अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१० | Colorodo: 07:25

प्रधानमन्त्रीद्वारा सबै दलसँग कोरोना रोकथाम र नियन्त्रण गर्न आग्रह

बिआरटीनेपाल २०७८ वैशाख ४ गते ७:११ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको समस्याबारे समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सर्वदलीय बैठकमा उहाँले सबैको सहकार्यबाट मात्र कोरोना रोकथाम र नियन्त्रण गर्न सकिने भन्दै सबै दलका प्रतिनिधिसँग कोरोनाको समस्या समाधान गर्न सुझाव माग्नुभएको राप्रपाका नेता प्रकाशचन्द्र लोहनीले जानकारी दिनुभयो ।

नेता लोहनीले आफ्नो पार्टीको तर्फबाट बैठकमा कोरोना रोकथाम र नियन्त्रणका लागि पाँच–सात बुँदा पेश गरेको जानकारी दिनुुभयो । उहाँका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले संसदमा सरकारलाई सभामुखले काम गर्न नदिएको समेत बताउनुभयो ।

“बैठकमा संसद्ले जे गर्नु पर्ने थियो त्यो नगरेको गुनासो प्रधानमन्त्रीले व्यक्त गर्नुभयो”, उहाँले भन्नुभयो । बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विमलेन्द्र निधि, जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोहनी र नेपाल मजदूर किसान पार्टीका नेता प्रेम सुवाल सहभागी हुनुहुन्थ्यो ।

बैठकमा नेकपा (माओवादी केन्द्र) का कोही पनि नेता सहभागी भएका थिएनन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू