अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२९ | Colorodo: 22:44

संघीय संसद प्रतिनीधिसभाका सांसद्हरुले एकमुष्ट तलब–भत्ता पाउँदै

बिआरटीनेपाल २०७७ फागुन १३ गते ७:३६ मा प्रकाशित

प्रतिनिधिसभा विघटन हुँदाको अवधिको तलब–भत्ता एवं अन्य सुविधा पनि सांसदहरुले पाउने भएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन खारेज गरेपछि पुस र माघको तलब–भत्तासहित अन्य पाउँदै आएको सेवा–सुविधा पाउने भएका हुन् । प्रतिनिधिसभाका प्रवक्ता रोजनाथ पाण्डेले सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि स्वतः सांसदहरुले पाउँदै आएको तलब–भत्ता एवं अन्य सेवा–सुविधा पाउने बताउनुभयो ।

फागुन महिनाको तलब सांसदहरुको खातामा जाँदा पुस र माघ महिनाको तलब–भत्ता र अन्य सेवा–सुविधावापतको रकम पनि सँगै जाने भएको छ । गएको पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएसँगै प्रतिनिधिसभाका सांसदहरुको तलब पनि रोकिँदै आएको थियो ।

प्रवक्ता पाण्डेका अनुसार एकजना सांसदको पारिश्रमिक मासिक ६४ हजार रुपैयाँ छ । त्यसबाहेक घरभाडा, सञ्चारलगायतका अन्य सेवा–सुविधा पनि सांसदहरुले पाउने उहाँले जानकारी दिनुभयो । हाल प्रतिनिधिसभामा २७५ सदस्य छन् । त्यसअनुसार मासिक एक करोड ७६ लाख रुपैयाँ प्रतिनिधिसभा सदस्यहरुले पारिश्रमिक मात्रै पाउँछन् । त्यसबाहेक घरभाडा, सञ्चार, यातायात, स्वास्थ्य उपचारलगायतका अन्य सेवा–सुविधा पनि पाउँदै आएका छन् ।

फागुन महिनाको तलब जाँदा पुस र माघ महिनाको पनि सँगै सांसदको बैंक खातामा तलब जान्छ । फागुन महिना पारिश्रमिक बुझ्दा एकजना सांसदले एक लाख ९२ हजार त पारिश्रमिकबाट मात्रै बुझ्नेछन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू