अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२९ | Colorodo: 23:44

धुल्पुरे त बगाए छ !

गोपी मैनाली २०७७ चैत ६ गते १०:१४ मा प्रकाशित

(कथा)

रोशीखोला जोर घट्टदेखि छुट्टिएर दुई भँगालोमा बाँडिएको छ । बिचमा पाँच–सात किराना दुकान र चिया पसल भएको धुल्पुरे बजार छ । बजारको बिचमा बडेमानको पिपलको चौतारो, चौतारोको वरिपरि कुदिएका सुन्दर ढुङ्गा मिलाएर बनाएको पेटी, जहाँ ढाक्रेहरू ढाकर बिसाउँदै शीतल हावामा रमाउने गर्दछन् ।

पूर्व भोजपुर, दिक्तेल, रुम्जाटारदेखिका यात्रीको साथी बनेको छ धुल्पुरेको यो चौतारो । ठाउँ ठाउँमा टोक्मामा ढाकरको भार बिसाउँदै आएका ढाक्रेलाई पनि थकाइ र छहारी दिन्छ यो चौतारो । धुल्पुरेको बजार र चौतारो जुगदेखिको यात्राको साछी हो । बटुवाको जीवन्त इतिहास हो ।

विनय गोठाला जाँदा पनि गाईबस्तुको आँखा छलेर चौतारो र बजारमा पुगेको छ । आमाले दिएको पैसाले पिपलमेट खाएको छ ।

जेष्ठको उखरमाउलो घाममा विनय साथीहरू विर्तान, चम्फा, अष्टमान, काउचे, ङेमा र भाइहरू देव र नारायणसँग गाईभैसीका ताँती लिएर गोठालो गएको छ । थिङटोल, बाटुले, चिप्ले र पिप्लेका गाइबस्तुहरुले रोशीखोलाका छेउछाउ भरिएका छन् ।

रोशीखोलामा गोठाला जाँदा दोहोरो फाइदा छ । कुलो, सिम र भित्ताभात्तीका हरियो घासले गाइभैसी छिट्टै अघाउने, पानी र आहालका लागि पनि अन्यत्र लानु नपर्ने, अर्को खोलामा पौडी र बगरमा घर बनाइ खेल्न पनि पाउने । कलिला गोठालालाई रोशीखोलाले सधैँ माया दिएको छ, कहिल्यै बगाएको छैन ।

खोलाको बिचबाट विनयले धुल्पेरे चौतारो नियाल्यो । ‘आहा कति लामो लाइनमा थरीथरिका बटुवारेहरू बसेका । बिस–पच्चिस जना त टोक्मामा ढाकर अड्याएर थकाइ मारिरहेका छन्, लाग्छ यो समावेशी विश्रमस्थल हो’ ।

विनय नाक समातेर झ्याम्म दहमा हाम फाल्छ र पौडीबाटै गाईबस्तु नियाल्छ । बहादुरे गोरु कुलैकुलो पर पुगिसके छ । खोलैखोला दौडेर बहादुरेलाई फर्काउँछ र साथीहरुसंगको ढुङ्गा चाङ लगाउने खेलमा सामेल हुन्छ । पानीको धारले माझिएर चिल्ला बनेका बाटुला ढुङ्गाको चाङ लगाउन निक्कै असजिलो छ । रोशीको मुल्कामा पौडिनु भन्दा पनि असजिलो !

आज गोठालाहरू सबै नै खुसी छन् । गोरे दाइको घट्टमा पनि रघुचौर, खार्पा चोक, लास्कोट, कान्पुर र तिमालदेखिका मानिसहरू सामल पिन्न आएका छन् । घट्ट आउने पुरुषहरू घट्टको पालो पर्खँदै ठुल्ढुङ्गा दहको पौडीमा रमाएका छन् । महिलाहरू भने रिठ्ठो र खरानीमा कपडा धोएर बगरमा फिँजाएर सुकाइ रहेका छन् । रोशीखोलाको कञ्चन पानीले सबैलाई सेवा दिएको छ, सबैलाई लोभ्याएको छ ।

भोक लाग्ने घट्वारेहरु ढुङ्गे रोटी पकाउँदै खाजा खाने क्रम पनि छ । माछा समाउन सक्नेहरू बुदुने माछा पोल्दै नुनसँग पिँधेर रोटीका लागि चटनी बनाइ रहेका छन् । पैसा हुनेहरू धुल्पुरे बजारमा चिया र खाजा बिस्कुटसँग रमाएका छन् ।

रोशीखोलाको स्या आ ऽ ऽ ऽ प्रकृतिको धुनसंगै केटाकेटीको दोहोरी पनि घन्किएको छ ।

अघाएका गाईभैसीहरु ओकार्दै छन् । भैसीहरु खोला छेउछाउको दहमा आहाल बसिरहेका छन् । भैँसीका सीँग र जिउमा सेता बकुल्लाहरू बसेका छन् । सिमसिमे पानीमा माछाका भुरा खाएर न अघाएका बकुल्लाहरू शायद भैँसीको किर्ना टिप्ने दाउमा छन् ।

लाग्छ धुल्पुरे बजार र आसपासको रोशीखोला बगर प्रकृतिको सुन्दर मेला हो । खेती किसानी गर्ने दुःखीहरूको, भोजपुरदेखि नेपालसम्म ढाकरमा सामान ओसार्नेको केही बेर आराम गर्ने विश्रमस्थल हो ।

रोशीखोलाले तिमालदेखि खार्पाचोकसम्मको दुःखको खेतीकिसानीलाई जुगौदेखि सघाउँदै आएको छ । विनय र उसका गोठाला साथीहरूलाई जीवन शिक्षा दिने पाठशाला पनि हो रोशीखोला र धुल्पुरे बजार ।

धुल्पुरे बजारलाई पोटुका लगाएर एकै बनेका रोशीका भँगालाहरु पुन झ्यामुन्नेदहमुनि फाटेर माकलखोलासम्म आफ्नै बाटो लाग्छन् । बिच अँगालोमा छतापको फाँट छ । डाँडा गाऊ र चिप्लेका साहुहरू यहीको धान मकैबाट धनी भएका हुन् । बलौटे मलिलो माटो र रोशीखोलाको पानीले मकै पनि बोटैपिच्छे दुई घोगा लागेको छ । गाईभैसी त्यता जालान भन्ने चिन्तामा विनयका नजरहरू घरीघरी यता पर्ने गर्छन् ।

गोठालालाई खेल्नु पनि छ, गाइभैसी अघाउनु पनि छ ।

गाईभैसी टन्न अघाउँदा जाँचमा धेरै नम्बर ल्याएजस्तै सन्तोष मिलेको छ विनयलाई । आज आमाले उसलाई कति स्याबास दिने होलिन् !

अब त घाम कोल्टे फेर्दैैछ । विनय र साथीहरू आआफ्ना गाइभैंसी लिएर समी चौतारोबाट उकालो लागे । गाईभैसीहरुमा पनि साथित्व विकास भैसकेको छ । साँघुरो बाटोमा पालो दिएर बिस्तारै उकालो लाग्छन्, नत्र खुर्मुरिएर खोलामै पुग्ने डर ।

मन्दिरको चौरमा पुगेर विनय बहादुरे भन्ज्याङ, धार्सिङखोला र रोशीको सङ्गम, रुम्टीका बिरौटै खेतहरू नियाल्छ र साथीहरूसँग गफिन्छ–विर्तान, चम्फादाइ, ङेमा हेर त रोशीमा मिसिएको धार्सिङखोलाको रङ्ग परसम्म नमिलेको । दुवै सँग्ला छन् तैपनि रङ्ग भने बेग्लै ।

रुम्टीका साना गर्हा खेतमा हिरालाल काकाहरूले कसरी रोपाई गर्दै आएका छन् ? त्यति सानो आली पनि खाली नराखी मास र भटमास लगाएका १ पहाडका किसानहरू एक चिम्टी जग्गा पनि खालि राख्द्रैनन् । पसिना र माटोले उब्जाउ दिने न हो ।

विनयलाई गफ गर्न मात्र होइन, एक छिन खेल्न पनि मन छ मन्दिरको चौरमा । तर गाईबस्तुहरू खेलको अनुमति नदिई घरतिर अगि बढे ।
‘भैगो विर्तान, ङेमा आज जाऊँ, अबेर पनि हुन लाग्यो’ ।

‘महाभारत र तिमालतिरबाट कालो बादल मडारिएर आउदैछ, विजुली चम्कँदै चट्याङ पर्दैछ । भोक पनि लागेको छ । घरमा गएर खाजा खानु बेस’ ।

बिच बाटैबाट गाईभैसीहरु दौडिएको देखेर विनय अचम्म मान्दैछ । ‘कतै ठुलो विपत्तिको सन्देश त यिनीहरूले पाएनन् ? होइन भने किन यसरी दौडिएका ? हजुरबुबाले भन्नु भए अनुसार ठुलो अनिष्ट अघि प्रकृतिले जनावरहरूलाई थाहा दिन्छन् रे ।’

भोक र थकानले लखतरान विनय दाजुभाइसँग खाना खाएर ओछ्यानमा पल्टिहाल्यो । बाहिर भने आरिघोप्टे पानी दर्किएन थाल्यो । निन्द्रादेवीलाई पानीले पनि बाधा पारेन । उ मस्त निद्रामा घुर्न थाल्यो ।

विनयले रातभरि नराम्रो सपना देख्यो । बडेमानका राक्षससँग अध्यारोमा एक्लै कुस्ती खेल्न परेछ । उसले जित्न सकेन र हारुँला भन्ने पिरले झल्यास्स बिउँझियो । आमा भाउजू र बुबालाई भन्दै थिइन् ‘लौन यो रोशीखोला किन बौलायो ? बच्चाहरू खोलामै हुँदा बाढी आएको भए ऽ ऽ ऽ ?’

विनय दौडेर मन्दिर चौरतिर झ¥यो । धुल्पुरे बजार पनि छैन । छतापको खेतको फाँट पनि छैन । गोर्दाइको घट्ट, झ्यामुन्ने घट्ट, जोरघट्ट केहीको पनि नामोनिसान छैन । समीको चौतरी पनि झन्डै बगाएछ । चारसय फाँटको कुलो पनि छैन । नदी किनाराका बैँसका लहरे रुखहरू कहाँ पुगे होलान् ? रोशीखोलाको रौद्ररुप अहिले पनि मडारिएको छ ।

धुल्पुरेको पिपलको चौतारोमा रुख चढेर चार पाँच जना वयस्क मानिसले सहायताको हात हल्लाए जस्तो देखिन्छ । कान्पुर मास्लो पसलेले दशकौदेखि धुल्पुरेमा किराना पसल खोल्दै आएका थिए, बाचेका पुरुषहरू हुनुपर्छ पिपलको रुख चढ्ने ।

काकालिङ कहाँ पुग्यो होला ? काकालिङका भित्ताभरिका रङ्गीचङ्गी थाङका, बुद्धका उपदेश र ओममणि पद्येका श्लोकहरु ……।

मडारिएको रोशीले घरका छाना, सिङ्गै रुखहरू, गाईभैसी र मानिसका लासहरू किनारातिर छरिएका छन् ।

हरे रोशीखोला तिम्रो कञ्चन रूप किन यति रिसाएको ? धुल्पुरे बजार र छतापको फाँटलाई किन बडेमानका अड्याङ्बड्याङको बगर बनाएको ?
बिनयका आँखा रोशीतिर हेरेर टोलाइरहे । बदलिएका आँखाबाट आशु पोखिन सकेनन् ।

नजिकै आएकी आमाले भनिन् ‘बाबु एक्लै यसरी बस्नु हुन्न, खोलाले खगार्छ नि । हिड बाबा, खाना खाने बेला भो ।’
‘आमा धुल्पुरे त बगाएछ ।’ ‘छताप र काकालिङ पनि बगर भएछ ।’

(मैनाली निवास, क्षितिज नगर, शंखमूल)