अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२२ | Colorodo: 22:37

पोखरामा मुख्यमन्त्री भेला गर्न गण्डकी र प्रदेश–२ का मुख्यमन्त्रीबीच छलफल, संघ सरकारको आलोचना

बिआरटीनेपाल २०७८ असोज ६ गते २०:३४ मा प्रकाशित

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र प्रदेश(२ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारको आलोचना गर्नुभएको छ । पोखरामा भएको भेटमा दुई मुख्यमन्त्रीले संघीय सरकारको केन्द्रिकृत मानसिकताले संविधानले गरेको व्यवस्था र जनताको आकांक्षा पूरा गर्न प्रदेश सरकारलाई समस्या आएको निचोड निकालेका हुन् ।गण्डकी सरकारको निमन्त्रणमा प्रदेश–२ का मुख्यमन्त्री राउत बुधबार पोखरा आउनुभएको थियो । राउतले तीन दिन पोखरा घुमघाम गर्ने कार्यक्रम छ। बुधबार नै दुई मुख्यमन्त्रीबीच भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा गण्डकीका मुख्यमन्त्री पोखरेलले संविधानत मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा गएपछि स्थापना भएको प्रदेश सरकारले जनताको चाहना बमोजिमको सेवा तथा विकास प्रवाह गर्ने सवालमा धेरै चुनौतीको सामना गर्नु परेको बताउनुभयो ।

अधिकारको निक्षेपणमा संघीय सरकारको मानसिकता अझै पनि केन्द्रिकृत नै देखिएको उल्लेख गर्दै उहाँले आगामी दिनमा केन्द्र र प्रदेशबीच सहकार्य अझ घनिभूत बनाउन आवश्यक रहेको बताउनुभयो । राजश्वको बाँडफाँटमा केन्द्रले धेरै राखेर प्रदेशलाई उपलब्ध गराउने गरेको सानो अंशले विकासका आवश्यकता पूरा हुने अवस्था नभएको भन्दै प्रदेशलाई बजेट बढाउनुपर्ने पोखरेलले बताउनुभयो ।

प्रदेश सरकारले भोग्नुपरेका कानुनी लगायतका साझा समस्या समाधान गर्न मुख्यमन्त्रीहरूबीच छलफल र अनुभव आदान–प्रदान आवश्यक रहेको भन्दै पोखरेलले छलफलमार्फत् साझा धारणा बनाउनुपर्नेमा जोड दिनुभयो । यसका लागि मुख्यमन्त्री भेला आयोजना गर्न चाहेको बताउँदै पोखरेलले सबै प्रदेशका मुख्यमन्त्रीहरुसंग समन्वय गरी उपयुक्त समयमा मुख्यमन्त्रीहरूको छलफल कार्यक्रम पोखरामा आयोजना गर्न इच्छुक रहेको उल्लेख गर्नुभयो ।

यसअघि पहिलो पटक गण्डकीमै मुख्यमन्त्री भेला भएको थियो। उक्त भेलाले संघीय सरकारले संविधानमा उल्लेखित अधिकार प्रदेशलाई नदिएको भन्दै संघीय सरकारको आलोचना गरेको थियो। सोही भेलाका कारण तत्कालीन प्रधानमन्त्री केपी ओलीले अन्तर प्रदेश समन्वय परिषदको बैठक स्थगित गरेका गर्दै मुख्यमन्त्रीहरूलाई भेट्न समेत अस्वीकार गर्नुभएको थियो । अहिले फेरि गण्डकी सरकारले प्रदेश–२ का मुख्यमन्त्री राउतलाई बोलाएर मुख्यमन्त्री भेला आयोजना गर्न छलफल गरेको हो। भेटवार्तामा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयतालाई मजबुत बनाउन आफूहरूले निकै संघर्ष गर्नुपरेको बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू