अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३८ | Colorodo: 10:53

श्रमिक र रोजगारदाताबीच समन्वयमा जोड

बिआरटीनेपाल २०७७ मंसिर २२ गते ६:३८ मा प्रकाशित

कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रलाई माथि उठाउन उद्योग र श्रमिकहरुबीच समन्वयको आवश्यकता रहेको सरोकारवालाहरुले बताएका छन् ।कोभिड–१९ का कारण रोजगारी र औद्योगिक क्षेत्रको सम्बन्धमा परेको असरसम्बन्धी अन्तरक्रियामा सरोकारवालाहरुले विपद्को अवस्थामा श्रमिक र रोजगारदाताबीच समन्वय गरेर अगाडि बढ्नुको विकल्प नभएको बताएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष रामचन्द्र संघाईले रोजगारी गुमाएकालाई पुनः रोजगारीमा फर्काउन चुनौती भएको बताउनुभयो ।पर्यटन, रेस्टुरेन्ट, साना तथा मझौला उद्योगलाई पुरानै अवस्थामा फर्काउन अझै दुई–तीन वर्ष लाग्ने भएकाले रोजगारी फर्काउनसमेत चुनौती देखापरेको उहाँले बताउनुभएको हो ।ट्रेड युनियन कांग्रेसका कार्यवाहक अध्यक्ष महेन्द्र यादवले श्रमिक र उद्योगबीचको सम्बन्ध सुधार्नुपर्ने अवस्था आएको बताउनुभयो ।

कोभिडका कारण उद्योग र श्रमिक दुवैलाई समस्या परेको अवस्थामा मिलेर समस्याको समाधान गर्नुको विकल्प नरहेको पनि यादवले बताउनुभयो ।अखिल नेपाल ट्रेड युनियन महासंघका उपाध्यक्ष धनबहादुर विकले देशको लागि उद्योग, कलकारखाना चाहिएको हो भने श्रमिकका समस्या सबैभन्दा पहिला समाधान हुनुपर्ने बताउनुभयो ।अहिलेपनि उद्योग लगानीकर्ताको मात्रै हो भन्ने सोच राख्ने हो भने समस्या उत्पन्न हुने उहाँले बताउनुभयो ।

कोरोनाका कारण उद्योग–व्यवसाय पुरानै लयमा सुचारु हुुन नसक्दा करिब १५ लाख रोजगारी गुमेको अनुमान गरिएको छ । यस्तै, वैदेशिक रोजगारीबाट डेढ लाख बढी युवाहरु स्वदेश फर्किएका छन् । त्यसैले पनि रोजगारी संकट समाधान गर्नका लागि श्रमिक, उद्योग र सरकारबीच समन्वय हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू