अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०१ | Colorodo: 13:16

पशुपतिमा मंगलबार क्षमा पूजा गरिंदै , बुधबारदेखि मन्दिर खोलिने

बिआरटीनेपाल २०७७ मंसिर २९ गते ६:४३ मा प्रकाशित

विगत ९ महिनासम्म भक्तजनका लागि बन्द गरिएको पशुपतिनाथ मन्दिरमा मंगलबार क्षमा पूजा गरिने भएको छ । प्राचीनकालदेखि नियमित रुपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न बन्द गर्न बाध्य भएपछि क्षमा माग्न पूजा गर्न लागिएको हो ।

पशुपतिनाथ मन्दिर स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गते बुधबारदेखि खोल्न लागिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.प्रदीप ढकालले जानकारी दिनुभयो । पहिलो चरणमा पुस १ गतेदेखि मन्दिरको पश्चिम ढोकाबाट भक्तजन प्रवेश गराई दर्शन गराएर सोही ढोकाबाट नै बाहिर निस्कने व्यवस्था गरिएको छ । मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने छ ।

लामो समयपछि मन्दिर खोल्न लागिएको र कोरोनाको त्रास कायमै रहेकाले पशुपति क्षेत्रमा विशेष सुरक्षा सतर्कता अपनाउन लागिएको कोषले जनाएको छ । यसका लागि सबै सुरक्षा निकायलाई राखेर बैठक गरिएको कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिनुभयो ।

चैतदेखि नै पशुपति क्षेत्रमा धार्मिक पर्यटक समेत गएका छैनन् । मन्दिर नखुल्दा फूल प्रसाद बेच्न राखिएका पसलपनि ९ महिनादेखि बन्द छ, जसबाट कोषलाई करिब ७० करोड घाटा लागेको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू