अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०७ | Colorodo: 20:22

“आर्थिक चलखेल रोक्न जग्गाको कित्ताकाट खुलाउने निर्णय” -मन्त्री अर्याल

बिआरटीनेपाल २०७७ असोज २७ गते ७:२० मा प्रकाशित

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले जग्गासम्बन्धी कारोबारमा हुने गरेको आर्थिक चलखेल रोक्न जग्गाको कित्ताकाट खुलाउने निर्णय गरिएको जिकिर गर्नुभएको छ । मंगलबार राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा उहाँले ऐन कार्यान्वयनमा नआउँदा जग्गा कारोबारमा आर्थिक चलखेल हुनेक्रम बढेकाले त्यसलाई रोक्न कित्ताकाट खुला गरिएको बताउनुभयो ।

भूउपयोग ऐन २०७६ समयमै कार्यान्वयन गर्न नसक्दा आर्थिक चलखेलबाट नहुने काम पनि हुने र पैसा नहुनेको हुने काम पनि नहुनेक्रम बढेकाले कित्ताकाट खुलाउने निर्णय गरिएको मन्त्री अर्यालको भनाइ थियो ।मन्त्री अर्यालले कित्ताकाट खुला गरेपछि भइरहेको सबै आलोचनाहरुको प्रष्टीकरण दिन जरुरी नहरहेको भन्दै अहिले ऐन कार्यान्वयनको चरणमा आइसकेको बताउनुभयो ।

गएको भदौ १८ गते मन्त्रिस्तरीय निर्णयले कृषिभूमि कित्ताकाट गर्न रोक्का गर्ने निर्णय बदर गरेको थियो । सरकारको कित्ताकाट खुला गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत परेको छ । मुद्दा अहिले विचाराधीन छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू