अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३३ | Colorodo: 05:48

”ओलीले गल्ती स्वीकार्दै आत्मालोचना गरे मात्र पार्टी एकता हुन्छ”– एमाले नेता नेपाल

बिआरटीनेपाल २०७८ साउन २१ गते ८:५२ मा प्रकाशित

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्म गरेका गल्ती स्वीकारेर आत्माआलोचना गरे मात्र पार्टी एकता हुने सर्त अगाडि सार्नुभएको छ ।बिहीबार काठमाडौंमा बसेको नेपाल पक्षीय केन्द्रीय कमिटी सदस्यहरूको बैठकमा वरिष्ठ नेता नेपालले ओली सच्चिन तयार नभए पार्टी एकता नहुने स्पष्ट पार्नुभयो । आफूहरू धेरै अघि बढिसकेको भन्दै नेपालले ओलीले गल्ती नसच्याई सहमति नहुने स्पष्ट पार्नुभयो ।

सम्मानजनक हैसियतमा पार्टी एकता हुने वातावरण तयार नहुँदासम्म ओलीसँग मिसिनु राजनीतिक रुपमा आत्महत्या सरह हुने उहाँको ठहर छ । एकताको पक्षमै रहेको बताउँदै नेपालले सम्मानजनक हैसियतविनाको एकतामा उत्पन्न हुने दुष्परिणामको भागिदार बन्न नचाहेको बताउनुभयो ।नेता नेपालले अध्यक्ष केपी ओलीका पछिल्ला अभिव्यक्ति आफूहरूलाई एकताबाट पर धकेल्ने नियतबाट आएको जिकिर गर्नुभयो । कार्यदलमा रहेका नेताहरुले काम गरिरहेको बेला ओली पक्षले एकपक्षीय रुपमा जिल्ला अधिवेशन गर्नेदेखि विभागहरु गठन गर्ने निर्णय गर्नुले एकताको माहोल बिग्रिएको उहाँको भनाइ थियो ।

वरिष्ठ नेता नेपालले कोरोना विरुद्धको खोपको व्यवस्था गरेर सबै नेपाली जनतालाई यथाशीघ्र खोप दिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो । त्यस्तै बाढी, पहिरो पीडित जनतालाई गाँस, बासको व्यवस्था गर्दै मृतकको परिवारलाई क्षतिपूर्ति दिन र दार्चुलाका जयसिंह धामी बेपत्ता प्रकरणको यथार्थ जानकारी बाहिर ल्याएर देषीलाई सजाय र मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्नेमा पनि वरिष्ठ नेता नेपालले सरकारलाई आग्रह गरेको नेता रघुजी पन्तले बताउनुभयो ।

बैठकमा केन्द्रीय सदस्यहरुले एकताका लागि हतार गरेर ओलीसँग लत्रिन नहुने बताएका थिए । उनीहरूले अहिले ओलीलाई विगतमा गल्ती गरेको महसुस भएको र उनलाई एकता चाहिएको बताएका थिए । केन्द्रीय सदस्यहरूले आन्दोलनका उपलब्धी रक्षा गर्न भन्दै नेता नेपाललाई दबाब दिएका छन् । शुक्रबारसम्म चल्ने बैठकमा सहभागीहरूलाई ३–३ मिनेट बोल्नका लागि समय छुट्याइएको छ । बैठकमा २४ जना सदस्यले आफ्ना धारणा राखेका थिए । आजको बैठकमा ७३ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेका थिए । बैठक पुनः शुक्रबार बिहान साढे ११ बजे बस्ने नेता पन्तले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू