अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०६ | Colorodo: 02:21

साढे ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका सबै प्रहरीले सफाइ पाए

बिआरटीनेपाल २०७८ असोज १९ गते ८:०७ मा प्रकाशित

साढे ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका सबै प्रहरीले सफाइ पाएका छन् । जिल्ला अदालत, मोरङले आज ७७ जना प्रतिवादी मध्ये पक्राउ परेका ८ जनालाई मात्रै दोषी ठहर गरेको छ । यसमा मुछिएका सबै प्रहरीले सफाइ पाएका छन् । यो प्रकरणमा फरार रहेका २१ जनाको मुद्दा चाहिँ मुल्तबीमा राखिएको अदालतका श्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले बताउनुभयो ।

सफाइ पाउने प्रहरी अधिकारीमा तत्कालीन अपराध महाशाखा प्रमुख पूर्वएआईजी गोविन्दप्रसाद निरौला, एसएसपी दिवेश लोहनी (हाल डीआईजी), श्यामबहादुर खत्री र प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल छन् । त्यस्तै, प्रहरी नायब उपरीक्षक (डीएसपी) सञ्जय राउत, प्रजित केसी, प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सञ्जेल, प्रहरी हवल्दार अमरबहादुर थापा मगर र प्रहरी जवान विष्णु खड्काले पनि सफाइ पाएका छन् ।

दुबईबाट ९ माघ २०७४ मा नेपाल आएको साढे ३३ किलो सुन गायब भएको थियो । हराएको सुन खोज्ने क्रममा चुडामणि उप्रेती गोरेको समूहले यातना दिँदा भरिया सनम शाक्यको हत्या भएको थियो । सुन तस्करी प्रकरणमा भरिया सनम शाक्यको हत्यामा संलग्न ८ जना दोषी ठहर भएका छन् । हत्यामा जन्मकैद पाउनेमा गोरे भनिने चुडामणि उप्रेती, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले नरेन्द्र कार्की र भोजराज भण्डारी छन् । थप दुई जनालाई तीन वर्ष र ६ महीना कैद सजाय सुनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू