अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४८ | Colorodo: 07:03

‘पीसीआर’ रिपोर्ट फरक पर्दा निगम बारम्बार समस्यामा

बिआरटीनेपाल २०७७ मंसिर २२ गते ६:२१ मा प्रकाशित

‘पीसीआर’ रिपोर्ट फरक पर्दा नेपाल वायुसेवा निगम बारम्बार समस्यामा पर्दै आएको छ ।पछिल्लोपटक निगमको जहाजबाट हङकङ पुगेका पाँचजनामा कोरोना ‘पोजिटिभ’ पाइएसँगै हङकङले दुई साताका लागि उडान प्रतिबन्ध गरेको छ । यसले निगमलाई करोडौंको क्षति भएको छ । नेपालबाट कोरोनाको ‘नेगेटिभ’ रिपोर्ट लिएर नेपाल वायुसेवा निगमको जहाजबाट हङकङ गएका यात्रुमा कोरोना पोजिटिभ पाइएपछि हङकङमा निगमले दुई साता उडान गर्न नपाउने भएको छ ।

कोरोनाको रिपोर्टका कारण पटक–पटक उडान रोकिन थालेपछि निगमले सरकारी प्रयोगशालाबाटै परीक्षण सुरु गरेको थियो ।तर, सरकारी प्रयोगशालाबाटै परीक्षण गर्दासमेत यो समस्या दोहोरिरहनाले परीक्षण र प्रयोगशालामाथि प्रश्न त उठ्ने नै भयो, सम्बन्धित यात्रु पनि सचेत हुनुपर्ने देखिएको छ । पटक–पटक यस्तो समस्या देखिएपछि गत मंसिर १५ गतेको निगम बोर्ड बैठकले निजी प्रयोगशालाबाट नभइ सरकारी प्रयोगशालाबाटमात्रै कोरोना परीक्षण गर्न सुरु गरेको थियो ।तर, फेरि गत शुक्रबार सरकारी ल्याबबाटै परीक्षण गरिएका पाँचजना यात्रुमा हङकङ पुगपेछिको टेस्टमा पोजिटिभ पाइएपछि हङकङ सरकारले उडानमा पुनः रोक लगाएको हो ।

हङकङमा संक्रमण रोक्नका लागि त्यहाँको सरकारले जुनसुकै मुलुकबाट गएका नागरिकको पनि कोरोना परीक्षण गर्ने र दुई हप्ता ‘क्वारेन्टिन’मा अनिवार्य बस्नैपर्ने व्यवस्था गरेको छ ।नेपालमा यात्रुको पीसीआर परीक्षण गर्दा नेगेटिभ आउने तर हङकङ पुगेपछिको परीक्षणमा भने पोजिटिभ आउने गरेको समस्या चारपटक दोहोरिसकेको छ ।

यस्ता कारणले निगमले हालसम्म नौ करोड हाराहारीमा क्षति व्यहोरिसकेको निगमले जनाएको छ ।तर, भाइरोलोजिस्टहरु भने कतिपय ‘केस’मा स्वाब दिएपछि संक्रमित हुने सम्भावनाले पनि यस्तो समस्या आउन सक्ने बताउँछन् । यस्तो समस्या जापान र दुबईमा पनि देखिएको थियो । तर, त्यहाँको सरकारले भने सचेतमात्र गराएकोले घाटा व्यहोर्नुनपरेको र राष्ट्रिय स्वाभिमानमा पनि आँच नआएको निगमले जनाएको छ ।

प्रतिक्रिया