अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१६ | Colorodo: 08:31

“मस्जिदहरु धार्मिक सहिष्णुता र सद्भावका नमुना हुन्” – पर्यटनमन्त्री भट्टराई

बिआरटीनेपाल २०७७ मंसिर २७ गते ६:४० मा प्रकाशित

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मस्जिदहरु धार्मिक सहिष्णुता र सदभावको नमुना भएको बताउनुभएको छ । आज काठमाण्डौको घण्टाघरमा रहेको पञ्च काश्मिरी तकिया निरीक्षण गर्दै मन्त्री भट्टराईले राजधानीको केन्द्रमा नारायणहिटी दरबारको दुई सय मिटर नजिक रहेको मस्जिद नेपालको धार्मिक सहिष्णुता तथा सद्भावको नमुनाको रुपमा लिनुपर्ने बताउनुभएको हो ।

मन्त्री भट्टराईले अन्य देशमा धेरै धार्मिक युद्ध भएको तर नेपालमा अरु राजनीतिक आन्दोलन भएपनि धार्मिक आन्दोलन नभएको बताउदै सबैखालका संस्कृति भएकोले हिन्दूको संस्कृति बौद्धले, बौद्धको संस्कृति हिन्दूले तथा एकले अर्काको धर्म संस्कृति मनाउने विश्वमा नेपाल एक छुट्टै पहिचान भएको देश भएको बताउनुभयो ।

मन्त्री भट्टराईले जनसंख्या थोरै धेरै भएपनि सरकार सबैको भएको बताउँदै संविधानमा नै नेपालमा प्रचलित रहेको धर्म संस्कृति संरक्षण सम्बर्द्धन गर्ने दायित्व राज्यको भएको उल्लेख गर्नुभयो । मन्त्री भट्टराईले पहिलो पटक मस्जिदको लागि बजेट विनियोजन गरेको बताउँदै पाँच सय वर्ष पुरानो पञ्च काश्मिरी तकिया संरक्षण सम्बर्द्धन गर्ने काम सरकारको भएको बताउनुभयो । उहाँले भारतको बाबरी मस्जिद भन्दा पुरानो मस्जिद भएको उल्लेख गर्दै सरकार तपाईंको पनि हो भन्ने अनुभूति दिलाउन पर्यटन मन्त्रालयले ४० लाख रकम विनियोजन गरेर काम शुरुवात गरेको उल्लेख गर्नुभयो ।

उहाँले मदरसा शिक्षालाई औपचारिक शिक्षाको रुपमा मान्यता दिई सकेको बताउँदै मदरसामा शिक्षा लिने बालबच्चाहरुलाई अहिलेका आधुनिक प्रविधि मैत्री बनाउदै प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिनुभयो । मन्त्री भट्टराईले काठमाण्डौका कुनै पनि स्थानमा सय वर्ष सम्म हुने गरी स्थायी खालको कपुरस्थान बनाउन जग्गा खोजी गर्न आग्रह गदै निर्माणको लागि सरकारले सहयोग गर्ने समेत बताउनुभयो ।

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मुस्लिम समुदायको उत्थान र विकासको सरकारले रकम विनियोजन गरेपछि मुस्लिम समुदायमा खुशियाली छाएको बताउदै सवै समुदायलाई समेटेर अगाडि बढेमा सरकारको समृद्ध नेपाल सुखी नेपालीको नारा साकार हुने बताउनुभयो ।

त्यस्तै पुरातत्व विभागमा महानिर्देशक दामोदर गौतमले १५ औ शताब्दीमा निर्माण भएको यो मस्जिद नेपालको पुरानो मस्जिद भएको उल्लेख गर्दै राजा रत्न मल्लले ब्यापारको शिलशिलामा भारतको काश्मिरी मुसलमान नेपाल भित्रिएको र पछि प्रताप मल्लको पाला देखि यो मस्जिद अस्तित्वमा आएको उल्लेख गर्नुभयो ।

त्यस्तै काश्मिरी मस्जिदका अध्यक्ष महमद फाजिलले देशी विदेशी कसैको पनि सहयोग हाल सम्म नलिएको बताउँदै मल्लकाल पछि सरकारले दिएको सहयोग पहिलो पटक लिएको बताउनुभयो । विनियोजित रकमले स्टीलको गेट हटाएर परम्परात गेट निर्माण गर्ने रङ्ग रोगन गर्ने २०६१ सालमा क्षतविक्षत् भएको संरचना निर्माण गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू