अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२८ | Colorodo: 07:43

पोखराको सराङकोटमा साहित्य महोत्सव हुने

बिआरटीनेपाल २०७७ पुष ९ गते ७:१७ मा प्रकाशित

नवौं संस्करणको नेपाल साहित्य महोत्सव २०२० पोखराको सराङकोटमा हुने भएको छ। पोखराको पर्यटकीयस्थल सराङकोट डाँडामा पुस १४ र १५ गते भर्चुअल रूपमा साहित्य महोत्सवको तयारी गरिएको साहित्य महोत्सवका निर्देशक अजित बरालले जानकारी दिनुभयो ।

असअघि पोखराको फेवाताल किनारमा साहित्य महोत्सव हुँदै आएको थियो। कोरोना भाइरसका कारण स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै महोत्सव आयोजक बुकवर्म फाउन्डेसनका सदस्य र अतिथिको मात्र सहभागितामा नेपाल साहित्य महोत्सव हुनेछ। दर्शक भर्चुअल रूपमा प्रत्यक्ष प्रसारणमार्फत जोडिने छन्। साहित्य महोत्सव युट्युबबाट प्रत्यक्ष प्रसारण गरिनेछ। कोरोना भाइरसको कारण साहित्य महोत्सव आयोजना गर्ने कि नगर्ने भन्ने अन्योलका बीचमा भर्चुअल रूपमा भए पनि महोत्सवलाई निरन्तरता दिने निर्णयमा पुगेको महोत्सवका निर्देशक बरालले बताउनुभयो ।

महोत्सवस्थल सराङकोट सूर्योदय सँगसँगै अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायतका हिमाली शृंखलालाई नजिकबाट नियाल्न प्रख्यातस्थल हो। सामान्य अवस्थामा यहाँ दैनिक २५ सयदेखि तीन हजार पर्यटक दैनिक पुग्ने स्थानीय पर्यटन व्यवसायी बताउँछन्। कोरोना भाइरसपछि विश्व पर्यटन बजार नै थला परेको अवस्थामा नेपालको पर्यटन उद्योग पनि मारमा परेको छ। कोरोना भाइरस संक्रमणपछि फेरि खुल्न थालेको पर्यटन उद्योगलाई साहित्य महोत्सवले जगाउन सहयोगी हुनेछ।

कोरोनाकै कारण विगतमा तीन दिनसम्म हुने साहित्य महोत्सव दुई दिन मात्र हुनेछ। महोत्वसमा झन्डै एक सय जनासम्म अतिथि वक्ता हुँदै आएकोमा यस वर्ष ४० जना अतिथि रहने साहित्य महोत्सवका कार्यकारी निर्देशक निरज भारीले जानकारी दिनुभयो ।

सन् २०११ मा काठमाडांैको झम्सिखेलस्थित ज्ञान मण्डलाको प्रांगणबाट सुरु भएको महोत्सव पोखराको फेवाताल किनार हुँदै यस वर्ष पोखराको सराङकोटमा हुन लागेको हो। पछिल्लो समयमा पोखरामा निरन्तर रूपमा हुन थालेपछि साहित्य महोत्सवकै लागि पनि साहित्यप्रेमी पोखरा आउन थालेका थिए। यस वर्ष भने कोरोनाका कारण भर्चुअल रूपमा महोत्सव हुने भएपछि दर्शक प्रत्यक्ष सहभागी हुन पाउने छैनन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू