आज सेप्टेम्बर २३ तारिख, सामान्यतया नेपालबाट मनसुन बाहिरिने दिन हो । तर यो वर्ष मनसुन सकिने बेला झन् सक्रिय भएको छ । बंगालको खाडीमा न्यूनचापीय क्षेत्र बनेको र त्यो उत्तर पश्चिमतिर सरिरहेकाले नेपालमा मनसुन झन् सक्रिय भएको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले बताउनुभयो । सामान्यतया जुन १० तारिखमा भारतबाट पूर्वी नेपाल हुँदै मनसुन प्रवेश गर्छ । अनि मध्यक्षेत्र हुँदै पश्चिम पुगेर सेम्टेम्बर २३ मा पश्चिमबाट मध्यक्षेत्र हुँदै फेरि पूर्वबाट नै बाहिरिन्छ । तर यो वर्ष भारतमा नै मनसुन नसकिएकाले नेपालमा अझै केही दिन लम्बिने देखिएको छ ।