अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४५ | Colorodo: 18:00

अन्ततः प्रचण्डलाई बादलको साथ, ओली थप अल्पमतमा

बिआरटीनेपाल २०७७ कार्तिक २९ गते ५:५३ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ९ सदस्यीय केन्द्रीय सचिवालयमा अध्यक्ष केपी शर्मा ओली थप अल्पमतमा पर्नुहुने भएको छ । ओली पक्षमा उभिदै आउनुभएका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापाले पनि अन्ततः ओलीको साथ छोड्ने भएपछि ओलीको नेतृत्व थप संकटमा पर्ने देखिएको छ ।

पछिल्लो समय कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाउनुभएका बैठकहरुमा अनुपस्थित रहँदै आउनुभएका गृहमन्त्री थापाले निर्णाय मोडमा अध्यक्ष प्रचण्डलाई नै साथ दिने बताउनुभएको स्रोतको भनाइ छ । भूमिगत कालदेखिनै सहकार्य गर्दै आउनुभएका अध्यक्ष दाहाल र गृहमन्त्री थापाबीच शुक्रबार डेढ घण्टा लामो छलफल भएको हो ।

शुक्रवार बालुवाटारमा सचिवालय बैठक बस्नुअघि गृहमन्त्री थापा आफैं खुमलटार पुग्नुभएको थियो । डेढ घण्टा लामो छलफलमा नेता थापाले आफू अहिले मन्त्रिपरिषदमा रहेकोले खुलेर दाहालको पक्षमा उभिन अफ्ठ्यारो भएको बताउदै निर्णायक मोडमा आफू अध्यक्ष दाहालकै पक्षमा उभिने आश्वासन दिनुभएको स्रोतको भनाइ छ । सचिवालय सदस्य थापा अहिले नेकपाको ध्रुवीकृत राजनीतिमा अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिदै आउनुभएको छ ।

अध्यक्ष दाहालले मन्त्रिपरिषदबाट गृहमन्त्री थापालाई हटाउन चाहेको भन्ने खबर सार्वजनिक भैरहेका बेला दुई नेताबीच भेटवार्ता भएको हो । छलफलका क्रममा बालुवाटारबाट फैलाइएको त्यस हल्लामा कुनै सत्यता नभएको भन्दै अध्यक्ष दाहालले हल्लाको विश्वास नगर्न थापालाई आग्रह गर्नुभएको थियो ।

पूर्वमाओवादीमा रहँदा दाहाल र थापाबीचको बलियो सहकार्य भए पनि पछिल्लो समय भने दुरी बढेको आशंका गरिदै आएको छ । त्यही आशंकाकैबीच अध्यक्ष दाहालले पार्टी मुख्यालय धुम्बाराहीमा आयोजना गरेका तीन अनौपचारिक केन्द्रीय सचिवालय बैठकमा थापा अनुपस्थित रहनुभएको थियो । तर कार्तिक १६ गते खुमलटारमा भएको ओलीसँगको असन्तुष्ट समूहको भेलामा भने उहाँको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू