अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२० | Colorodo: 03:35

‘खोप र उपचारले मात्र कोरोना संक्रमण नियन्त्रण हुँदैन, जनस्वास्थ्यका मापदण्ड पनि पालना गर्नुपर्छ’– विश्व स्वास्थ्य सङ्गठन नेपाल प्रमुख डाक्टर पाण्डव

बिआरटीनेपाल २०७८ वैशाख २९ गते ७:५८ मा प्रकाशित

विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रमुख डाक्टर राजेश साम्भाजीराव पाण्डवले उपचार मात्रैले सङ्क्रमण नियन्त्रण नहुने भएकाले जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्नुको विकल्प नभएको बताउनुभएको छ । डा. पाण्डवले विश्वभर नै महामारी निरन्तर रूपमा बढ्दै गएको तथा ज्यान गुमाउनेको संख्या पनि बढिरहेकाले उपचारभन्दा पनि स्वास्थ्यको मापदण्ड पालना गर्नेतर्फ सबै सचेत इमानदार हुन आवश्यक रहेको बताउनुभएको हो ।

संक्रमण नियन्त्रणका लागि खोप महत्त्वपूर्ण तथा शक्तिशाली उपाय भए पनि खोपको तत्काल सुनिश्चिता र पहुँचमा नरहेकाले स्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । दुई सय ७५ भन्दा बढी खोप विकासको चरणमा रहेको र ९१ को चिकित्सकीय रूपमा प्रयोग भइ नियामक निकायले कतिपयलाई आपत्कालीन प्रयोगका लागि पनि अनुमति दिइसकेकाले केही आशाका किरण पनि देखा पर्न थालेको उहाँले उल्लेख गर्नुभयो ।

डा. पाण्डवले विश्व नै एकीकृत हुनसक्ने हो भने खोपको पर्याप्त उत्पादनमा अभूतपूर्व गति हासिल गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । तर त्यसका लागि सबै सरकारबाट तत्कालै महत्त्वपूर्ण राजनीतिक तथा आर्थिक प्रतिबद्धता आवश्यक पर्ने उहाँले बताउनुभयो । दक्षिण पूर्वी एसिया र विकासशील देशमा खोपको वितरणमा अत्यासलाग्दो असन्तुलन भएको पाण्डवले बताउनुभयो ।

बलियो स्वास्थ्य प्रणाली र जनस्वास्थ्यको क्षमता निर्माणमा लगानी गरेका देशहरूले कोभिड १९ को सामना गर्न बढी सक्षम भएबाट अन्य देशले स्वास्थ्य प्रणालीको निर्माण तथा जनस्वास्थ्य क्षमताको सबलीकरणमा लगानी गर्नुपर्ने रहेछ भन्ने पाठ सिकेको उहाको भनाई छ , विगतका दशकमा स्वास्थ्य प्रणालीमा गरिएको अपर्याप्त लगानीको प्रतिफल नै कोभिड १९ को सङ्कटको रूपमा दुर्भाग्यवश देखापरेको तर्क डा. पाण्डवले गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू