अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५१ | Colorodo: 01:06

दसैंमा घटस्थापनादेखि बिदा दिन सचिवहरूको सरकारलाई सुझाव

बिआरटीनेपाल २०७७ असोज २८ गते ७:०८ मा प्रकाशित

कोरोना भाइरसको फैलिँदो संक्रमणलाई ख्याल गर्दै विभिन्न मन्त्रालयका सचिवहरूले सरकारलाई यस पटक घटस्थापना (कात्तिक १ गते) देखि नै सरकारी कार्यालय बन्द गर्न सुझाव दिएका छन् । सरकारको नियमित दसैं बिदा भने कात्तिक ७ गते (फूलपाती) देखि कात्तिक ११ गतेसम्म मात्र छ । मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारदेखि प्रधानमन्त्री निवास बालुवाटार, कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र, प्रधानमन्त्रीका सल्लाहकार र मन्त्रीहरूलाई समेत संक्रमण भएपछि सचिवहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर सुझाव दिएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार सचिवहरूले मुख्यसचिव शंकरदास बैरागीलाई भेटेर आफ्ना मन्त्रालय र त्यसअन्तर्गतका कार्यालयमा पनि कोरोना संक्रमित देखिएको उल्लेख गर्दै दसैं बिदा लम्ब्याउन सुझाव दिएका हुन् । सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले असोज २५ गते मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्ने क्रममा काठमाडौंमा कोरोना भाइरस नियन्त्रण र व्यवस्थापनमा गम्भीर चुनौती देखापरेको बताउनुभएको थियो ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले पनि यही अवस्थामा कोरोना संक्रमण बढ्दै गए काठमाडौं उपत्यकामा लकडाउन गर्नुपर्ने सल्लाह सरकारलाई दिएको छ । स्वास्थ्य मन्त्रालयले यसअघि नै सक्रिय संक्रमितको संख्या २५ हजार पुग्यो भने लकडाउन गर्नुपर्ने सल्लाह सरकारलाई दिइसकेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू