अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२४ | Colorodo: 14:39

पराजय

गोपी मैनाली २०७७ असोज ३० गते २१:५२ मा प्रकाशित

उज्यालो खस्नु अघि नै उठ्नु, नुहाउनु, जप र पूजापाठ गर्नु र घाम झुल्कनु अघि पत्रपत्रिका पढिसक्नु सुरोजको निदचर्या हो ।
उ हाइस्कुलमा पढ्दा देखि नै सबेरै उठ्ने र कोठाको काम गर्ने बानी परेको हो । कलेज पुगेपछि कार्यभार बढ्दै गयो, जागिर खाएपछि झनै बढ्यो र घरको अभिभावक बन्न परेपछि झनै बढ्यो । उ सधैँ कामले थिचिएको र समयको हतारोमा छ ।

सुरोज काम गर्न परे पनि कत्ति पनि बेखुसी छैन । बस बच्चाको तोते बोली, श्रीमतीको मीठो मुस्कान र अफिसको काममा गाल नपरे उ प्रसन्न हुन्छ ।

बच्चा उठेपछि उनीहरूलाई एक एक ग्लास दूध र आफू चिया पिउँदै बच्चालाई पढाउने र आफू पनि पढ्ने सुरोजको आदत नै हो ।
बाबुहरूले धेरै पढुन् र असल मानिस बनुन् भन्ने चाहनाले सुरोज र उसकी श्रीमती बच्चाका चाहना सकी नसकी पूरा गर्न पछि पर्दैनन् ।
पाठक दाइले तिम्रा बच्चाको चेहराले नै धेरै विद्वान बन्नेछन् भन्दा सुरोज निकै दङ्ग परेथ्यो । फुर्सद मिल्दा महान् र सघर्षमा सफल भएका व्यक्तिहरूको जीवनी सुनाउने काम पनि उसले गर्दै आएको छ ।

आज पनि सुरोज सबेरै उठ्यो र दिनचर्यामा सामेल भयो ।

पत्रिका पढिसकेपछि चियाको सुर्कोसँगै एकमनले घरको काम र अर्को मनले अफिसको विषय सोच्न थाल्यो । मनभित्रका किताबका पानाहरू एक एक गरी पल्टिँदै गए ।

बच्चा उठी सेकेका छैनन् । भान्छामा बच्चाका खाजा बन्दै छ ।
अफिसमा प्रशासन शाखा प्रमुखले बिदा लिएका छन्, फर्स्ट आवरमै एउटा प्रस्ताव क्याबिनेट पठाउनु छ ।
योजना अनुगमनको टिम बिहानैदेखि राष्ट्रिय समस्या समाधान समितिको बैठकमा प्रस्तुत गर्ने प्रतिवेदन तयारीमा छ । एघार बजेसम्म प्रस्तुति तयार हुनुपर्छ ।

टिरिरिङ…….. फोनको घण्टी बज्यो । अनुगमन अधिकृत गोपालजीको रहेछ ।

‘सर विभागबाट आएको आँकडा मिल्दैन, हामीले भन्दा डिजी सावले त्यति राम्रो रेस्पोन्स गर्नु भएन । हजुरले भन्नु पर्यो । दश बजेसम्म विवरण आइसक्नु पर्‍यो । फोनबाटै पाए पनि हुन्छ ।’

मोरङको कार्यालय प्रमुखप्रति सेवाग्राहीको धेरै सिकायत छ । लिखित उजुरी पनि छ । नेता र ट्रेड युनियनहरू उसैको पक्षमा छन् । निगरानी निकायको पनि देख छ । गुनासोरहित सेवा हाम्रो प्रतिबद्धता । आजै सरुवा गर्नुपर्ने, आजै प्रशासन प्रमुख किन बिदा बस्नु परेको होला ?
शाखा अधिकृतबाटै टिप्पणी उठाए भई त हाल्यो नि ।

हिजो ढिलासम्म होमवर्क गरेकाले होला, बाबुहरू अझै सुतेका छन् । लोडसेडिङले पनि बच्चाहरूको रुटिन नै विगार्यो ।
‘बाबु हो उठ । फ्रेस भएर खाजा खाइहाल । स्कुल जान ढिला होला ।’

बाबुहरूले खाजा खाइसकेपछि थोत्रो मोटर साइकलको उनीहरूलाई अघि र पछि राखेर सुरोज स्कुल पुग्छ ।

‘बाबु हो राम्ररी पढ, ज्ञानी बन । टाटा ।’

बत्तीको महसुल तिर्नु छ । खानेपानीको धारमा पानी नआएको पनि सात वर्ष भयो । पानी आउने आशामा पैसा तिर्नु परेको छ ।
पहिला त ट्याङ्करले भन्ने बित्तिकै पानी ल्याइदिन्थ्यो । अहिले त भाउ पनि बढ्यो, दशौंपटक फोन नगरी ट्याङ्कर पनि आउँदैन । ल्याउँदा पनि राती, निद्रा नै बिथोल्ने गरी । अरूलाई पनि यस्तै समस्या होला नि ।

डेरा गर्ने विद्यार्थी के गर्दा होलान् ? कठै सहरमा अवसर छ भनेर पढ्न आएका, चाहिने बेलामा न बत्ती छ, न धारोमा पानी ? बत्ती गएपछि लामखुट्टेले कति दुख देलान् ?

सुरोजलाई भात खान पनि हतार छ । संधैको हतारो । हतारमा खादा एक दुई गासमै अघाइ हाल्छ ।

‘संधैको हतार । फुर्सदले खाँदा हुँदैन र ? अफिसमा के छ ? दुई मिनेट ढिला हुँदा अफिस नै चल्दैन ?’ श्रीमतीको भनाइबाट सरोज झल्यास्स हुन्छ । यो भनाइ र हतारो संधैको हो । तर आज ऊ किन हो कुन्नि छाँगाबाट खसेजस्तो भो । मनका पाना फेरि एकएक गरी उघ्रिए ।
म विना अफिस चल्दैन ? टाइफाइडमा डेढ महिना थलिँदा अफिस चलेन र ? जापानमा तालीममा जाँदा अफिस चलेन र ?

हो नचलेको जस्तै भयो । नारायण सरले मेरो अनुपस्थितिमा काम नभएकोमा अरू साथीलाई म जस्तै काम गर्न कति सम्झाउनु भयो रे ।
जापान तालीममा रहँदा त भौतिक दूरी भएर पनि इमेलबाटै महत्त्वपूर्ण काम गरिएकै हो । बेलुकी दुई तिन घण्टा काम गरेकै हो । सबैले मलाई अफिसको पर्याय भन्ने गर्थे ।

फेरि सबैले अफिसको काम त हो नि भनेर सोचे अफिस कसरी चल्छ ?

‘होइन अफिस त चल्छ । जसरी पनि चल्छ । तिमी नकराऊ न । आत्म सन्तोषको लागि पनि काम गर्नुपर्छ । सबैले तिमीले जस्तो सोचे के गर्ने ?’

‘यसो कहिले घर परिवार, बच्चाहरूका लागि पनि त समय दिए हुने नि । स्टोनको अप्रेसन छ, दाँतको उपचार गर्नु छ । कहिले काम हुन्न र अस्पताल जाने ?’

‘अफिसले के दिएको छ र ? न पुरस्कार न स्याबासी । कोही जान नचाहने अफिस हजुरको भागमा पर्दै आएको सबैलाई थाहा छ ।’
सुरोजको मन निकै तरङ्गित छ । प्रत्येक पुरुष असल पति र असल पिता बन्न चाहन्छ । असल राष्ट्रसेवक बन्न चाहन्छ । असल नागरिक पनि बन्नुपर्छ । यी कुराबिच सन्तुलन र सङ्घर्षको जीवन ।

आफ्नो स्वास्थ्यको, परिवारको, बच्चाहरूको कसैको विषयमा पनि सोचिएन । यतिसम्म कि बैठक कोठाको ट्युब लाइट बिग्रिएको हप्ता नाघिसक्यो । कपाल काट्न तीन सातादेखि एक घण्टा समय मिलेको छैन । मोटर साइकल सर्भिससङको समय गुज्रेको तीन महिना नाघ्यो । शनिवार बच्चालाई पार्क, चिडियाघर लाने दिन पनि जुरेन । बिचराहरूको शनिवारको मनोरञ्जन टम एण्ड जेरी र एनिमल प्लानेट हेरेर वित्छ । तारे जमिन पर हेर्न कति पटक भने । टेलिभिजन पनि नभएको भए ?

अस्ति त सानोले पुर्याएरै सोध्यो ‘पापा शनिवार हजुरको होलिडे हुन्न ?’ हुन्छ भन्ने कि हुन्न भन्ने । वैधानिकतामा काम गर्ने कि कत्र्तव्यमा काम गर्ने ? कर्तव्य परिवारप्रति पनि कि निजामती सेवाप्रति मात्र ?

तर के गर्ने कुनै न कुनै बहानामा अफिसमा कहिले को कहिले को आउँदैनन् । काम रोक्नु पनि भएन । सबैलाई लोकतन्त्र आएको छ । सबैले नेता र युनियनको फेर समातेका छन् । साथीहरूले काम नगरेपछि कसैगरी फत्ते गर्नै पर्यो । शनिवार भनेर के गर्ने ?
हतार हतार कपडा फेर्छ । कपडा पनि धोएको त छ, आइरन गरेको छैन । जुत्तामा पालिस पनि छैन ।

डायरी र कलम साधैका साथी । न मोलिन्छ, न आइरन लगाउन नै पर्छ ।

पौने दश हुँदा पनि सुरोजको कार्यकक्ष खुलेको छैन ।

‘पी ए हरिकृष्णजी, कार्यालय सहयोगीहरू त अलि छिटै आएर कोठा खोले हुने नि ? बाँकी काम, इमेल चेक जस्ता काम त भिडभाड हुनुअघि नै गर्ने हो ।’

‘होइन, मैले हतार गरे भन्दैमा उनीहरूले किन हतार गर्ने ? मलाई पो गाडी छ, उनीहरू बसमा झुन्डिएर नै आउने होलान् । उनीहरूका पनि बालबच्चा र श्रीमती होलान् । भनेको समयमा तल माथि पर्न सक्छ नि ।’

‘तर योजना अनुगमनका गोपालहरू त बिहानै आएका छन् । धन्न उनीहरू जस्ता केही साथीहरू कामलाई नै जीवन मान्छन्, कामलाई नै प्रेरणा मान्छन् । उनीहरूले काम कति गरे, त्यही बसे भैगो नि दश पन्ध्र मिनेट ।’

‘कामको अर्जेन्सी र कामबाट एक्स्क्यूज लिने प्रवृत्तिबिच तालमेल कसरी मिलाउने ? कोही साधैका एक्स्क्यूज मेकर, कोही संधैभरि गोरु जोतिने ।’
कर्मचारीतन्त्र त्यसै आलोचित भएको हो र ? कर्मचारी भनेपछि कर्मकै आचरनमा रहनु पर्दैन ?
सधैँ काममै समर्पित हुनेले के पाए ?

काम नगर्ने, तर यो गरे त्यो गरे भनेर गरेको जस्तो देखाउने, प्रचार गर्दै हिँड्ने कै हाबी छ । सधैँ जोतिने बिचरा, उल्टो गाली खान्छ ।
काम गोपालजीहरूले गरे, मैले गरेको भनेर पो रिपोर्ट गर्छ शिव । यस्तै भनी भनी मन्त्रीज्यूलाई के प्रभाव पारेथ्यो, विदेश नोमिनेशन नगरी भएन । मेरै हातबाट गोपालजीहरूलाई अन्याय गर्नुपर्यो । कठै मबाट पनि न्याय नपाए कसले न्याय दिन्छ, कसले माया दिन्छ ?

होइन, सधैँ जोतिने, अफिसलाई नै कर्मघर सम्झने थोरैबाट नै प्रणाली धानिएको छ । काम त आत्मसन्तोषको लागि पनि गर्ने हो नि । काम गर्नेले के पाइन्छ भनेर सोच्छ र ? उ त काम मात्र गर्छ ।

‘साढे तीन महिना जगेडामा रहँदा काम नभएर कति छटपटिनु परेथ्यो ।’

चौरमा चुड्की गर्नेहरू गर्दै रहुन्, सेवाग्राही सरकार प्रतिको दायित्व पूरा गर्नैपर्छ । के पाए र पाइन गौण कुरा हो । थोरै भए पनि तलब पाइएको छ, राष्ट्रसेवा गर्ने अवसर छ, काम गर्ने अवसर पाइएको छ । यत्ति पनि नपाउने कत्ति छन् कत्ति । नपाउनेहरूलाई नै यसको महत्त्व थाहा होला ।
हो त वीर बहाुदरजीले ठिकै भन्नु भयो–जागिरमा भएर त आधा भए पनि खान पाइएको छ, जागिरमा नहुनेले त आधा पनि खान पाएका छैनन् । कति सटिक बोली वीर बहाुदुरजीको । सबै अफिसमा कम्तीमा दश प्रतिशत यस्तै साथी भए कति आनन्द हुनेथ्यो ।

मध्यान्हपछि अफिसमा भिडभाड छ । डेलिगेसन, गुनासो, सरुवा, विज्ञापन । कोही त चिया खान मात्र पनि आएका । कति त पिए कोठामा ल्याङ खाएर बसेका । यस्ता साथीहरू त फुर्सदमा आए नि हुनी ।

ढिलो आउने साथीहरूको गुनासो झन् धेरै छन् ।
‘टिरिरिरिङ…..।’
मन्त्रीज्यूको फोन रहेछ ।
‘हजुर नमस्कार । केही थियो कि ? म कार्यकक्षमै छु । काममा छु हजुर ।’

‘यति वेलासम्म देखिनु भएन, आउनु भएन कि भनेर ।’

‘होइन हजुर, अघि नै आएँ । समीक्षा बैठकको प्रस्तुति तयार भयो, प्रस्ताव पनि पठाइ सके । अर्जेन्ट काम सकेर हजुरकोमा निस्कन्छु हुन्न ? ’
‘मन्त्रीको बोलावट भन्दा अर्को अर्जेन्ट हुन्छ ? ल । ’ फोन काटिन्छ ।
भीड पन्छ्याऊ, काम गरौँ कि मन्त्रीज्यूकोमा जाऊ ?

होइन मैले जागिर खान पनि जानिन कि क्या । सधैँ यस्तै । काम गर्दा पनि तनाव, नगर्दा पनि तनाव । नीति नेतृत्व त उहाहरुले लिए हुने नि । जस अपजस आफैले लिए हुने नि ।

हो मैले जागिर खान नजानेकै हो । जान्दथे त किन अरूले छाडेको मन्त्रालयमा मात्र पोस्टिङ ? विकलले काम पनि गर्दैन, चुड्की मारेरै बस्छ । लगातार विभूषण उसैले पाएको छ ।

उ त तक्मा दिने ठाउँमै छ नि ?
सवलले उत्कृष्ट कर्मचारी पुरस्कार पायो ।

उ पनि पुरस्कार निर्णय गर्ने ठाउँ मै छ नि । फेरि ट्रेड युनियनको मानिस पर्यो ।
जीवन इकोनोमिक काउन्सिलरमा गयो, यस अघि पनि विदेशै थियो । प्रबल महावाणिज्य दूतमा । उ पनि पोहोर मात्र युरोपबाट पढेर फर्किएको होइन र ?

मैले पनि एउटा विदेशी डिग्री लिन पाएको भए । विए, एम ए सबै प्राइभेट परीक्षा, सवैमा सेकेन्ड डिभिजन । यस्तो पढाइले त कन्फिडिएन्सी पनि हुँदो रहेनछ ।

होइन, मैले जस्तो आत्मसन्तोष मिल्ने गरी उनीहरूले काम गर्न पाएका छैनन् । धुलो मैलोका सेवाग्राही उनीहरूले चिनेका छैनन् । धेरै सेवाग्राही र दुखी मानिसहरूले मलाई चिन्दछन् ।

चिनेर के फरक ? यो त फगत चित्त बुझाउने कुरा हो । आत्मसन्तोषको लागि ।
कुईइइइईय ढोका खोल्दै हरिकृष्ण जी पस्नुहुन्छ ‘सर पूर्व मन्त्रीज्यू डेलिगेसन सहित हुनुहुन्छ । अर्जेन्ट छ रे, पठाऔँ ?’
पठाइ दिनुस् ।

सुरोज जी, तपाई जस्तो काम गर्ने मानिस मैले देखेको छैन । तपाइलाई के गर्नुपर्छ हामीलाई थाहा छ । समयमा हामी सम्झौला ।
होइन उहाँ किन त्यसो भन्नु हुन्छ ? म जगेडामा हुँदा चिनजान गर्न आएर पनि प्रशंसा गर्नु भो । मन्त्री हुनु भो, तर त्यति बेला बिर्सनु भो ।
‘अहिले उहाँको सरुवा र यो निवेदन तत्काल फर्वाड गर्नुपर्यो ।’
सुरोजसंग प्रतिक्रियाका धेरै शब्द थिएनन् ।

‘होइन मन्त्रीज्यू, के भन्नु भएको । मैले कोसँग के गुनासो गरे र ? ठिकै छ नि, काम गरेको छु । हजुरहरूले हिजो गरेको पनि देखेकै को । कामका लागि अरू पृष्ठभूमि किन चाहियो र ? काम गर्नु त हाम्रो कर्तव्य नै हो । जनताको तिरो खाएपछि काम नगरेर हुन्छ ?’
‘अँ एउटा कुरा, उहाँ सुब्बा साहेबको सरुवा म पी आइ एस हेरेर, यस अघि कहाँ कहाँ बस्नुभएको छ, पास्ट रेकर्ड हेरेर गरौला । सरुवा सिद्धान्त र समयमा गर्नुपर्छ, प्रणाली बसाउन हजुरहरूले पनि सहयोग गर्नुपर्छ ।’

राजनीति गर्नेलाई के थाहा कर्मचारी वृत्तिबाट एक पटक हटेपछि, वृत्ति अवधि सकिएपछि फेरि नेता जसरी कहिले बृृत्तिमा आउन सक्दैनन् । कम्तीमा उहाहरुले मलाई दुख दिए भन्ने त रहेछ नि । पश्चात्ताप त रहेछ नि ।

यो पश्चात्ताप कामका लागि हो, पावरमा पुगेपछि भुलिहालिन्छ नि ।

शक्तिमा पुगेपछि काम गर्नेलाई चाकडी गर्न आइनस् भनेर पेल्ने उहाहरु नै त हो नि ।
महत्त्वाकाङ्क्षीहरू अवसरवादी हुन्छन् । अवसरमा पुगेपछि सिद्धान्त र आदर्श भुल्ने पहिलो काम हो उहाहरुको ।
आ होस् । परिश्रम र इमानमा बाचेपछि कसैले कही भन्न सक्दैन । ढुक्क भएर बोल्न सकिन्छ । बोल्दा विवेक थाती राख्नु पर्दैन । यो जति ठुलो उपलब्धि के ?

तर आदर्शले पेट भरिन्छ ? कहिलेकाहीँ त स्याबासी पाए पनि हुने नि ।
म जत्तिको मानिसलाई पनि गरिससम्म नभन्दा मलाई उहाहरुले कसरी काम लगाउने ?
अरूले पनि यस्तै नियति भोग्दै आएका छन् ? अझ ठुलो हैरानी ।
कि जागिर खानु भएन , जागिर खाएपछि जस्तो हुन्छ स्विकार्न पर्‍यो ।
सुरोजका छटपटी र व्यथाहरू मनभित्रै मडारिएका छन्, छछल्किएका छन् । कसलाई बताउने ? बताउने शब्द र सुन्ने साथी पनि छैनन् ।

रात परिसक्यो । तर अर्जेन्सीका केही कामहरू बाँकी छन् । नसकी त घर जानु भएन नि ।
थकान मुद्रामा, तर गर्नुपर्ने काम गरेकोमा मनभित्रको गर्वभावमा सुरोज निवास आइपुग्छ ।
र, भरेङबाटै श्रीमतीको नाम लिएर बोलाउँछ ।

‘होइन, आज पनि यति ढिलो ? होइन त्यो अफिसमा के छ ? पोहोर भूकम्प जाँदा पनि म एक्लै भए । भूकम्प पछि पनि डराएर चौरमा रहनु पर्‍यो ।’

सुरोज थकित र पराजित मुद्रामा निशव्द उभिन्छ ।
फगत निशव्द ।