अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०३ | Colorodo: 18:18

पश्चात्ताप

गोपी मैनाली २०७७ चैत २५ गते ७:५५ मा प्रकाशित

(निबन्ध)
हामीहरूमध्ये धेरैले वास्ता गर्दैनौँ कि समय आफैँमा अवसर हो । जीवनमा थुप्रै अवसरहरू समयले ल्याउने गर्छ तर समयको गति र वेगलाई पछ्याउन नसक्दा उपलब्धि शून्य हुन्छ । समयको गति समाउन नसकेकोमा पछुताउँछौँ, निराश हुन्छौ । समय चिन्न, पछ्याउन र उपयोग गर्न नसकेपछि पछुताउनुको के अर्थ ?

अवसर ढोल पिटेर कहिल्यै आउँदैन न चाँदीको प्लेटमा सजिएर नै आउँछ । हामीमध्ये धेरै समयलाई पछ्याउन जान्दनौ, समयको उपयोग गर्न पनि जान्दैनौं र पनि उपलव्धिको आशा गर्छौ । अरूको प्रयास र परिश्रमको ख्याल गर्दैनौ तर उनीहरूको प्रगतिको गणना गर्छौँ । जुन वेला बुझ्छौँ, समय धेरै पर पुगिसकेको हुन्छ । त्यसपछि थकथकिएर के गर्नु ?

अवसर र मानिसको सम्बन्ध ट्राफिक बत्ती र सवारी यात्रीजस्तै हो । जो एक सेकेन्डले अगि बढ्यो, उसले यात्राभरि रातो बत्तीको सामना गर्नुपर्दैन, लगातार अगि बढ्छ, लगातारको सफलतामा रहन्छ । जो एक सेकेन्डले पछि पर्यो, ऊ जति नै रÏतारमा गए पनि अगिल्लोलाई भेट्टाउन सक्दैन । समय छुट्यो त छुट्यो छुट्यो, सधैँका लागि छुट्यो । चुनावमा एक मतले हार्नु, परीक्षामा एक नम्बरले फेल हुनु वा यात्रामा एक सेकेन्डले पछि पर्नुको पश्चात्तापको कुनै अर्थ रहँदैन ।

हतारिएर पनि अवसर पाइँदैन । मानिसहरू अवसर लिन पनि हतारिन्छन्, वृत्ति चयन गर्न पनि औधी हतारिन्छन् । आफ्नो स्वभाव, रुचि र सामर्थ्यअनुरूपको पेसा वृत्ति अवलम्बन गर्न नसक्दा जीवनभर चुक चुकाउँछन् । अरूको पेसा देखेर लोभिन्छन्–मैले त्यो पेसामा जान पाएको भए हुनेथ्यो । आफ्नो स्वभाव र सामर्थ्यको जानकार आफूभन्दा अरू को हुनसक्छ ? तर हेक्का नराखी अगिल्तिरको अवसर लिन हतारिने र पछि बेकार यता आइएछ भनेर निराश हुन्छन् । जीवनमा सही निर्णय, सही वृत्ति चयन र सही अध्ययन गर्न नसक्दा न वृत्ति फस्टाउँछ र न सङ्गठन । जीवनभर व्यक्ति पनि ठगिन्छ, वृत्ति पनि ठगिन्छ, दुवैले गुमाउने सिवाय केही रहँदैन ।

वृत्ति उत्साह हो, उत्साहको जरुवा फुटेन भने वृत्ति व्यवसाय सधैँ कटमरिन्छ । उत्साहका तहहरू थपिँदै गए भने वृत्ति पनि समृद्ध बन्छ, व्यवसाय पनि समृद्ध । वृत्तिमा प्रवेश गर्दा रहने खुसी वृत्तिको अन्तिम दिनसम्म रहनसकेमा मात्र वृत्ति विकास हुन्छ, त्यो नै सही वृत्ति चयन हो । त्यसैले सोची सम्झी वृत्ति अवलम्बन गर्नेहरू सगरमाथा चुम्छन्, हतारमा हौसिनेहरू जीवनभर पछुताउँछन् । एउटा गन्तव्य पूरा नगरी अर्को हात नहाल्नेहरू पनि छन्, धेरै वृत्तिहरू एकसाथ अपनाउने पनि छन् । सामर्थ्य र स्वभावले साथ दिए बहु वृत्ति पनि उपलब्धिमूलक हुनसक्छ, नभए एउटै वृत्ति पनि उपलब्धिविहीन ।

एक जना साथी निकै अब्बल कवि थिए, आफूभित्रको कवित्वमा तत्कालको शानसौकत देखेनन्, प्रशासनमा पसे । न प्रशासनले उनलाई स्वीकार्यो, न कविमन कर्मचारीतन्त्रभित्र रमायो । परिणाम कवित्व पनि कठ्याङ्ग्रियो, प्रशासन पनि मुर्झायो । कविताकर्ममा मात्र रहेको भए साहित्य वाङ्मय कति गुलजार हुने थियो ।

अर्का साथी कलाकार थिए । कलाकारिता पनि जम्दै थियो, प्रशासनले हातमुखको गर्जो पनि टारेको थियो । सोचे प्रशासनले कलाकारितालाई बाँध्न सुरु गर्यो र सोचे यस्तै हो भने प्रशासनले कलाकारिता मार्न बेर लाउँदैन । समयमै जागिर छाडे, कलाकारिताले शिखर चुम्यो ।

कतिपय मानिस देखासिखी पनि अरूजस्तो बन्न तम्सिन्छन् । उसले यस्तो गर्यो, मैले त्यसो गर्न सकिन, मेरो जन्म नै बेकार भयो आदि । देखासिखी र प्रदर्शन प्रभावले अरूजस्तो बन्न खोज्नेहरू पनि पछुताउँछन् । प्रत्येकका स्वभाव र सम्भावनाहरू अर्कोभन्दा नितान्त भिन्न हुन्छन् । कोही सङ्घर्ष र परिश्रममा रमाउँछन्, कोही सरल जीवन जिउन मन पराउँछन् । जर्जर जटिल बाटोमा सङ्घर्षको यात्रा गर्नु, असजिलोसँग जुध्नु, आगोसँग खेल्नु, एडभेन्चरमा रमाउनु पनि मौलिकता हो । विपरीतमा सरल जीवन, सरल सोच र सामान्य प्राप्तिमा रमाउनु पनि जीवनको अर्थ हो । दुवै थरी जीवनशैली महान् छन् । दुवैले अन्तरात्माको साहसमा र आत्मिक उत्सर्गमा काम गर्छन्, आनन्द प्राप्त गर्छन् तर अन्तरात्माले स्वीकृति नदिएको र स्वभावले सम्मति नदिएको काम गर्नेहरू पश्चात्तापमा जलिरहन्छन् र जीवनभर पछुताउँछन् ।

वृत्तिसँग रमाउन नसक्नेहरू त्यसको क्षतिपूर्तिका लागि अतिरिक्त काम गर्छन् र स्थापित हुने मनसुवा राख्छन् । प्रशासकहरूले दोहोरी गीत सम्मेलन गर्नु वा नेताहरू कवि सम्मेलनमा अतिथि बन्नुको मजा के कति हो, तर समाजले भने यसबाट पाउने होइन, गुमाउने मात्र हो । प्रत्येक पेसाले छुट्टै आदर्श र आचरणको माग गर्छ । त्यो आदर्श र आचरण नभएपछि पेसा नै फेक बन्छ, गरिने काम फगत औपचारिकताको नाटक ।
अवसर पाउनेले पनि अवसरको सदुपयोग गर्न सक्नुपर्छ । समयसँग अवसर चिप्लिएर कुद्छ । राष्ट्रसेवकहरू कामप्रति आक्रामक नभै यो भोलि गरांैला भनेर पन्छ्याउँछन्, वक पास गर्न रमाउँछन् । त्यो भोलिसँग उनीहरूको भेट कहिल्यै हुँदैन र पछि आफूले सुरु गरेको काम पूरा गर्न सकिन भन्ने पश्चात्ताप गर्न पुग्छन् । वर्तमानका जिम्मेवारप्रति कटु आलोचना गर्नसमेत पछि पर्दैनन् तर जिम्मेवारीमा रहँदा आफूहरू पनि कुनै दिन पूर्व हुन्छु भनेर कहिल्यै सोचेनन् । वर्तमानमा जिम्मेवारी लिनेहरू पनि वर्तमान बित्थामा भुलेर विगतकै बिँडो थाम्न मन पराउँछन् ।

कहिले त व्यक्ति जिम्मेवारीले चेपिएर पनि चाहे जति गर्न सक्दैन । समय दैनिक चौबिस घण्टा मात्र आउँछ । सुरु गरेका काम उसपछि निरन्तर नहुँदा, त्यही रूपमा निरन्तर नहुँदा पनि चुक चुकाउने अवस्था आउँछ । सार्वजनिक ओहोदाधारीहरू जिम्मेवारीबाट पर पुगेपछि चाहेर पनि गर्न सक्ने सामर्थ्य राख्दैनन् । आवधिक पदले त्यो पहुँच, अधिकार र विश्वास सबै गुमिसकेको हुन्छ । जिम्मेवारीमा रहँदा पूरा गर्न नपाएका कामले उसलाई जीवनभरि कोक्याइरहन्छ । आफ्ना काम र नकामले व्यक्तिलाई कहिल्यै कोक्याउनु हुँदैन ।

समाज र राष्ट्रप्रति भावनात्मक लगाव राखेर निष्ठामा समर्पित हुनेहरू अहोरात्र खटेर पनि थकाइको अनुभव गर्दैनन् । फगत खटिरहन्छन् । लगातार खटिरहन आन्तरिक ऊर्जा र आत्मिक प्रेरणाले तानिरहेको हुन्छ । परिवेशका व्यवधान र उभयपक्षका बाधालाई रत्ति पनि पर्बाह गर्दैनन् । उनीहरूकै कर्ममा समाजले प्रजननशीलता र राष्ट्रले समृद्धि पाउने हो । उनीहरू महान् हुन् । उनीहरू वर्तमानमा एक्स्क्युज पनि माग्दैनन्, त्यसैले भविष्यमा पश्चात्ताप पनि गर्दैनन् ।

एक जना ठुला राजनीतिज्ञ समक्ष राउटेका मुखियाले भेटेछन् र समूहका तर्फबाट आफूहरूका लागि केही गर्न माग राखेछन् । राउटेका मुखियासँग राजनीतिज्ञले भनेका थिए रे–‘मलाई तपाईँहरूका लागि थुप्रै सहयोग गर्न त मन थियो, कर्मचारीतन्त्रले दिएन’ । गर्न नसक्नेहरू यसरी नै दोष अरूतिर पन्छाएर रमाउँछन्, गर्नेहरू गर्नमा नै रमाउँछन् । सफल नेतृत्व जसजति अरूलाई दिएर अपजस आफैँले लिने गर्छ ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा मन्त्रीहरूबाट समस्या सिर्जना हुने देखेपछि आफ्ना मन्त्रीहरूप्रति हात जोरेरै अनुनय गरेका थिए–‘मेरो अनुरोध छ, संविधान नबनेसम्म विवाद नगरौंं । असल राजनीतिक संस्कार बनाऔँ । यो नै हाम्रो अहिलेको दायित्व हो ।’ जसका लागि हात जोरिएका थिए, पछिसम्म उनीहरूको स्वर ठुलै सुनियो, तर अनुनयकर्ता पश्चात्तापको आगोमा कहिल्यै जलेनन् र नेपालको संविधानका पिता बने । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले उनलाई रोल मोडेल नै मानेर भनेको सुनियो–‘नेता त सुशील कोइरालाजस्तो पो हुनुपर्छ । म उहाँको जीवनशैली अपनाउँछु ।’

एकताका जापानी रेस्टुराँहरूमा एकै खाले सङ्गीतको मधुर धुन बजिरहन्थ्यो । मैले उत्सुकतावश सोधेको थिएँ, ‘किन सबैजसो रेस्टुराँमा यही धुन बज्छ ?’ जापानी साथी नाकायामाले उत्तर दिए–‘मैनाली यो धुनलाई हाम्रा प्रधानमन्त्री जुनिचिरो कोइजुमीले धेरै मन पराएका छन्’ । राजनेताको लोकप्रियता यसरी नै देखिने हो । जनताको सम्मति यसरी नै देखिने हो । ती सेतै फुलेको कपाल, चाउरी परेको चेहरा, ताप्रो तर हँसिलो व्यक्तिले आफ्नो दुई पटकको प्रधानमन्त्रित्वमा जापानलाई निकै माथि उठाएथे । थुप्रै सुधारका कामबाट जापानीहरू उनको आनीबानीसमेत मन पराउन थालेका थिए । राजनेताहरू नागरिकलाई त्यस देशको नागरिक हुनुको गर्वबोध गराउन हरतरहले लागिरहन्छन् ।

धेरैजसो मानिसहरू अरूबाट लिन चाहन्छन् । लिएर कहिल्यै अघाउँदैनन् । दिएर रमाउनेहरू कहिल्यै पश्चात्तापमा पर्दैनन् । मानव सेवा आश्रमका रामराजहरू कति मनकारी छन् । उनीहरूको कामबाट जोकुनैको आँखाबाट आँसु झर्छ । उनीहरूको समाजसेवा देखाउन होइन, गर्न हो । बेसहारालाई जीवन दिने काम आफैँमा स्वर्गीय अनुष्ठान हो । अटिज्म स्कुल कि सविता, आमा घरकी दिलशोभा, स्नेही काखकी नेताहरू मानव सेवामा आत्मिक आनन्द लिइरहेका छन् । प्राप्तिमा बरु पीडा होला, दिँदाको स्वर्गीय आनन्द दिनेहरूलाई नै थाहा होला । नत्र मनकारी हातहरू मानव सेवामा किन लागिरहन्थे, ज्ञानीहरू किन ज्ञान बाँड्थे र आमाहरू प्रसव पीडामा पनि किन रमाउँथे ? उनीहरू कहिल्यै पश्चात्तापमा पर्दैनन् ।
मेरो वृत्तियात्राका प्रिय साथी राम थापा साथी भनेपछि मरिहत्ते गर्थ्यो । लाग्थ्यो ऊ अरूको सहयोगको लागि नै जन्मेको हो । मेरा दुखको पहिलो साछी उही हुन्थ्यो, उसका दुखको पहिलो साथी पनि म नै हुन्थें । एक अर्कामा हृदय पुरै खोलिएको थियो । जागिर छाड्यो र थुप्रै हैरानी पनि बेहोर्यो विचराले । घरायसी दुख पोख्न पनि मलाई भेट्थ्यो । एक दिन फोन गर्यो, ‘तिमीसँग मन पोख्नुछ, म घर आउँछु’ । व्यस्त भएकाले आज तिमी नआऊ भन्न बाध्य भएँ ।उसले आग्रह गर्यो, ‘उसो भए मेरो घरबाट फोन आएमा यता आएको छैन भन्देऊ’ । बिचरा कीर्तिपुरतिर रुखमुनि बसेर एक्लै दिन बिताएछ, दुख पोख्न साथी नपाएर सायद प्रकृतिलाई पोख्यो होला । केही दिनपछि फेरि फोन आयो–‘रेस्टुराँ खोल्दैछु, भोलि बेलुकी तिमी भाउजुसाथ आउनु, शुभारम्भमा हामी खुबै जमेर रमाउनुपर्छ ।’ ठुली एकादशी परेकाले आउन नसक्ने जबाफ दिएँ । अब उसको स्वर सुन्न पाउँदिन । राम थापा अब स्मृतिमा मात्र बाँकी छ । ऊ कतै दुर्घटनामा बितेछ । म उसकोमा नजानुको पश्चात्ताप जीवनभरि रहनेभो । गएर नखाएको भए पनि हुनेथ्यो नि १ सानो कुरामा कति ठुलो गल्ती गरेछु ।

ठुला जिम्मेवारी, ठुला ओहोदा र ठुला व्यक्तित्वका पश्चात्ताप पनि ठुला हुन्छन् । अक्सर राजनीतिज्ञहरू प्रभावका जिम्मेवारीमा रहेर पनि पटक पटक गल्ती गरिरहन्छन् । नबुझीकन पनि थुप्रै गर्छन्, आफूलाई सर्वज्ञाता सम्झिन्छन् । बुझेर पनि गल्ती गर्छन् । अहम् र दम्भले पनि थुप्रै गर्छन् । अर्थहीन संवाद र भाषणमा समय बिताउँछन् । यस्तै कामहरूको निरन्तरताले समाज र राष्ट्रले लगातार गुमाइरहेको छ तर पनि सोच्दैनन् आफूहरूले नैतिक अपराध गरिरहेका छौँ भनेर । क्षमाशील र विनयता देखाउँदैनन्, जनभावना नबुझीकन जनताका लागि गरेको नाटक गर्छन् । विद्वता र बौद्धिकताविना नै दार्शनिक बन्न रमाउँछन्, बदलाले बदला नै फैलाइरहन्छन् । रिसको आगोमा घिउ थप्छन् तर पश्चात्ताप कहिल्यै गर्दैनन् । राजनेताहरू त बिपी, मन्डेला र गान्धीजस्ता पो हुनुपर्ने । नीति निष्ठाको नेतृत्वमा पो हुनुपर्ने । नीति निष्ठा कुल्चेर नेता बनेकाहरू पश्चात्तापको भुङ्ग्रोमा त पर्छन् तर त्यतिखेर युग गुमिसकेको हुन्छ । त्यसपछि पश्चात्तापको के अर्थ ?

पौरखी मानिसहरू आराम होइन, प्रयासमा बाँच्छन् । प्रयासमा पसिना बगाउनेहरूले लोभको र्याल काड्दैनन् । लोभ र आसमा पीडा हुन्छ, प्रयासमा पीडा होइन मुक्ति हुन्छ । प्रयासमा बाँच्नेहरू पर्खँदैनन्, थाल्छन् मात्र । देख्नेले के देख्लान् भन्दैनन्, देख्नेले पनि जान्लान् भन्छन् र निरन्तर पौरखमा रमाउँछन् । प्रयास र पसिनामा रमाउनेहरू कहिल्यै पश्चात्तापमा पर्दैनन् ।

जीवन गर्नका लागि हो, कर्मका लागि हो । कर्म अवसर हो । यो संसार कर्मको सिर्जना हो । कर्म सानो ठुलो हुँदैन, सामर्थ्य र समर्पणले सबै कर्मलाई ठुलो मान्छ । कर्मलाई प्रधानता दिनेहरू नै खुसी हुन्छन्, कहिल्यै पश्चात्तापको भुङ्ग्रोमा परेर मरिचझैँ चाउरिँदैनन् । स्वच्छ मन, स्वच्छ विचार र सभ्य व्यवहारले संसारको सेवा गर्छन् । लालसा र लोभमा पर्दैनन् । हो, महाकवि देवकोटाले ठिकै भनेका थिए ‘हातका मैला सुनका थैला के गर्नु धनले, साग र सिस्नु खाएको वेस आनन्दी मनले’ ।

मैनाली निवास
क्षितिज मार्ग, शंखमूल
काठमाडौँ ।