अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३९ | Colorodo: 11:54

“पुष १८ गतेभित्र संसद अधिवेशन आव्हान हुन्छ” – सभामुख सापकोटा

बिआरटीनेपाल २०७७ मंसिर २८ गते ७:११ मा प्रकाशित

सभामुख अग्निप्रसाद सापकोटाले पुष १८ गतेभित्र संघीय संसदको हिउँदे अधिवेशन बोलाउनै पर्ने बाध्यता भएकाले संसद सचिवालयले आफ्नो तयारी गरिरहेको बताउनुभएको छ । आइतबार १४ औं संघीय संसद् सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले संवैधानिक बाध्यता भएअनुसार पुष १८ गतेभित्र संसद अधिवेशन आव्हान हुने बताउनुभयो ।

सभामुख सापकोटाले अबको अधिवेशन नयाँ ढंगले क्रमभंग गरेर चलाउनुपर्ने बताउनुभएको हो । कोभिड–१९को संक्रमणका कारण संसद अधिवेशन प्रभावित हुन नदिन पनि संसद सचिवालयले विशेष तयारी गरिरहेको सभामुख सापकाटाको भनाई छ । उहाँले परम्परागत रुपमा संसद चलाउन सम्भवन नभएकोले केही रुपान्तरण गर्नुपर्ने संकेत समेत गर्नुभएको छ ।

कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोभिडका कारण बन्द रहेको संसद र समितिका बैठकहरु सधैबरी रोकेर बस्न नहुने बताउनुभयो । कोभिडको यो स्थिति कहिले सम्म जान्छ थाहा नभएकाले स्वास्थ्य मापदण्डलाई पालना गर्दै बैठक चलाउनुपर्ने उहाको भनाई थियो । कार्यक्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्री डा.शिवमाया तुम्बाहाङफेले संघीय संसद सेवामा रहेका कर्मचारीहरुको कानून निर्माणमा महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

संघीय संसद सचिवालयलले विभिन्न कार्यक्रम आयोजना गरी ‘१४ औं संघीय संसद सेवा दिवस–२०७७’ मनाएको हो । २०५८ मंसिर २८ गते संसद सेवालाई निजामति सेवाबाट अलग गरी संसद सेवा ऐन जारी भएको दिनको अवसर पारेर २०६३ मंसिर २८ गते देखि संसद सेवा दिवस मनाईदै आएको छ । २०५८ देखि २०६३ को बीचमा संसद नै नरहेको कारण संसद सेवा दिवस मनाइएको थिएन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू