अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४२ | Colorodo: 02:57

रक्तसञ्चार सेवाको प्रारम्भिक वार्षिक प्रतिवेदन सार्वजनिक

बिआरटीनेपाल २०७८ साउन १४ गते ६:४५ मा प्रकाशित

काठमाडौँ । नेपालमा रक्तसञ्चार सेवाको प्रारम्भिक वार्षिक प्रतिवेदन सार्वजनिक गरिएको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा नेपाल रेडक्रसबाट दुई लाख ४२ हजार ४८ युनिट रगत सङ्कलन गरिएको र तीन लाख ३१ हजार चार सय ५६ युनिट रगत तथा रक्ततत्व बिरामीलाई उपलब्ध गराइएको छ ।

२०२३ साल साउन १२ गते नेपाल रेडक्रस रक्त सञ्चार सेवा केन्द्रको सञ्चालन हुँदाको वर्ष जम्मा १५७ युनिट रगत सङ्कलन गरिएको थियो ।

नेपालमा रक्तसञ्चार सेवाको ५५ औँ स्थापनाको दिनमा हिजो नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवामा आयोजित मूल कार्यक्रममा यो जानकारी दिइएको हो । अघिल्लो वर्ष देशभरिमा २,३८,८३६ युनिट रगत सङ्कलन भई ३,२१,७७६ युनिट रगत र रक्ततत्व वितरण भएको थियो ।

नेपाल रेडक्रस सोसाइटी (नेरेसो) स्थापना भएको तीन वर्षपछि अर्थात् वि.सं २०२३ साल साउन १२ गते नेपाल रेडक्रस रक्त सञ्चार सेवा केन्द्रको सञ्चालन प्रारम्भ भएको थियो ।

प्रतिवेदन सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल रेडक्रस सोसाइटीका महामन्त्री पीताम्बर अर्यालले स्वयंसेवी रक्तदाता र रक्तदान गर्ने संघसंस्थाहरुलाई धन्यवाद व्यक्त गर्नुहुँदै रक्तसञ्चार सेवालाई दीर्घकालीन विकासको लागि सबै क्षेत्रसँगको हातेमालोमा अगाडि बढ्नु पर्ने बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले नेपालको जनसङ्ख्याको २ प्रतिशत मानिसले नियमित रक्तदान गर्न सके आवश्यक परेको समयमा रगत सहजै पाउन सकिने भएकोले थप रक्तदान उत्प्रेरणा बढाउनुपर्नेमा जोड दिनुभयो ।

नेरेसो केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलले रक्तसञ्चार सेवा सञ्चालन, विकास र विस्तारमा नेपाल सरकारका विभिन्न निकायहरू, युवा, विद्यार्थी, मजदुर, पेसा व्यवसायी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, राजनैतिक दल र भातृसंगठन लगायत आम रक्तदाता, शैक्षिक संस्था, सहकारी, वित्तीय सङ्घसंस्था, नियमित रक्तदान कार्यक्रम गर्ने सङ्घ संस्था, रक्तदाताहरूका सञ्जालहरू, रक्तदान कार्यक्रम आयोजकहरू, विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय निकायबाट प्राप्त सक्रिय सहयोगको हार्दिक आभार व्यक्त गर्नुभयो ।

नेपाल रेडक्रस सोसाइटीले काठमाडौँमा केन्द्रीय रक्तसञ्चार सेवाको अलावा विराटनगर, भरतपुर, पोखरा, नेपालगन्ज र धनगढी गरी ५ स्थानमा प्रदेश रक्त सञ्चार सेवा सञ्चालन गरिरहेको छ । यसै गरी २२ जिल्लामा जिल्ला स्तरीय, विभिन्न जिल्लाको ४१ स्थानबाट आकस्मिक रक्त सञ्चार सेवा प्रदान गरिएको छ । विभिन्न ४९ वटा अस्पतालबाट पनि रक्त सञ्चार सेवा प्रदान भइआएको छ । नेपालको ७० जिल्लाका ११७ स्थानमा रक्त सञ्चार सेवा केन्द्र तथा एकाइहरू क्रियाशील छन् ।

आर्थिक वर्ष २०७७/७८ को प्रारम्भिक प्रगति प्रतिवेदनको सारांश निम्नानुसार छ । आर्थिक वर्ष २०७७-७८ को प्रारम्भिक प्रगति प्रतिवेदनको सारांश निम्नानुसार छ ।

यसरी वितरण गर्दा केन्द्रीय रक्तसञ्चार सेवामा ५२.७८ प्रतिशत र देशभरि औसत कम्पोनेन्ट सेवा ५०.५९ प्रतिशत रहेको छ । विभिन्न सङ्घ–संस्थाहरूको सहयोगमा केन्द्रीय रक्त सञ्चार सेवाद्वारा ५८७ वटा घुम्ती रगत सङ्कलन कार्यक्रम भएको छ ।

गत आर्थिक वर्षको रक्त सङ्कलनको तुलनामा करिब एक प्रतिशतले मात्र वृद्धि भएको अवस्था छ । जसमा पुरुष रक्तदाता ८४.५ प्रतिशत र महिला रक्तदाता १५.५ प्रतिशत रहेको छ । यस वर्ष पनि कोभिड–१९ को संक्रमण जोखिमको कारण रक्त सङ्कलन र वितरणमा कमी आएको छ ।

केन्द्रीय रक्तसञ्चार सेवाको यस आर्थिक वर्ष २०७७।०७८ को लेखा परीक्षण हुन अघिको वार्षिक खर्च रु.३,८८,३८,२५०।– रहेको छ भने आम्दानीतर्फ रक्त सेवा बापत शुल्क रु.२,१९,५७,०७०।– रहेको छ । यस हिसाबले यस आर्थिक वर्षको सञ्चालन घाटा रु. १,६८,६२,१८०।– रहेको छ । यसको परिपूर्तिको लागि नेपाल सरकारका विभिन्न निकाय र दाता निकायहरूसँग सहयोगको लागि समन्वय भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू