अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०५ | Colorodo: 14:20

सीके राउत नेतृत्त्वको जनमत पार्टीद्वारा मुख्यमन्त्री राउतको राजीनामा माग

बिआरटीनेपाल २०७८ असोज १८ गते ७:५८ मा प्रकाशित

सीके राउत नेतृत्वको जनमत पार्टीले प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडि प्रदर्शन गर्दै उनीहरूले प्रदेश २ सरकारलाई भ्रष्ट सरकारको संज्ञा पनि दिएका छन् । मुख्यमन्त्री कार्यालयले सञ्चालन गरेको ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियानमा अनियमितता भएको भन्दै अख्तियारले कागजात नियन्त्रणमा लिएको ५ दिनपछि आज जनमत पार्टीले प्रदर्शन गरेको हो ।

नगरको विभिन्न ठाउँमा मोटरसाइकल जुलुस प्रदर्शन गरेका उनीहरूले मुख्यमन्त्री कार्यालयको गेट अगाडि नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरूले भ्रष्टाचारी पार्टी मधेश छोड, भ्रष्टाचारी होशियार, भ्रष्टाचारीलाई कारबाही गर, भ्रष्ट सरकार राजीनामा दे, जस्ता नारा लगाएका थिए । प्रदेश सरकारले गरेको अनियमितताकै कारण अख्तियारले छापा मारेको भन्दै उनीहरूले छानबिन गरी कारबाहीको माग गरेका छन् ।

यस्तै जनमत पार्टीका कार्यकर्ताले जनकपुरधाम उपमहानगरपालिका र खानेपानी कार्यालयमा तालाबन्दी पनि गरेका छन् । बाटो बनाउने नाममा खाल्डो खनेर छोडिदिएका कारण नगरको विभिन्न ठाउँमा पैदल हिँड्न समस्या भएपनि उपमहानगरपालिकाले ध्यान नदिएको उनीहरुको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू