अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०६ | Colorodo: 23:21

जापानमा दसैँ

गोपी मैनाली २०७८ असोज २५ गते ८:१२ मा प्रकाशित

अक्टोबर २३, २००४ – आज विजया दशमीको दिन । वर्षभरिका दुःख बिर्सेर रमाइलो मनाउने र ईर्ष्या बिर्सेर आशीर्वाद र शुभकामना साटासाट गर्ने दिन । जापानमा बस्ने नेपालीहरू पनि आ–आफ्नो तरिकाले दसैँ मनाउन लागेका छन् । आयरिस ग्याल्वे पवका प्रबन्धक भीष्मराज पौडेलले टोकियोमा दसैँ मनाउन मलाई निकै आग्रह गरेका छन् तर तर म शुकुवामा भाइसँग दसैँ मनाउने विचारमा पहिल्यैदेखि निर्दिष्ट छु । त्यसैले भीष्मजीलाई यतै जान आग्रह गरेको थिएँ । सूर्य पोखरेल र कमला शाक्यलाई पनि शुकुवा सेन्टरमा आउन भनेको छु । कमला शाक्य नआए पनि सूर्य पोखरेल र म उएनोमा भेटेर आराआकिओकी पुग्यौँ ।

उएनोसम्म मलाई प्रो। कोवायाशीले साथ दिए । हाचिओजीदेखि शिन्जुकुसम्म कोवायाशीसँग थुपै अनुभव र मित्रता साटफेर गरेँ । उनी निकै सौहाद्र्र र सहयोगी पनि छन् । नेपालीहरूको वीरता र सगरमाथाका विषयमा थुप्रै जिज्ञासा पनि रहेछ । कुनै वर्षको बिदामा नेपाल आएर सगरमाथा एवम् अन्नपूर्ण आधार शिविर पदयात्रा गर्ने उनको इच्छा त तर नेपालमा पूर्ण शान्ति भएपछिमात्र उनले यो धोको पूरा गर्ने विचार गरेका छन् ।

यस वर्षको दर्शैमा म वरिष्ठ छु । राम, प्रेरणा र सूर्यजीलाई दसैँको टीका लगाइदिएँ । त्यसपछि रिसर्च सेन्टरमा हामी लगायत एकतीस जना नेपाली जम्मा भएर दसैँ मनाउने कार्यक्रममा व्यस्त भयौँ । प्रेरणा, सुजाता, शर्मा भाउजू, ढकाल भाउजू र भूपालजीले एक एक परिकार बनाएर लगेका छन् । सेल, अचार, मासु, फलफूल, विर्यानी, पेय सगुन जम्मा भएको छ ।

सर्वप्रथम आ–आफ्नो छोटो परिचयपछि हेमराज शर्माका पिता (जो छोरा बुहारीलाई भेट्न अर्को छोरो र श्रीमतीसहित हालै जापान आएका रहेछन्) बाट टिका थाप्यौ । त्यसपछि सामूहिक तौरले एक–एक सेलरोटी र अचारको सगुन लियौँ । सबै जना अनौपचारिक कुराकानीमा व्यस्त भए । म पनि सूर्य पोखरेल, भट्टराई भूपाल, ढकालजीसँग गफमा व्यस्त छु ।

तर मेरो मन काठमार्डौमा छ । मैले पटक पटक घडी हेरेको छु, प्रत्येक पटकको हेराइमा सवा तीन घण्टा घटाएर काठमाडौँको टीका घर (नारायणको घर) को क्रियाकलापको कल्पना गरिरहेको छु । फोन गर्न ब्रास्टेल कार्ड पनि किनेको छु । काठमाडौँको टिका सकियो होला भन्ने अनुमानमा धेरै पटक फोन गर्ने प्रयास गरेँ । बुबा, ठूलोदाजु, दिदीबहिनी, बच्चाहरू र अरुसबैसँग छोटो छोटो कुरा गर्ने सोचाइमा छु । कमलाले टिकाको दिन म कुरा गर्दिन भनेर पहिले नै भनेकी छ । शायद पिर लाग्छ भनेर त्यसो भनेकी होली तर धेरै प्रयासपछि पनि हामी कुरा गर्न सफल भएनौँ । पासिङ् थ्रो, बिङ्गो, तास, बियर र नाचगानमा राती एघारसम्मको समय बिताएर सबैले कोठा सफा ग¥यौं र बिदाइको अभिवादन साट्यौँ ।

भूपीजी एघार–बा¥ह वर्षदेखि मात्सुदा माइक्रोनिक्स कर्पोरेसन काशिवामा चीफ इन्जिनियर भएर बसेका छन् । उनलाई नेपाल फर्कने अनिच्छा रहेछ । उनमा सरकारले उनलाई सहयोग गर्छ कि गर्दैन र देशमा शान्ति सुरक्षा कायम हुन्छ कि हुन्न भन्ने द्विविधा छ । मलाई यही प्रश्न गरे, उत्तर मैले दिन सक्दिन थिएँ ।

अरू नेपालीले पनि आ–आफ्नो सन्दर्भको यस्तै प्रश्न गरे । राष्ट्रियताको भावना विदेशमा रहँदा बढी अनुभव हुने भएकोले नै नेपाल सम्झेका होलान् तर नेपाल गइहाल्न भने कोही पनि तयार छैनन् । हिरालालजी, थापाजी, भूपालजी, हेमराजजी, ढकालजी र सिंखडाजीका बाबु–छोरी सबैलाई आ–आफ्नो प्रसङ्गमा नेपाल जानुपर्छ र त्यही बसेर देशप्रसत योगदान गर्नुपर्छ, सबैले दशे छाडे त्यसपछि देश के होला भनेर सम्झाउने प्रयत्न गरेँ । दशैभन्दा पनि दुःख र वेदना भुलेर आफूलाई नै बिर्सने समयजस्तो लाग्यो यो दिन । त्यसैले होला सबैले हाँसेर वा गम्भीर भएर दुःख पोखिरहेका छन् ।

यसैबिच ६.८ रेक्टर स्केलमा तीन झट्का भूकम्पले हाम्रो दसैँलाई अरू अविस्मरणीय बनायो ।

(नियात्रा दैनिकी ‘आँखाभरि रमिता, मनभरि वेदना’ बाट)