अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२५ | Colorodo: 08:40

शून्य

पेशल आचार्य २०७७ असोज २१ गते १०:१४ मा प्रकाशित

कविता

मैले शून्यलाई
प्रेम गरेको
भागफल अङ्क आउँछ भनेर हैन ।

मैले मनलाई
आफन्त बनाएको
मनका डिलहरू
जथाभाबी मिच्न हैन ।

मैले दुःखसँग प्रीत लगाएको
सुखलाई धारे हात लगाएर
चर्चरी बाझ्न पनि हैन ।

मैले तिमीसँग अपनत्व खोजेको
कुनै तर्कले तिमीलाई हराएर
जीवनभर
म तर्कका अश्वमेध घोडाहरूमा सवार भई
हिनहिनाएर बुर्कुसी मार्न पनि हैन ।

यी सबै छाया चित्रका माझ
हो चाहिँ के भने
म तिमी, दुःख, मन र शून्यलाई
धेरै अघिदेखि अतीव प्यार गर्छु
यी मेरा शरीरका छायाजस्तै
जीवनभर म सँगसँगै
हिँडिरहेका छन्
बदलामा
मसँग कुनै ज्याला मागेका छैनन्
बदलामा
मसँग केही अपेक्षा गरेका छैनन् ।

निअपेक्षा
र निर्आशा
दुवैले दुवैलाई अनन्त चाहनु
शून्यको तिजोरीमा
गुम्फित भएर
एकर्कालाई भलिभाँती
चिन्नु हो ।

बस, म शून्यलाई
शून्यझैँ प्रेम गर्छु
के तिमी पनि शून्य कै पुजारी हौ त ?