अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५० | Colorodo: 14:05

प्रधानमन्त्री ओलीको एकलौटी निर्णयप्रति नेकपामा असन्तुष्टि

बिआरटीनेपाल २०७७ असोज १५ गते ६:४२ मा प्रकाशित

सरकारले विहीवार गरेको तीन राजदूत सिफारिसप्रति सत्तारुढ नेकपाभित्र असन्तुष्टि देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा भएको सहमति विपरित एकलौटी रुपमा निर्णय गरेको भन्दै नेकपाभित्र असन्तुष्टि देखिएको हो ।

भदौ २६ गते स्थायी समितिले पारित गरेको अध्यक्षद्वयको प्रस्तावमा सरकारका महत्वपूर्ण नियुक्ति पार्टीमा सल्लाह गरेर मात्र गर्ने भन्ने उल्लेख थियो । तर, स्थायी समितिको निर्णय अध्यक्ष ओलीले एक महिना नपुग्दै उल्लंघन गर्नुभएको हो । सरकारका महत्वपूर्ण निर्णयहरु पार्टीसँग छलफल गरेर गर्ने सचिवालय र स्थायी समितिको निर्णय विपरीत अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले तीन देशका लागि बिहीबार राजदूत सिफारिस गर्नुभएको छ ।

यसबारेमा प्रधाननमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सचिवालयका अरु सदस्यहरुसँग छलफल नै नगर्नुभएको नेताहरुको गुनासो छ । ओलीले फेरि एकलौटी गर्न थालेको आशंका प्रचण्ड र वरिष्ठ नेता नेपाल पक्षीय नेताहरुको छ ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले मुख्य सचिवबाट लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गर्दै बेलायतको राजदूतमा सिफारिस गर्ने निर्णय गरेको छ । त्यस्तै पूर्व अर्थमन्त्री एवं प्रधानमन्त्रीका सल्लाहकार युवराज खतिवडालाई अमेरिकाको राजदूतमा सिफारिस गरिएको छ । सरकारले निर्मल विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूत सिफारिस गर्दै परराष्ट्र सचिव शंकरदास वैरागीलाई मुख्य सचिव बनाउने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू