अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१४ | Colorodo: 14:29

चीनद्धारा नेपाली भूभागमा ९वटा भवन निर्माण, नेपालीलाई प्रवेश निषेध

बिआरटीनेपाल २०७७ असोज ३ गते ७:४४ मा प्रकाशित

हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालीपारीको गाउँ लिमीको लाप्चा क्षेत्रमा चीनले नेपाली भूभागमा भवन निर्माण गरेको पाइएको छ। दुई देशको सिमानाभन्दा एक किलोमिटर यता नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन बनाउने कार्य अन्तिम चरणमा पुर्याएको छ । केही दिनअघि लाप्चा क्षेत्र पुगेर फर्किएका नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा नौ वटा व्यापारिक प्रयोजनका भवन बनाएको जानकारी दिनुभएको छ । लाप्चा क्षेत्रको नेपाली भूभाग गबु याल्मामा ती ब्लक बनेको बताउँदै आफू उक्त क्षेत्रमा जान खोज्दा त्यहाँ भएका मानिसहरु गाडी चढेर चिनियाँ भूभागतर्फ लागेको लामाले बताउनुभयो ।

यसअघि २०६६ सालमा लिमी लाप्चाको सडक निर्माण गर्ने क्रममा सोही स्थानमा तीन वटा भवन मात्र निर्माण भएको भएपनि चिनियाँ पक्षले उक्त निर्माण कार्य रोकिएको बताउँदै हाल थप नयाँ भवन निर्माण गरेर भित्रको फिनिसिङको कार्य गरिरहेको अध्यक्ष लामाले उल्लेख गर्नुभयो । उहाँका अनुसार सो क्षेत्र नेपाली भूभाग भएपनि चिनियाँ सुरक्षाकर्मीले नेपालीलाई प्रवेश गर्न समेत दिने गरेका छैनन्। तर चिनियाँ सुरक्षाकर्मीहरु गाडीमा नेपाली भूभागमा भने ओहोरदोहोर गरिरहन्छन्।

हाल भवन निर्माण भएको स्थानभन्दा केही परको डाँडामा १२ नम्बर सिमा स्तम्भ रहेको छ। त्योसँगै ११ नम्बर सिमा स्तम्भ भने हराएको छ। जो हालसम्म पत्ता लगाउन सकिएको छैन। वडा नम्बर ६ का अध्यक्ष पाल्जोर तामाङले पनि भवन निर्माण गरिएको क्षेत्र नेपाली भूभाग भएको बताउनुभएको छ ।

चीनद्धारा नेपाली भूमि अतिक्रमण भएर निर्माण कार्य गरिएपछि प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान र गाउँपालिकाका अध्यक्षको टोली भवन निर्माण गरिएको स्थानतर्फ जाने तयारीमा रहेको बताईएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू