अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०७ | Colorodo: 08:22

बालिका हत्या प्रकरण – महोत्तरीमा तेस्रो दिन पनि प्रदर्शन, नगरपालिकाद्वारा राहत रकमको घोषणा

बिआरटीनेपाल २०७७ मंसिर ११ गते ६:१६ मा प्रकाशित

चार बुँदे सहमतिपछि बिहीबार बिहानदेखि महोत्तरीको बर्दिवासमा जनजीवन सामान्य बने पनि दिउँसोदेखि फेरि प्रदर्शन भएको छ ।बालिका हत्याको विषयलाई लिएर विरोध स्वरूप तेस्रो दिन पनि महोत्तरीमा प्रदर्शन भएको हो, स्थानीय बासिन्दाले बर्दिवासमा टायर बालेर प्रदर्शन गरेका हुन् । बजार, शिक्षण संस्था, उद्योगहरू बिहीबार पनि खुल्न सकेनन् । सम्सी र गौशालामा पनि प्रदर्शन भएको छ ।

बर्दिवास नगरपालिकाको कार्यालयले प्रेस विज्ञप्ति निकालेर मृतक बालिका र गोली लागेर ज्यान गुमाएका दुवै घटनाका पीडित परिवारलाई राहत उपलब्ध गराउने जनाएको छ । नगरपालिकाले मृतकका परिवारलाई दुई लाख ५० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ ।प्रहरीको गोली लागेर ज्यान गुमाएका बुद्धिराज न्यौपानेको परिवारका एक जना सदस्यलाई क्षमताको आधारमा रोजगारीसमेत उपलब्ध गराउने नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले बताउनुभयो ।

गएको मङ्सिर ७ गते बेलुकादेखि हराइरहेकी ६ वर्षीया बालिकाको शव मङ्सिर ८ गते मध्यरातमा फेला परेको थियो । मङ्सिर ९ गते बालिकाको हत्याको विरोधमा प्रदर्शनका उत्रिएका बर्दिबास १ का ४२ वर्षीय सञ्जय भनिने बुद्धिराज न्यौपानेको प्रहरीले चलाएको गोली लागेर उपचारको क्रममा ज्यान गएको थियो । बालिकाको बलात्कारपछि हत्याको आरोपमा गौशाला नगरपालिका ५ का अरुणकुमार साहलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू