अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४० | Colorodo: 23:55

“परिस्थिति गम्भीर छ, तर समाधानहीन छैन” – नेकपा अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७७ मंसिर ५ गते ५:५७ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रको अवस्था गम्भीर रहे पनि समाधानहीन नभएको बताउनुभएको छ ।पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज पत्रकारहरुसंग कुराकानी गर्दै उहाँले अध्यक्ष प्रचण्डले पार्टी गम्भीर अवस्थामा रहे पनि समस्या समाधान गर्न सकिने स्पष्ट पार्नुभएको हो ।

‘पार्टीभित्रको विवाद देखिराख्नुभएको छ, म धेरै बोल्न मिल्दैन, तर परिस्थिति गम्भीर भएपनि समाधानहीन भने छैन,’ प्रचण्डले भन्नुभयो । पार्टी विवाद उत्कर्षमा पुगेका बेला प्रचण्डले शुक्रवार नै महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङसँग धुम्बाराहीमा छुट्टा–छुट्टै छलफल गर्नुभएको छ । पौडेलसँगको भेटपछि प्रचण्डलाई भेट्न नेम्वाङ पार्टी कार्यालयमा पुग्नुभएको थियो । प्रचण्डसँग शुक्रवार भएको भेटपछि पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै महासचिव पौडेलले परिस्थिति धेरै गम्भीर रहेको बताउनुभएको थियो ।

‘परिस्थिति धेरै गम्भीर छ,’ पत्रकारहरूहरुसंग पौडेलले भन्नुभयो । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई प्रचण्डले लेखेको पत्र र पेश गरेको राजनीतिक दस्तावेजका कारण नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ । ओली पक्षले सो प्रस्ताव फिर्ता लिन प्रचण्डसँग आग्रह गरेको छ ।

बुधवार बसेको नेकपा सचिवालय बैठकमा अध्यक्ष ओलीले मंसिर १३ गते बस्ने सचिवालय बैठकमा प्रचण्डको आरोपको जवाफ दिने बताईसक्नुभएको छ । प्रचण्ड र महासचिव पौडेल भेट गर्दैगर्दा पार्टी कार्यालयमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले पनि कार्यकर्तासँग भेटवार्ता गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू