अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१३ | Colorodo: 13:28

बाइसौँ शताब्दीको मान्छे

गोपी मैनाली २०७७ फागुन २१ गते ८:५६ मा प्रकाशित

(निबन्ध)

उजाड र फुस्रा सडकहरूमा तीव्र गतिमा स्वचालित सवारी साधन कुदिरहेका छन् । सवारीभित्रका मानिसहरू कहीँ कतै नहेरी व्यस्त देखिएका छन् । सौर्य प्रकाशलाई क्याप्चर गरेर कुदाइसँगै आफ्ना लागि इन्धन उत्पादन गर्नु सवारी साधनको अर्को काम हो, जसका लागि उसको छतमा पाता र पाइपहरू जडिएका छन् । खनिज इन्धन रित्तिँदै छ, जिवास्म इन्धन महँगो छ ।

मानिसको सङ्ख्या धेरै छ । बढ्दो जनसङ्ख्याको भारवहन क्षमता आमा पृथ्वीले गुमाइ सकिन । आमा बलात्कृत छिन् । तर चुपचाप सहिरहेकी छिन् । स्वच्छ आवहवामा होइन, खैरो, फुस्रो मैलो वातावरणमा थोरै मानव इतर जीव–वनस्पति बाँकी छन् । अगिल्लो शताब्दी सम्मका बडेमानका नदीहरू रगत सुकेको रेखाजस्ता राता बगरमा परिणत हुदैछन्, खहरे–खोल्साहरू जीर्ण खोपिल्टा काप्चा बने । पहाड पाखाहरूको स्वच्छता पखालिएको छ । फाँटहरू उजाड देखिन्छन् । माटोको उर्वरत्व गुमेको मात्र छैन, माटो उडेर वायुमण्डल नै फुस्राम्य छ । केही क्याक्टस प्रजाति अस्तित्वको सङ्घर्षमा छन् ।

धेरै मानिसलाई खुवाउन उब्जिलो जमिन अभाव र अन्नको भएर के भो ? प्रकृतिलाई पराजित गर्ने ईश्वरीय शक्ति पाएको मान्छेले अन्तरिक्ष खेती सुरु गरेको छ । कृत्रिम खेती, पाइप खेती, कोठा खेती त अगिल्लो शताब्दीबाटै गरेथ्यो, उसको तृष्णा जागेरै रह्यो । स्पेस फार्मिङमा आफूलाई चाहिएको स्वाद र सन्तुष्टिमा फसल उब्जाऊ सजिलो भएको छ । फलफूलका बोटहरू पनि फोटोसेन्थेसिस गर्न, जैविक–बानस्पतिक काम गर्न सक्ने, पुड्का पोथ्रा छन् । तर फलहरू लटरम्म छ । एकै बोटका हाँगाहरूमा छुट्टाछुट्टै फलहरू फलेका छन् । अन्न उब्जाउने बोटहरू पनि धान, मकै, गहु, फापर, कोदो, चिनोको एकल अस्तित्वमा नभै सम्मिलित पहिचानमा छन्, सबैको स्वरूप मिसिएका दानाहरू त्यति स्वादिला छैनन् । ती हाइब्रिड दाना एकसाथ भिटामिन, प्रोटिन, कार्बोहाइड्रेट, खनिज लगायत सबै पोषण तत्त्व दिन सक्षम छन् । खाना कति खाने, कति क्यालोरी खाने उमेर, शारीरिक अवस्था र कामबाट निर्धारित छ । सबै जना पर्याप्त होइन, आवश्यक खाना खान्छन् । मोटाउनु छैन, दुब्लाउनु पनि छैन, शरीरलाई भार दिनु पनि छैन, बिसन्चो बेसाउनु पनि छैन । सबै मानिसहरू उमेर अनुसार एकै कद र तौलका छन्, मेसिनले काटेको झन्डै इट्टा जस्ता ।

तर सबैतिर अक्सिजनको अभाव छ । पृथ्वी रातो भइसक्यो । पारिस्थितिक प्रणालीले स्वाभाविक सन्तुलन गुमाएको छ । मानिसहरू ब्याकप्याकमा ससाना सिलिन्डर बोकेर दौडिएका छन् । कुन्नि के पर्छ आकस्मिक कार्यका लागि बहु उपयोगी ग्याड्जेट छ । त्यो नै साथी, सहयोगी, हतियार, सञ्चार बाहक, अभिलेखक, नियन्त्रक सबै हो । पति–पत्नी र सन्तानहरूसँगको संवाद र स्पर्श यही ग्याड्जेटबाट धानिएको छ ।

जलाधार लगभग रित्तिइसक्यो । ताजा पानी त करिब छैन नै । रासायनिक प्रक्रियाबाट पानीजस्तै झोल पदार्थ तयार गरिन्छ । एकाध सम्पन्नहरू ताजा पानी पिउने गर्छन् । दिनमा कति पानी पिउने, सरसफाइमा कति प्रयोग गर्ने भन्ने सबै निर्धारित छ । कहीँ कहीँ नयाँ पानी (नवीकरणीय) पनि उत्पादन हुन्छ । अहा ती फाउन्टेनका पानी, नयाँ पानी पिउने मानिस कत्ति भाग्यमानी १

सर्वत्र सुख्खा छ । मनसुन बदलिएको छ । वर्षा कहिलेकाहीँ मात्र तर बौलाएर आउँछ । आरीले घोप्ट्याए जसरी आउने वर्षाले वितण्डा नै मच्चाउँछ । तर बोट बिरुवाले केही पाउँदैनन् । कति पानी त अन्तरिक्षका गर्हाहरुले उतै खपत गरेका छन् ।

समुद्र पनि एकतमासका छन् । समुद्रका जीव–वनस्पति सामुद्रिक सन्तुलन बिग्रिएर भकाभक मर्दैछन् । सर्भाइवल अफ फिटेष्टमा थोरै मात्र बाँचेका छन् । बाँचेकाहरू पनि अनुकूलनका लागि छटपटिएका छन् ।

पति पत्नीको परिवार धान्ने, पुस्ता बचाउने कर्म पनि बदलिएको छ । सन्तान चाहिएको छ, तर आमाहरू जैविक कार्यबाट आमा बन्न इच्छुक छैनन् । आ त्यो दुःख कसले गरोस् । आमा बुबाका वंशाणुहरू सङ्कलन गरेर बच्चा बनेका छन् । बच्चा पनि इनर्जी सिरप चुस्न अभ्यस्त छ । प्रविधिले साथ दिएको छ । बुबा आमा खुसी छन् ।

रहर त हो, एक बिहानै मानिसलाई आफ्ना पुर्खाहरूको आवाज सुन्न मन लाग्यो । हाते ग्याड्जेट मिलाएर जिजु आमा, जिजु बुबा हजुरआमा, हजुरबुबा, बुबा आमाको आवहवामा छरिएका आवाज सुन्न थाल्यो । आवहवामा छरिएका आवाजका तरङ्गहरू त्यही कम्बिनेशनमा मिलाउने काम चानचुने होइन । तर असम्भव थिएन ।

कति अचम्म १ उसका पुर्खाहरू पिठ्यूँमा ढाकर बोकेर बाढी आएको रोशी खोला तर्दा रहेछन् । थकाइमा टोक्मामा आड लाउँदा रहेछन् । कम्मरमा सुकेका चिन्डा बाँधेर सुनकोसी तर्दा रहेछन् । सिमलको डुँड खोपेर डुङ्गा बनाउँदाको खुसी र साहसको कथा कति उल्लासपूर्ण रहेछ । दसैँ माघेसक्रान्ती जस्ता चाडबाडमा बोकाको बली दिँदा रहेछन् । ईश्वर खुसी पार्न पनि घर पालुवा जनावरको बली । घरमै बच्चा जन्माउने, सानैमा अरूको बच्ची मागेर आफ्नो बच्चालाई पत्नी बनाउने, उसबाट जन्मेका सन्तान आफ्नो थरमा रहने, विवाह सम्बन्धका लागि सजातीय चाहिने, सगोत्री नहुने, मृत्यु कर्ममा दानदातव्य दिएर मृतात्मालाई खुसी पार्ने, आदि आदि । तीन चार पुस्ताको जीवनचर्याको सानो इतिवृत्त सुनेर उ अचम्मित छ । त्यतिखेरको जीवन १ त्यो आदिम ‘फ्ल्यासब्याक’ पत्याऊ कि नपत्याऊ १

अब ऊ ‘फ्ल्यास फ्यूचर’ को मनोडायरी पल्टाउँछ । पच्चिसौ शताब्दीको जीवन । तेस्रो कोटिका असम्भवहरू सबै पूरा भएर त्योभन्दा माथिको असम्भव कुराहरू भकाभक पूरा हुदैछन् । मनले कल्पना के गरेथ्यो, परै पार्किङमा रहेको स्वचालित कार उसको अगिल्तिर आएर ठ्याक्क रोकियो, ऊ चढ्ने बित्तिकै गन्तव्यमा पु¥यायो । ट्राफिक अनुशासन पनि स्वचालित कार आफै जान्दछ । मन तरङ्गले नै कन्ट्रोल गर्ने प्रणालीका रूपमा पिजिएको छ । टायम मेशिनबाट रिएल टायममा जतासुकै पुग्ने प्रणाली जडित छ । पहिलो उ मेशिन अगि डिकम्पोज हुन्छ र गन्तव्य पुगेपछि रिकम्पोज भएर ओर्लिन्छ । फेरि अचम्मित छ । तर ज्ञान र प्रविधिको अचाक्लीले न पत्याइ रहन सकेन ।

हाते ग्याड्जेटबाट मनोरञ्जन । के के सिस्टम एप्लिकेशनबाट मनको कल्पना अनुसार खेल बनाइरहेको छ । चाहना अनुरूपको चित्रसँग गफिन्छ, मच्चिन्छ, रिसाउँछ, कराउँछ, खित्का छाडेर हाँस्छ, दा¥हा किट्छ । परेन फसाद ग्याड्जेट उससँग युद्ध गर्न पो तम्सियो । उसको सम्पत्ति, बैङ्क खाता, व्यक्तिगत अरुधेरै कुरा एक चोटि सखाप पार्देला भन्ने डरले माफी माग्छ र फेरि सहखेल शुरुहुन्छ ।

आज उसलाई सङ्गीत सुन्न मन लाग्यो । ब्रुनो मार्सका गीतहरू नारायण गोपालका स्वरमा, मेल्वादेवीलाई हिराना र शाकिराका गलामा । कति मीठा छन् स्वर, लय र ताल । मुर्चुङ्गा, मादल र सहनाइ चाहिएन, मनचिन्त्य ध्वनिका लागि एकै ग्याड्जेट काफी छ । कति मिलेका छन् स्थायी अन्तरा पनि १

कृत्रिम धातुका हलुका घरहरू । कोठा पनि निकै साना । वातानुकूलित कक्षहरू । आवश्यकता र उपयोगिता अनुसारको डिजाइन र साजसज्जा । घरका भित्ताहरूमा सौर्य खेतीका प्यानलहरू जडिएका छन् । भित्ताका ठाउठाउमा माइक्रो चिप्सको लेपन छ । आवश्यकता अनुसार आफै चल्ने किफायती प्रणालीले घरलाई प्रयोगशाला, रियाज केन्द्र, सिकाई स्थल, खेल मैदान र अरू धेरै बनाएको छ ।

उछिनापछिन तीव्र छ । के को उछिनापछिन ? जागिरका लागि, मानका लागि, प्रतिष्ठाका लागि ? उसका लागि यी सब कुरा बेअर्थी छन् । उसको प्रतिस्पर्धा फगत आविष्कारका लागि छ, नवप्रवत्र्तनका लागि छ । नयाँ खाद्यवस्तु बनाउनका लागि र अरू धेरै नयाँ गर्नका लागि । ऊ पूर्ण निर्वैयक्तिक बनिसक्यो । समाज निमानवीकृत र प्रणाली यान्त्रीकृत छ । सामुदयिकता र हार्दिकता भने कता हो कता ।

आज मासुको स्वादमा रमाउने मनमा छ मान्छे । स्पेस फार्मिङमा मासु फल्दैन, मासु वनस्पति होइन, जीवकोषहरुको सङ्ग्रह हो । तर विना जीवनको मासु बनाउदैछ मान्छे । भान्छाको डेक्चीमा रासायनिक प्रक्रियाबाट बनेको मासुमा स्वाद झनै बढी, कसैको ज्यान नै नलिई कन मासुको स्वाद लिनुको आनन्दै अर्को । हाड पनि छैन, वोसो पनि छैन, न रगत र छाला नै । स्वाद लिन कसैको हत्या पनि गर्नु परेन । भनेजस्तो स्वाद पनि पाइयो ।

मान्छे फेरि आफूलाई आफ्ना पुर्खासँग तुलना गर्छ । जिजु हजुरबुबा, बुबाआमाहरुले आफ्ना स्वादका लागि कति हत्या गरे होलान् । मनमनै हिसाब गर्छ, उनीहरूको लाइफ टाइम कन्जम्पसन कति भयो होला ? फेरि ग्याड्गेट अर्काइभ हान्छ र त्यो सङ्ख्या हेरेर एक्लै मनभरि रुन्छ–‘किन यत्तिका खसी–बोका काटेका होलान्’ ? बिचरा पशुहरू आफ्ना अधिकारका विषयमा बोल्न सक्थे भने मानव सत्ता पहिल्यै फालिसक्थे । सनहत्थाको हत्याको पराक्रम १

मनै त हो, इच्छा जाग्यो । उसलाई अरूले कसरी हेरिरहेका छन् ? उसप्रति अरूले कस्तो दृष्टिकोण बनाएका छन् ? श्रीमतीले के सोचेकी छन् ? फेरि नाडीमा जडित ग्याड्जेट मिलायो । ‘आहो, म बाँचेको विश्व त भ्रम रहेछ’ । उसले मन पराएका साथीहरूले पनि उसलाई मन पराउँदा रहेनछन् । प्रशंसा र प्रशस्तिका शब्द त फगत औपचारिकता पो रहेछन् । अरूका मनहरू ह्वात्तै उदारेर पढ्न पाएपछि ऊ निकै बेचैन छ । अब बाँच्नुको पनि अर्थ छैन । अर्को मनले उसलाई गाली गरिरहेछ, जीवनका केही रहस्य बाँकी नराखी किन त्यसरी सबै कुरा उदाङ्दो पारेको ? तिमीले दुःख नपाए कसले पाउने ?

मर्न मन लागेर हुन्छ र ? मर्नुको रहस्य के हो ? मानिस किन मर्छ ? के मानिस जैविक रूपमा मात्र मर्छ कि पुर्खाहरूले भने जस्तो आत्मिक रूपमा रुपान्तरित पनि हुन्छ ? मृत्यु जैविक क्रिया हो, कोशिकाहरू मक्किएर काम गर्न नसक्ने भएपछि नै मानिस मर्छ । उसो भए त्यसलाई सजिलै जित्न सकिन्छ । पोसाक परिवर्तन जस्तै कोषहरू रासायनिक–जैविक नवीकरण गर्न सकिन्छ । अनि त मर्नै परेन ।

तर बाँचे पनि जीवनको रहस्य के रह्यो र ? कति वर्ष बाँच्ने ? सबैको बचाइले पृथ्वी, अन्तरिक्ष सबै खचाखच हुनेछ । हो, बाँच्नु हुँदैन, मर्नुपर्छ । तर त्यो मरण स्वैच्छिक होस् । मृत्युले भने मानिसलाई जित्नु हुँदैन । ईश्वरलाई जितिसकेको मान्छे मृत्युबाट परास्त हुनु लाछी हो । तर मृत्युमा दुःख नहोस्, पीडा बोध पटक्कै नहोस् । एउटा कुरा मृत्युपछिको अनुभूति पक्रने थोरै समयका लागि चेत बाँकी राख्न पाए कत्ति मज्जा हुनेथ्यो १ के मान्छे त्यसो गर्न सक्ला ? यो तेस्रो भन्दा पनि माथिल्लो स्तरको असम्भव कुरा ।

फेरि पच्चिसाँै शताब्दीको ‘फ्ल्यास’ ले तान्छ । स्पेसमा घर, स्पेसमा खेती, स्पेसमै प्रयोगशाला, कार्यशाला सबै कुरा । तर त्यो स्पेसलाई मानव अतिक्रमणको झाडी हुनबाट कसरी जोगाउने ? अन्तरिक्षका अरू ग्रहतिर बस्ती बसाउँदा प्रविधि र लागतले कति सहमति देला ?

शासकीय व्यवस्था र लोकतन्त्रका आधारभूत मान्यता र विधिहरू पनि पुरै पनि बदलिए । प्रविधि र ज्ञानको लगातार विस्फोटले शक्ति संरचना, सहभागिता र सार्वभौमसत्ता सबै नै जीर्ण मात्र बनेन्, डेमोक्रेसी नै डिमार्कीबाट विस्थापित छ । कृषकहरू कृषि मन्त्री चुन्दैछन्, चिकित्सक र स्वास्थ्यकर्ताहरू स्वास्थ्य मन्त्री मतदाता बने । वैज्ञानिक र खोजकर्ताका प्रतिनिधि प्रविधि मन्त्री र अरू यस्तै सरोकारका पात्रहरू विषयगत मन्त्रालय नेतृत्व सुम्पिँदै छन् । कार्यकारी प्रमुख सबैको मतदाताको मतमा सबै प्रतिनिधिलाई संयोजन गर्छन् । नीतिमञ्चहरु नीति ग्राहीका भावना र सङ्केत टिप्न व्यस्त छन् । नियन्त्रण र जबाफदेहीताका स्वचालित संयन्त्र क्रियाशील छन् । चित्त नबुझे मतदाताहरू आफ्ना प्रतिनिधिलाई तत्काल प्रत्याह्वान गर्न सक्छन् । जुलुस, आन्दोलन, दाउपेचमा लाग्ने चासो र अर्थ कसैलाई छैन ।

फेरि पच्चिसौं शताब्दीको कल्पना गर्छ । निजत्वले सर्वस्व पाएको राज्यविहीन, देशविहीन, बेहद समाज । पराधीनताका सबै सिक्री चुडालिएर समग्र स्वतन्त्रताको समाज व्यवस्था, भन्ने गरिएको ‘पस्र्यूट अफ ह्याप्पिनेस’ बल्ल प्राप्त भो । राज्य र शासकले कहिल्यै पो समानता, न्याय, स्वतन्त्रता र समृद्धि दिएका थिए र ? प्लेटो, रुसो, र कार्ल मार्क्सले देखेमा भन्ने थिए ‘हामीहरूले खोजेको व्यवस्था यही हो’ ।

अचम्मको आवाज आएजस्तो, कुन्नि के हो त्रासले मान्छे अकमकियो, अल्मलिाय, खुत्रुक्क प¥यो । प्रणाली धान्ने एप्लिकेशन जलेर संसारै स्तब्ध छ । चङ्गा चुँडिए झैँ निरुपाय अलमलिएको मानव सत्ता । के पुनर्जागरण सम्भव छ ? बा मानव सत्ताको विनाश ?

–अस्तु–

(मैनाली निवास, क्षितिज नगर, शंखमूल)