अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४३ | Colorodo: 12:58

“भारतलाई कसैले उक्साए त्यसको ’कडा दिवाफ’ दिन तयार छ” – नरेन्द्र मोदी

बिआरटीनेपाल २०७७ कार्तिक २९ गते ५:५२ मा प्रकाशित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कसैले भारतलाई उक्साए भारतले त्यसको ‘प्रचण्ड जवाफ’ दिने बताउनुभएको छ । मोदी सेनाका जवानसँग दीपावली मनाउन जैसलमेरको लोङ्गेवाला पुग्नुभएको थियो । सेनाका जवानलाई बधाई दिएपछि मोदीले चीनतर्फ इसारा गर्दै भन्नुभयो, ‘आज पूरा विश्व विस्तारवादी शक्तिलाई लिएर चिन्तित छ । यो एक प्रकारले मानसिक विकृति हो र १८ औँ शताब्दीको सोचलाई दर्शाउँछ ।’

मोदीले भन्नुभयो, ‘भारत अर्काे कुरा सुन्ने र आफ्नो कुरा सम्झाउने नीतिमा विश्वास गर्छ तर यदि कसैले उक्साउँछ भने भारत प्रचण्ड जवाफ दिन तयार छ ।’मोदीको यो अभिव्यक्ति भारत र चीनबीच जारी सीमा विवादका बीच आएको हो । दुवै देशका सैन्य कमाण्डरबीच विवाद समाधानका लागि वार्ता र बैठकका साथै राजनीतिक भ्रमण पनि भएको थियो । तर कुनै नतिजा भने निस्कन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताउने गरेका छन् ।

लोङ्गेवाला पोस्टमा सैनिकहरूलाई सम्बोधन गर्दै मोदीले विश्वको कुनै पनि शक्ति भारतीय सैनिकलाई सीमाको सुरक्षा गर्नबाट रोक्न नसक्ने बताउनुभयो । भारतीय प्रधानमन्त्री मोदीले सतर्कता नै आफ्नो सुरक्षाको बाटो भएको भन्ने कुरालाई कहिल्यै पनि भुल्न नसकिने बताउनुभयो ।

गएको १५ जुनमा दुई देशबीचको सङ्घर्षमा २० भारतीय सैनिकको ज्यान गएपछि यी दुई देशबीच तनाब बढिरहेको छ । त्यो सङ्घर्षमा चिनियाँ पक्षको के–कति क्षति भयो भन्ने बारे आधिकारिक जानकारी अझै आइसकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू