अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०८ | Colorodo: 14:23

”संसद्लाई गतिशील बनाउन खोज्दा घेराबन्दी गरियाे” : सभामुख सापकाेटा

बिआरटीनेपाल २०७८ वैशाख ५ गते ९:३६ मा प्रकाशित

सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो निष्ठालाई कसैले तोड्न नसक्ने बताउनुभएको छ । आइतवार काठमाण्डाैमा पत्रकार महासङ्घको नवनिर्वाचित पदाधिकारीको पदस्थापन कार्यक्रममा बोल्दै सभामुख सापकोटाले आफ्नो विवेकले देश र नागरिककाे हितको पक्षमा काम गर्न कसैले रोक्न नसक्ने बताउनुभयो ।

शनिवार बालुवाटारमा भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा दर्ता भएको एमसीसी प्रस्ताव सभामुखले रोकेको आरोप लगाउनुभएको थियो । कार्यक्रममा बोल्दै सभामुख सापकोटाले एमसीसी सम्बन्धी विधेयकको प्रसङ्ग नभने पनि आफूलाई स्वतन्त्रपूर्वक काम गर्न कसैले रोक्न नसक्ने बताउनुभयो । कसैले काम गर्न अवरोध गरेर रोक्न खोजे पनि नरोकिने उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै सभामुख सापकोटाले संसद्लाई सार्वभौम बनाउन आफ्नो सम्पूर्ण समय लगाएको पनि बताउनुभयो । खास समयमा सभामुखको जिम्मेवारी पनि विशेष भएर आउने भन्दै सभामुख सापकोटाले नागरिककाे अभिमतलाई मान्य हुने गरी निर्णय गर्ने प्रष्ट पार्नुभयो ।

सङ्घीय संसद्लाई गतिशील बनाउन खोज्दा घेराबन्दी गरिएको सभामुख सापकाेटाले बताउनुभयो । संसद्को काम कारबाहीलाई लिएर भ्रम छर्न खोजिएको पनि उहाँकाे भनाइ छ । अहिले पनि घेराबन्दी गरेर विभिन्न टिकाटिप्पणी गर्न थालिएको उहाँले बताउनुभयो । यसरी भ्रममा पारेर सँधै कसैलाई वशमा पार्न नसकिने सापकाेटाले बताउनुभयाे ।

संसदमा विचाराधीन विधेयकमा सभामुखले अवरोध गरेको आरोप लगाइएपछि सभामुख सापकोटाले प्रधानमन्त्री र एमसीसी शब्दको उच्चारण नगरि स्पष्टीकरण दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू