अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०६ | Colorodo: 20:21

जोन्सनको ६ लाख डोज कोरोना खोप नेपाल आउदै, एउटै डोज लगाए पुग्ने

बिआरटीनेपाल २०७८ असार ८ गते ९:४१ मा प्रकाशित
कोभ्याक्सले एक डोज मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सन को ६ लाख डोज खोप नेपाललाई दिने प्रतिवद्धता जनाएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेतीले कोभ्याक्सले २ दिनअघि मात्र जोन्सन एण्ड जोन्सनको ६ लाख डोज खोप दिने जानकारी गराएको बताउनुभयो । अमेरिकी कम्पनीले विकास गरेको उक्त खोप एक डोज मात्र लगाए पुग्छ ।

हालसम्म नेपालमा लगाइएको सबै खोप दुई डोज लगाउनुपर्ने खालका छन् । अहिलेसम्म नेपालमा अक्सफोर्ड विश्वविद्यालय र एन्ट्रेजेनेकाले विकास गरेको कोभिसिल्ड र चिनियाँ कम्पनी सिनोफार्मेले विकास गरेको भेरोसेल नामक खोप लगाइएको छ ।अमेरिकी कम्पनीले विकास गरेको उक्त खोप नेपालमा पहिलोपटक आउन लागेको हो । हालसम्म उक्त खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति भने दिइएको छैन । तर डब्लुएचओले मान्यता दिइसकेकोले नेपालले पनि लगाउन अनुमती दिइने डा. उप्रेतीले बताउनुभयो ।

कोभ्याक्स कार्यक्रममार्फत् नै यही जुलाइ अन्तिमसम्म एस्ट्रेजेनेकाको ३ लाख ४८ हजार डोज खोप आउने डा. उप्रेतीले जानकारी दिनुभयो । पहिलो चरणमा ३ लाख ४८ हजार डोज खोप पठाएको कोभ्याक्सले दोस्रो मात्राका लागि त्यति नै खोप पठाउन लागेको हो ।त्यसबाहेक सरकारले चीनबाट खोप किन्ने निर्णय गरिसकेको छ । तर चीनले खोप उपलब्ध गराउनेबारे कुनै जवाफ दिएको छैन । मन्त्रालयको खोप शाखाका अनुसार १३ लाख बढी मानिसले खोपको दोस्रो मात्रा लगाउन बाँकी छ। १२ सातासम्ममा दोस्रो मात्रा लगाउनुपर्नेमा खोप नहुँदा दोस्रो मात्रा लगाउन समस्या देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू