अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४९ | Colorodo: 10:04

संसद् सचिवालयलाई प्रचण्ड–माधव समूहको पत्र – ‘ओली, नेम्वाङलगायतलाई कारबाही

बिआरटीनेपाल २०७७ फागुन २० गते ७:४४ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले सङ्घीय संसद् सचिवालयलाई प्रधानमन्त्री केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङलगायतलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरेको जानकारी गराएको छ । प्रचण्ड–माधव समूहका सांसदहरू देव गुरुङ, पम्फा भुसाल, सुरेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ र दिनानाथ शर्मालगायत नेता संसद् सचिवालय पुगी पार्टीले प्रधानमन्त्री ओलीलाई साधारण सदस्यबाट नै हटाएको पार्टीको निर्णयसम्बन्धी पत्र दर्ता गराएका हुन् । यस समूहले संसदीय दलको हैसियत रहने कुनै पनि कार्यलाई मान्यता नदिन पनि सङ्घीय संसद् सचिवालयलाई आग्रह गरेको छ ।

पत्रमा पार्टीको विधानअनुसार साधारण सदस्य तथा अध्यक्षबाट निष्कासन गरिसकेकाले संसदीय दलको नेताका रूपमा रहन नसक्ने भन्दै सम्बन्धित सबैको ध्यानाकर्षण गराइएको छ । पार्टीको निर्णयसम्बन्धी पत्र दर्ता गराएपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता देव गुरुङले संसदीय दलका नेताको सवाल भएकाले उहाँलाई साधारण सदस्य र अध्यक्षबाट हटाएकोबारे संसद् सचिवालयलाई लिखित जानकारी गराइएको बताउनुभयो ।

उहाँले भन्नुभयो, संसदीय दलका नेतासँगको कुरा भएकाले पार्टीको अध्यक्षबाट र साधारण सदस्यबाट पनि हटाइसकिएको अवस्था छ । मल्टी–पार्टी डेमोक्रेसीमा पार्टीकै नीति, निर्देशनअनुसार संसदीय दल चल्ने खालको विधि–विधान भएको हुनाले त्यहीअनुसार संसदीय दलमा पार्टीले गरेका निर्णयहरूको सम्बन्धमा ध्यानाकर्षण होस् भन्नका लागि पार्टीको तर्फबाट पत्र दर्ता गराइएको अवस्था छ ।

अध्यक्ष पुष्पकमल दाहालको हस्ताक्षर भएको ’जानकारी सम्बन्धी पत्रमा’ ‘असंवैधानिक रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको प्रतिनिधि सभा विघटनको निर्णयलाई सम्मानित सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै प्रतिनिधि सभा पुनर्स्थापित भइसकेको अवस्थाामा माथिका प्रकरणहरूमा उल्लेखित वस्तु तथ्यको विपरीत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तथा यसको सङ्घीय संसदीय दलको नाममा प्रधानमन्त्री केपी शर्मा ओली वा अरू कसैले गरेका वा गर्ने पत्राचार वा कुनै पनि काम कारबाहीलाई अनधिकृत भइ मान्य नहुने कुरा जानकारी गराउँछु’ भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू