अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२९ | Colorodo: 10:44

पाइलटले फूल टिपेर प्यासेन्जरलाई दिन खोज्दा पोखरामा प्याराग्लाइडिङ दुर्घटना

बिआरटीनेपाल २०७७ मंसिर २७ गते ६:३९ मा प्रकाशित

पोखरामा मंसिर ८ गते भएको प्याराग्लाइडिङ दुर्घटना पाइलटकै लापरबाहीका कारण भएको नेपाल हवाई खेलकूद संस्था एनएएले जनाएको छ । दुर्घटनापछि नेपाल नागरिक उड्यन प्राधिकरणले एनएएलाई दुर्घटनाका बारेमा जवाफ मागेको थियो । झण्डै दुई दशकदेखि प्याराग्लाइडिङको क्षेत्रमा क्रियाशील रहेको एनएएले पछिल्लो दुर्घटनामा प्यारा पाइलट नै दोषी भएको निष्कर्षसहितको प्रतिवेदन प्राधिकरणलाई बुझाएको छ । एनएएका उपाध्यक्ष नारायणप्रसाद पराजुलीको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन समितिले दुर्घटनाका विभिन्न पक्षको प्रक्रियागत अध्ययन गरी बुझाएको प्रतिवेदनको अन्तिम निष्कर्षमा ‘पछिल्लो समयमा विकसित भएको अतिरिक्त गतिविधिमध्येको फूल टिपी प्यासेन्जरलाई दिन खोज्दा देब्रे हातको ब्रेक छुट्न गएको र ग्लाइडर असन्तुलित हुँदा स्पिन भएको र स्पीडमा झरी दुर्घटना भएको’ उल्लेख गरिएको छ ।

त्यसैगरी प्राधिकरणबाट आठजना प्यारा पाइलटहरु नियम विपरीतको गतिविधिमा संलग्न भएको भन्ने पत्र संस्थामा आएको पराजुलीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्राधिकरणले सुरक्षा विपरीत गतिविधिमा संलग्न भएका आठ प्यारा पाइलटको नामसमेत पठाएको छ, उहाँहरु प्राधिकरणमा उपस्थित भएर आफ्नो जवाफसमेत दिइसक्नुभएको छ ।”

पराजुलीले प्राधिकरणको छानबिन प्रतिवेदन आएपछि मात्र अन्य थप कुरा थाहा हुने बताउनुभयो । मङ्सिर ८ गते पोखरामा फिष्टेल नेपालको प्याराग्लाइडिङ दुर्घटनाको छानबिन गर्न तीन सदस्यीय समिति पनि गठन गरिएको छ । कोभिड–१९ का महामारीबीच पनि आन्तरिक पर्यटकले निकै रुचाएको प्याराग्लाइडिङ उडानमा अनुभवी प्यारा पाइलट राजु गैरेको ज्यान गएपछि दुर्घटनाको सत्यतथ्य बुझ्न छानबिन समिति गठन गरिएको हो ।

प्राधिकरणका एयर ट्राफिक सर्भिस अफिसर अनुप जोशीको संयोजकत्वमा प्याराग्लाइडिङ पाइलट दीपक थापा र प्राधिकरणका अधिकृत देवराज सुवेदी सदस्य रहने गरी छानबिन समिति गठन गरेको हो । समितिले ३० दिनभित्र प्राधिकरणलाई प्रतिवेदन पेश गर्नेछ ।

नागरिक उडड्यन प्राधिकरणअन्तर्गत छानबिन समितिका सदस्यसचिव सुवेदीले उडानको समयमा नियम विपरीतका गतिविधिमा संलग्न केही पाइलट छानबिनमा तानिएको बताउनुभयो । प्राधिकरणअन्तर्गत दुर्घटनाको छानबिनसँगै नियम विपरीतका गतिविधि भइरहेको सन्दर्भमा पनि छानबिन भइरहेको छ ।

सुवेदीले छानबिनमा भएका पाइलटले तत्काल उडान गर्न नमिल्ने जनाउँदै कस्तो खालको कार्वाही हुन्छ भन्ने प्रतिवेदन सार्वजनिक पछि मात्र थाहा हुने बताउनुभयो । उहाँका अनुसार प्राधिकरणले आगामी पुसको १० गते प्रतिवेदन सार्वजनिक गर्नेछ । हवाई खेलकूद संस्था २०५९ मा स्थापना भएको र २०७५ साल चैतबाट नागरिक उड्डयन प्राधिकरणले एनएएलाई अनुगमन, लाइसेन्स वितरण र नवीकरण गर्ने अधिकार प्रदान गरेको हो । पोखरामा प्याराग्लाइडिङ उडान अनुमति लिएका ३३८ प्यारापाइलट छन् जसमा १२ महिला छन् । पोखरामा ६१ प्याराग्लाइडिङ कम्पनी छन् भने एक अर्ब रुपैयाँ बढीको लगानी रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू