अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३२ | Colorodo: 19:47

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि सरकारले छिट्टै मिति तोक्ने – प्रधानमन्त्री देउवा

बिआरटीनेपाल २०७८ कार्तिक ८ गते ७:२० मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा सदस्यको निर्वाचन मिति सरकारले छिट्टै तोक्ने बताउनुभएको छ । आज निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा उहाँले प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त सदस्य चयनका लागि उपनर्वाचनबारे सत्ता साझेदार दलहरूसँग छलफल गरी निश्कर्षमा पुग्ने बताउनुभयो । राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि आगामी फागुन २१ गते सकिँदै छ ।

प्रधानमन्त्री र आयोग पदाधिकारीको भेटका क्रममा राष्ट्रियसभा सदस्य निर्वाचन, प्रतिनिधिसभा, प्रदेशसभाको उपनिर्वाचनबारे छलफल भएको निर्वाचन आयोगका प्रवक्ता यज्ञप्रसाद भट्टराईले जानकारी दिनुभयो । त्यस्तै निर्वाचन सम्बन्धी कानुनको पुनरावलोकन, परिमार्जन तथा एकीकृत निर्वाचन कानुन निर्माणका विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो ।

आयोगले आगामी वैशाखभित्र गर्नुपर्ने स्थानीय तहको निर्वाचन एकै चरणमा गर्न प्रस्ताव पनि गरेको छ । अघिल्लो पटक स्थानीय तहको चुनाव तीन चरणमा भएको थियो । राष्ट्रियसभाका २० सांसदको चार वर्षे कार्यकाल फागुन २१ मा सकिदै छ । २०७५ असार ४ गते गोलाप्रथा मार्फत् चार वर्षे अवधि कायम भएका सांसदहरूको पदावधि सकिन लागेको हो । जसमा नेकपा एमालेका सांसदहरू अगमप्रसाद वान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनाकला ओझा, पर्शुराम मेघी गुरुङ, राम लखन चमार, सुमनराज प्याकुरेल रहेका छन् ।

नेकपा (एकीकृत समाजवादी) का उदयाशर्मा पौडेल, ठगेन्द्रप्रकाश पुरी, शान्ति कुमारी अधिकारी जिशी, शेरबहादुर कुँवरको पदावधि पनि सकिन लागेको छ । उता, नेपाली काँग्रेसबाट दृगनारायण पाण्डेय, तारादेवी भट्ट, राधेश्याम अधिकारीले पनि सोही मितिबाट बिदा लिनेछन् । नेकपा माओवादी केन्द्रका खिमकुमार बिक, जीवन बुढा, दिनानाथ शर्मा, शशीकला दाहाल छन् । त्यस्तै मनोनिततर्फ रामनारायण बिँडारीको पनि पदावधी सकिँदैछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू