छन् । तिम्रा बेलामा कुन्नि के हुन्थ्यो थाहा भएन, अहिले पुरस्कार पुरस्कारको विनिमय गर्छ । जमातले प्रतिष्ठा जित्छ । सिर्जनाविनाका प्राज्ञ बन्छन् । तिम्रो वेलामा पनि प्रज्ञा विनाका प्राज्ञ, सिर्जना विनाका सर्जक र जीवन विनाको सिर्जना हुन्थ्यो कि ? चुरोटको ठुटाले हात पोलिन्जेल भावनामा बगेर कविता लेख्ने दिन गएछन् महाकविज्यू । तिमी भएको भए कुन्नि के गर्थ्यौ ?

तिमीले कर्मका मानिसलाई नै ईश्वर भनेका थियौ । ईश्वरलाई मानिसमा खोज्ने आदर्श पस्केर यात्री लेखेका रहेछौ । कर्म नगरेर मन्दिर–मस्जिद–गिर्जाघर–गुम्बा जानेलाई ढोँगी भनेको रहेछौ । अहिले भए दङ्ग पर्थ्यौ । तिमीजस्तो आदर्शमा यात्रा गर्ने मानिस शिला खोज्नु पर्छ । साहित्य जस्तै धर्म पनि पैसामा पाइन्छ, शक्तिमा आउँछ । तिम्रा रचना, गीत मात्र होइन, यात्री नै रेमिक्स भइसक्यो । स्वर्गबाट कुन्नि के पो भन्दा र्हौ ?

सानोमा स्कुलतिर स्वादले भाका हाल्थ्यौँ, ‘गरिब भन्छ सुखको मन झैँ धनी, मिल्दैन संसारभरि कतै पनि’ । मन पनि अव त्यस्तो नसोच्ने भइसक्यो । मन विकारयुक्त भएपछि न सबै बिग्रने हो । तिमीलाई थाहा छ, सर्जक भोगाइ विपरीतका भावना सिर्जना गर्छ । आचरण एउटा गर्छ, आदर्श अर्कै भन्छ । कम्तीमा सर्जकहरूको आदर्श र आचरण, भोगाई र भनाइ एकै हुनुपर्थ्यो । तिमीलाई छटपटी भएको होला, यहाँ गल्ती गर्नेहरू, अझ भनौँ अपराध गर्नेहरू निःसङ्कोच आदेश र उपदेश दिन्छन् । उदाहरण बन्नुपर्नेले उद्दण्ता देखाउँछ । कसरी सकेका होलान् ? आफ्नै अपनत्व नभएका कुराहरू भन्न लेख्न कसरी सकिएको होला ? मन मनजस्तो नभए सबै बिग्रने नै भयो । तिमी भएको भए थुप्रै नीतिविधि, कथाकुथुङ्ग्री, काव्य–कविता, निबन्ध–नियात्रा लेख्थ्यौ होला । सम्झ त तिमीले लेखेका आदर्श अक्षरहरू कतिले पढ्थे होलान् ?

देवकोटा, तिमीलाई थाहा छ होला नि । संरक्षण र सम्वद्र्धनका नाममा तिमीले चुरोटका ठुटाले औला पोल्दै मुना मदनदेखि प्रमिथस सम्म ६ दर्जनभन्दा बढी काव्य सिर्जना गरेको जीवित इतिहास तिम्रो निवास भत्काइयो । तिम्रा भावना र दुःख ती पुराना टुटे फुटेका इट्टामा महाकविका इतिहास थिए । कुन्नि ती कता पुगे । पहिचानका धरोहर यसै गरी कृत्रिम आडम्बरले लेपिएका छन् । साहित्य, कला, गीत, सङ्गीत, राजनीति, व्यवस्थापन आदि सबैको बिम्ब हो तिम्रो घरको पुन निर्माण । विश्वास गर अक्षरहरू पनि तिम्रो बेलाकाजस्ता अनुभूति उठाउन जाँगरिला छैनन् । कुन्नि तिम्रो बेलामा अक्षर कति स्वतन्त्र र साहसिला थिए ?

अँ, तिमी शिक्षा मन्त्री पनि भएथ्यौ रे । अनि पो तिमीलाई पागल भनेका, अनि पो तिमीलाई शिक्षामन्त्री बनाउने व्यवस्था नै खत्तम भएको । तिमीले कति काम गर्न सक्यौ, सकेनौ थाहा भएन । गर्छु भनेर मन्त्रालयका फाइलहरूमा, केशर महलको ठुला भवनमा हरायौ हौला । साढे तीन महिनामा पाठशालादेखि विश्वविद्यालयसम्म कसरी सुधार्न सक्थ्र्यौ । राम्रै गर्न खोजेका थियौ रे १ सुनेको थिए, त्रिभुवन विश्वविद्यालयको नाम, ठाम, प्रारुपण तिम्रै हो रे । कति उपयुक्त व्यक्तिलाई शिक्षा मन्त्री बनाइएको भनेर इतिहासले प्रशंसा गर्ला । एकेडेमी पो पुग्नुपथ्र्यौ, मन्त्री भएछौ, थोरै अवधिमा राम्रै गर्न खोजेछौ ।

म पनि तिम्रै पदचापको पछि लागेछु शिक्षा सचिव भएर । प्रारम्भिक बाल विकासदेखि पाठ्यक्रम सुधारका लागि तिम्रै इतिहास पछ्याउँदै थिएँ । कहाँ दिँदा रहेछन् र ? तिमी एक सय दश दिनतिर लखेटियौ, म एक सय उन्चास दिनमा लखेटिए । नियतिले धेरै गर्न दिएन । गर्न नसकेका कामले मलाई जीवनभर कोक्याउने छ । गरिएका केही काम पनि आमसञ्चारका खुराक मात्र बन्लान कि भन्नेले चिमोटिरहेछ । तर कसलाई भन्ने पूर्व शिक्षामन्त्री महाकविज्यू । तिम्रो वेलामा त अक्षरमा लैख्थ्र्यौ, अवत अक्षर पनि अल्छी भए । बल्ल बल्ल अक्षरले उठाए पनि कसैले पढ्दैन । कति दुःखका कुरा !

त्यसैले लक्ष्मीप्रसाद तिम्रो सुनको बिहानी कहिले आउँछ कुन्नि ? न नआउने पो हो कि ?मनबाट माया गर्ने मुनाहरू मदनहरूले पाउँछन् कि पाउँदैनन् थाहा छैन । दाडिमको रुखले शीतल सुस्केरामा कति निस्छल वयेली दिन्छ, त्यो पनि थाहा छैन । अहिले त हामी तिमीले जस्तो प्रकृतिसँग स्वच्छ खेल्न पनि पाएका छैनौँ । त चिन्ता लाग्छ –‘आखिर श्रीकृष्ण रहेछ एक, न भक्ति यो, ज्ञान, न विवेक’ भन्दै शून्यमा शून्यसरि बिलाउनु पो पर्ने हो कि !

(क्षितिज मार्ग, शंखमूल)
लक्ष्मीपूजा, २०७८