अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४४ | Colorodo: 21:59

नर्थ क्यारोलाइनमा ११२ औँ देवकोटा जयन्ती तथा तिहार कार्यक्रम भर्चुअल सम्पन्न

बिआरटीनेपाल २०७७ मंसिर ३ गते ७:५८ मा प्रकाशित

नर्थ क्यारोलाइना नेपाली साहित्य समाज, अनेसास नर्थ क्यारोलाइना च्याप्टर तथा नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना(एनसी एनसी)को आयोजनामा ११२ औँ देवकोटा जयन्ती तथा तिहार कार्यक्रम भर्चुअल सम्पन्न भयो ।

दुई चरणमा विभाजित उक्त कार्यक्रमको पहिलो चरणमा नेपाली साहित्यमा महाकवि लक्ष्मी प्रसाद देवकोटाको योगदानको चर्चा गरियो । महाकवि देवकोटाको फोटोमा माल्यार्पण गर्दै सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाकी महासचिव निर्मला राजभण्डारी गर्नुभएको थियो भने उपस्थित महानुभावहरूको स्वागत एनसी एनसीका अध्यक्ष रवीन्द्र कार्कीले गर्नुभएको थियो । उक्त कार्यक्रममा संस्थाका सल्लाहकार ईश्वर देवकोटाले कर्म नै हाम्रो धर्म हो भन्ने महाकवि पछि विभिन्न लेखहरू मार्फत आस्तिक भएको कुरा बताउनुको साथै भारतको कान्यकुब्जबाट उत्पत्ति भएका भारद्वज गोत्रीहरु नेपाल बसाइ सरेपछि अछाम जिल्लाको देउकोट आएर बसोबास गरेका र रहँदै बस्दै पछि देवकोटा भएको कुरा बताउन भयो ।

यस्तै अर्का वक्ता डा. हरिहर भट्टराईले महाकवि देवकोटाले संवेदना, दुख र सुखलाई मात्र आफ्नो लेखनमा प्रयोग नगरेर विज्ञानलाइपनि प्रयोग गरेकाले उनमा विज्ञानको ज्ञान पनि उत्तिकै भएको कुरा जानकारी गराउनुको साथै उनले पागल कविता लेख्नुको पछाडि आफ्नै पिडा, तत्कालीन बुद्दिजिबिहरुबाट पाएको घृणा, तिरस्कार रहेका थिए जसको परिणाम पागल कविता जन्मिएको हो भन्नु भयो ।

स्थानीय कलाकार विरोध तिमल्सिनाले महाकवि देवकोटाको “कुन मन्दिरमा जान्छौ यात्री” तथा अर्को राज्यबाट जोडिनुभएका डा.सुमनलाल श्रेष्ठले
मुनामदनका केही अंशहरू गाएर उपस्थित माहोललाइ देवकोटामय बनाउनु भएको थियो ।

कार्यक्रमको दोस्रो चरणको सुरुवातमा नेपाली पाठशालाका साना भाइहरू सुप्रिम तिमल्सिना र निर्विरोध तिमल्सिनाले देउसी भैलो भट्याएर उपस्थित सबैलाई एकपल्ट घर पुर्‍याएका थिए । तिहार झल्काउने विभिन्न गीत र कविताहरूले उपस्थित सबैका मनमा तिहार ल्याइदिन सफल भएका थिए । गीत गाउने कलाकारहरू गीतिका पराजुलीले “दियो बाली साँझको, फूल सजाइ पूजाको” बोलको गीत गाउनुभएको थियो भने भरत श्रेष्ठले “हिमचुलीमा घाम लाग्यो घमाइलो, आफ्नै गाउँ आफ्नै ठाउँ लाग्छ नि रमाइलो” भन्ने बोलको गीत गाउनुभएको थियो ।

नम्रता गुरागाईंको अध्यक्षतामा सुरु भएको कार्यक्रममा एनसी एनसीकी बिओटी प्रमुख अन्नपूर्ण देऊ, नेपारिदमका अध्यक्ष अशोक खनाल तथा एन आर एन नर्थ क्यारोलाइनाका अध्यक्ष कुलानन्द शर्माले तिहारको शुभकामना दिनुभएको थियो भने संस्थाका सल्लाहकार डा. नारायण राजभण्डारीले तिहारको शुभकामना दिदैं डा.अच्युत शर्माको “धर्ती टेकी आकाश हेरी” भन्ने गीतले मान्छेलाई आफूले टेकेको ठाउँ बिर्सन नहुने सन्देश दिएको कुरा बताउँदै उक्त गीतलाई यु ट्युबबाट प्रस्तुत गर्नु भएको थियो । यस्तै ददिन पाण्डेले देउसी गीत प्रस्तुत गर्नुभयो । कविता, गजल तथा मुक्तक वाचन गर्नेहरुमा संस्थाका सल्लाहकार नगेन्द्र न्यौपाने, निवर्तमान अध्यक्ष शिखर दुलाल, दीपेन्द्र विष्ट, रमेश गौतम, भगवती न्यौपाने, ऋषि बस्ताकोटी, महेन्द्र न्यौपाने, ईश्वर देवकोटा, अच्युत शर्मा, ददिन पाण्डे, नारायण देऊ र नम्रता गरागाईं हुनहुन्थ्यो ।

प्रतिक्रिया