अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०३ | Colorodo: 05:18

२० वर्षमा बीसौँ सरकार बदलिनु तर नेपालीको अवस्था नबदलिनु सबैभन्दा दुःखद पक्ष हो – रविन्द्र मिश्र

बिआरटीनेपाल २०७७ चैत २३ गते ८:२६ मा प्रकाशित

विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले पछिल्लो समय विकसित राजनीतिले देश नै लज्जित हुनुपर्ने अवस्थामा पुगेको टिप्पणी गर्नुभएको छ । सोमवार पार्टीको सञ्चार तथा सूचना प्रविधि विभागको आयोजनामा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मिश्रले अहिले अघि बढिरहेको राजनीत अत्यन्त निन्दनीय र लज्जास्पद भएको टिप्पणी गर्नुभएको हो ।

अहिले भइरहेको गतिविधि देशको स्वाभिमानको हित विपरीत भएको उहाँले । उहाँले भन्नुभयो, ‘अहिलेको स्थितिमा पनि राजनीति जुन किसिमबाट अगाडि बढिराखेको छ, त्यो अत्यन्त निन्दनीय छ, त्यो अत्यन्त लज्जास्पद छ । यो देशको स्वाभिमानको हित विपरीत छ, यो राष्ट्रहित विपरीत छ ।’

संविधानले तय गरे अनुरूप सु–संस्कृत रूपमा देशको सरकार परिवर्तन हुनुपर्छ भन्नेमा आफ्नो पार्टी दृढ रहेको पनि अध्यक्ष मिश्रले बताउनुभयो । अहिले भइराखेको गतिविधि संविधानको विपरीत भइराखेको बताउँदै उहाँले दलहरूले संविधानको सम्मान गर्न सक्नुपर्ने बताउनुभयो । त्यसबाट मात्रै सु–संस्कृत राजनीति स्थापित गर्न सकिने पनि बताउनुभयो ।

अध्यक्ष मिश्रले नेपालको राजनीति विगत ७० वर्षदेखि नै धरमराईरहेको टिप्पणी समेत गर्नु भएको छ । नेपालको लोकतन्त्रलाई संस्थागत गर्न ७० वर्षदेखि प्रयास भइरहेपनि अहिले पनि धरमराइरहेको स्थितिमा लोकतन्त्र रहेको उहाँले बताउनुभयो ।

उहाँले आफ्नो दलले देशभरका नागरिकको सामाजिक जीवनको अधिकार, मर्यादाको अधिकार, शिक्षा र स्वास्थ्यको अधिकार सुनिश्चित गर्न चाहेको पनि प्रष्ट पार्नुभयो । यी विषय सुनिश्चित नहुँदासम्म नेपालको राजनीति अस्थिर रहने पनि उहाँले बताउनुभयो । यस्तै देशभित्रै रोजगारी सिर्जना गर्नु चुनौतीपूर्ण विषय बनेको अध्यक्ष मिश्रले बताउनुभयो । वैदेशिक रोजगारीका लागि सम्झौता हुँदा हात मिलाएर खुसी मनाउने मन्त्री र राजनीतिक दलबाट देशभित्रै रोजगारी सिर्जना गर्ने कुराको कल्पनासमेत गर्न नसकिने बताउनुभयो ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू