अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१९ | Colorodo: 10:34

पर्यावरणीय साहित्य सम्बन्धी छलफल गरी सिर्जनात्मक अन्तर्राष्ट्रिय साहित्यिक कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७८ साउन २७ गते ६:३१ मा प्रकाशित

यही अगस्ट ८, २०२१, तदनुसार साउन २४, २०७८ का दिन २७ औँ अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा हिमाली संरक्षण समूह र ‘सिर्जना र असार’ पोखराको संयुक्त आयोजनामा सिर्जनात्मक अन्तर्राष्ट्रिय साहित्यिक कार्यक्रम सम्पन्न भयो । नेपाल, नेदरल्याण्ड, पोर्चुगल, अमेरिका, बेलायत र क्यानडा गरी विभिन्न देशहरूबाट कविहरूको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा संस्कृति र प्रकृति विषयमा केन्द्रित विभिन्न कविता तथा मुक्तकहरू वाचन गरिएका थिए । सो अन्तर्राष्ट्रिय साहित्यिक कार्यक्रममा वरिष्ठ साहित्यकार सरुभक्त प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो भने समकालीन साहित्यकारहरू निलम कार्की ‘निहारिका’, रोशन शेरचन, अभय श्रेष्ठ, र विजय हितानले समीक्षा तथा अन्तरक्रियामा प्यानल मेम्बरको भूमिका निभाउनु भएको थियो ।

सह-आयोजक “सिर्जना र असार”को तर्फबाट कवि धन प्रसाद तामाङले प्रकृति, संस्कृति र प्रविधिको तादात्म्य सम्बन्ध रहेको र भूमि पुत्र/आदिवासीहरूको प्राकृतिक श्रोतमा पहिलो अधिकार हुनुपर्ने र यसमा कवि कलाकारले अनवरत कलम चलाई रहनु पर्नेमा जोड दिनुभयो।

कविहरू तीर्थराज अधिकारी, ईश्वरी भट्ट, भीम रानाभाट, कविराज तामाङ, हरिशरण परियार, ध्रुव सापकोटा, सजना गोले, मुक्ति गौतम, राजेन्द्र अर्याल, सुरेश रानाभाट, नारायण मरासिनी, अभय श्रेष्ठ, दीपक वाइबा, कुमार शर्मा, अरुण श्रेष्ठ, देवेन्द्र सापकोटा, शिखर दुलाल, रोशन शेरचन, विजय हितान, विकास लुङ्गेली, र सरुभक्तले आफ्नो मुक्तक वा कविताहरू वाचन गर्नुभएको थियो। प्रस्तुत गरिएका रचनाहरू मानवको लोभ र लालचले भइरहेको प्राकृतिक श्रोतको दोहन र यसले निम्त्याई रहेको विपत्तिबारे जनचेतना जगाउने सशक्त थिए।

कार्यक्रमको दोस्रो सत्रमा कवि ऋषि बस्ताकोटीले समीक्षात्मक तथा अन्तरकृयात्मक कार्यक्रमको सुरुवात गर्नको लागि अहिले प्राकृतिक स्रोतलाई हेर्ने विभिन्न दृष्टिकोणहरू मध्य मानव केन्द्रित र वातावरण केन्द्रित दृष्टिकोणहरू रहेको र संरक्षण सम्बन्धी हामी साहित्यकार-कविहरूले खेल्नुपर्ने दायित्वबारे भूमिका प्रस्तुत गर्नुहुँदै कवि सरुभक्त र अन्तरक्रियामा प्यानल मेम्बरहरूलाई आफ्नो मन्तव्यकोलागि आमन्त्रण गर्नुभयो।

प्रमुख अतिथि वरिष्ठ कवि सरुभक्तले २०५५ सालमा सुरुवात गरेको संरक्षण कविता यात्राको “संरक्षण नै जीवन हो जीवन नै संरक्षण” भन्ने मूल नारा अझै पनि विश्व वातावरण संरक्षणको लागि मुलमन्त्र भएको बताउनु हुँदै हाम्रा हरेक क्रियाकलापले भविष्यका सन्ततिलाई एउटा सुरक्षित वातावरण प्रदान गर्न सकोस् भन्ने कामना सहित पोखराबाट सुरु भएको संरक्षण यात्रा विश्वव्यापी होस् भन्ने चाहना व्यक्त गर्नुभयो । सो कार्यका लागि विश्वका विभिन्न संरक्षण आन्दोलनका कवि कलाकारहरूसँग संवाद भइराखेको र निकट भविष्यमा सहकार्य गर्न सकिने कुरा बताउनुभयो ।

साहित्यकार निलम कार्की ‘निहारिका’ले सम्पदा र संस्कृति माथिको अतिक्रमण र यसले निम्त्याएको विपत्तिहरू बारे बोल्नुहुँदै हालसालै भइराखेको मेलम्चीको विनाशबारे उदाहरण सहित प्रस्तुत गर्नुभयो । पर्यावरण र संस्कृतिमाथि भइराखेको अतिक्रमण बारे जनचेतना जगाउन र सरकारलाई पनि घचघच्याउन हामी साहित्यकारहरुले कलम चलाई राख्नु पर्ने आवश्यकता रहेको भन्ने विषयमा उहाँले बोल्नुभयो।

साहित्यकार रोशन शेरचनले हामी मानव जातिले आफूलाई इकोसिस्टमको एउटा अङ्ग हो भन्ने महसुस गरी अन्य जीवहरूलाई पनि उत्तिकै महत्त्व दिने हो भने पर्यावरण संरक्षणमा हाम्रो जिम्मेवारी पूरा हुन सक्छ भन्ने विषयमा प्रकाश पार्नुभयो । उहाँले रचनाहरू तयार गर्दा पर्यावरणीय जोखिमलाई पनि मध्यनजर गरी लेख्ने हो भने पर्यावरणलाई जोगाउन महत्त्वपूर्ण भूमिका खेल्न सकिने कुरा बताउनुभयो ।

यसै गरी अभय श्रेष्ठले पर्यावरण जोगाउनलाई आदिवासी/जनजातिहरूको ज्ञान असाध्यै आवश्यकता हुने बताउनुभयो।आदिवासी जनजातिहरूको प्रकृति र वातावरणसँग अत्यन्तै निकटको सम्बन्ध हुने र उनीहरूसँग ज्ञानको भण्डार हुने हुनाले हामी सिर्जना गर्नेहरूले पनि उनीहरूको ज्ञानलाई विस्तार गर्ने क्रममा महत्त्वपूर्ण योगदान दिनुपर्ने कुरा उठाउनुभयो ।

हाल बेलायतमा बसेर वातावरणसम्बन्धी आन्दोलन “इको-साहित्य”लाई विस्तार गर्न लागी पर्नु भएका साहित्यकार विजय हितानले इको साहित्य विभिन्न विधामा जोड्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । मानिसको अतिक्रमणले जंगलीजन्तु र जङ्गललाई समेत असर पारिराखेको कुरालाई साहित्यकारहरुले आफ्नो रचनामा सधैँ उठाई राख्नु आवश्यक रहेको कुरा उहाँले औँल्याउनु भयो। प्रकृतिलाई नारी पात्रको रूपमा लिने गरेका छौँ त्यसैले वातावरण संरक्षणका लागि पनि हामीले नारीहरूलाई सशक्त बनाउन सकियो भने महत्त्वपूर्ण भूमिका निर्वाह हुन सक्ने कुरा बताउनुभयो।

यसै प्रसङ्गमा कवि मुक्ति गौतमले आदिवासीहरूको प्रकृति जोगाउने कुराको ज्ञानलाई बसाइसराई गरेर आउने नयाँ बासिन्दाहरूले प्रभाव पार्दै त्यसलाई बिर्सँदै गएको हुनाले यसको संरक्षण गर्न सके अझै पर्यावरण जोगाउन सकिने कुरामा जोड दिनुभयो ।

सभापतिको आसनबाट भरतमान श्रेष्ठले आदिवासी दिवसको उपलक्ष्यमा आयोजित यस कार्यक्रममा अहम् भूमिका निभाउनु हुने सम्पूर्ण महानुभावहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो । यसै प्रसङ्गमा उहाँले आदिवासीहरूसँग रहेको अथाह ज्ञानको भण्डारलाई हामीले प्रयोग गर्न सक्यौँ भने वातावरण संरक्षणमा अवश्य ठुलो भूमिका निर्वाह गर्न सकिन्छ भन्ने कुरामा विश्वास व्यक्त गर्नुभयो । प्रकृतिमाथि अत्याचारको लागि हामी आफै र मानवीय क्रियाकलापहरू नै जिम्मेवारी भएको र यसले विभिन्न प्राकृतिक विपत्ति सिर्जना गरेको र यसमा हामी सम्पूर्ण साहित्यकार, कलाकार लगायत बुद्धिजीवीहरुले आफ्नो भूमिका निभाउनु पर्ने कुरामा जोड दिनुभयो ।

यस कार्यक्रम हिमलाल श्रेष्ठ र ऋषि बस्ताकोटीले संयुक्त रूपमा सञ्चालन गर्नुभएको थियो । ज्योति भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सन्दर्भ बारे हिमलाल श्रेष्ठले प्रकाश पार्नुभएको थियो भने संरक्षण कविता आन्दोलन र संरक्षण साहित्यमा विभिन्न प्रसङ्गहरू जोड्दै ऋषि बस्ताकोटीले आकर्षक रूपमा कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू