अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१८ | Colorodo: 07:33

नेपाल–भारत सम्बन्ध सहकार्यमुखी हुनुपर्छः भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला

बिआरटीनेपाल २०७७ मंसिर १२ गते १:०६ मा प्रकाशित

नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले नेपाल भारत सम्बन्ध सहकार्यमुखी हुनुपर्नेमा जोड दिनुभएको छ ।काठमाडौंमा गरिएको अन्तरक्रियामा श्रृंगलाले नेपाल र भारतका पुस्ताप्रति हामी जवाफदेही छौं भन्दै भन्नुभयो, ‘घनिष्ट मित्रको रुपमा सँगै काम गर्नुपर्छ ।’एशियन इनष्टिच्यूट अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल अफेयर्सले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा केहीबेर नेपालीमै सम्बोधन गर्दै श्रृंगलाले नेपालजस्तो सुन्दर देशमा विदेश सचिवका हैसियतमा भ्रमण गर्न पाउनु सौभाग्य भएको उल्लेख गर्नुभयो ।

कोरोना महामारीमा पनि दुबै देश सँगै रहेको र मिलेर लड्नुपर्नेमा जोड दिँदै उहाँले भारतले कोरोना खोपका लागि काम गरिरहेकाले खोप आउने बित्तिकै नेपालको आवश्यकता पूरा गर्न प्राथमिकता दिने बचन दिनुभयो ।भारतमा पाँच वटा कोरोना खोपको अनुसन्धान भइरहेको जानकारी दिँदै उहाँले भारत संसारकै ठूलो खोप उत्पादक भएकाले कुनै खोपले स्वीकृति पाउनासाथ उत्पादन हुने खोपमा नेपालको आवश्यकतालाई प्राथमिकता दिने बचन उहाँको थियो ।

भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले राष्ट्रिय सपना पूरा गर्न नेपाल र भारतलाई एकार्काको आवश्यकता पर्ने पनि बताउनुभयो ।भारतले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वमा नयाँ भारतको सपना देखिरहेको भन्दै उहाँले आधुनिक र मध्यम आए भएको मुलुक बनाउने भारतको सपना रहेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले भारतमा मात्र होइन परपरसम्म हेरेर सपना देखिरहेका छौं । हामी यो सपनालाई वास्तविकतामा बदल्न निरन्तर मेहनत गरिरहेका छौं र नेपालका मित्रहरूलाई हाम्रो यात्राको हिस्सा बनाउन चाहन्छौं । हामी यो एक्लै गर्न सक्दैनौं जसरी तपाईंहरू आफ्नो सपना एक्लै पूरा गर्न सक्नुहुन्न । हाम्रो क्षेत्रमा, दक्षिण एशियामा, हामी एक–अर्कामा निर्भर छौं, एक–अर्कालाई चाहिन्छौं ।’

नेपालको जलविद्युत दक्षिण एशियामै क्लिन इनर्जीका लागि गेम चेन्जर हुने भन्दै श्रृंगलाले भारतको बजार नेपाली कम्पनीहरूका लागि सधैँ खुला रहेको बताउनुभयो । बिहीबार नेपाल आउनुभएका विदेशसचिव श्रृंगलाले राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री, प्रमुख विपक्षी दलका नेता, परराष्ट्रसचिवलगायतसँग उच्चस्तरीय भेटघाट वार्ता गर्नुभएको थियो । गोरखा र मनाङ पुगेर भारतीय सहयोगमा पुनर्निर्मित विद्यालय, निजी घर र गुम्बा उद्घाटन गरी उहाँ आजै नयाँदिल्ली फर्कनुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू