अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१८ | Colorodo: 06:33

निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ६३ प्रतिशत काम सम्पन्न

बिआरटीनेपाल २०७७ भदौ ३१ गते ७:२४ मा प्रकाशित

निर्माणाधिन पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको काम ६३ प्रतिशत सम्पन्न भएको छ। सन् २०२१ जुलाईमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ निर्माणको काम जारी रहेपनि कोभिड महामारीका कारण केही समयमै निर्माण सम्पन्न हुनेमा केही समस्या हुने देखिएको छ। यद्यपि अहिलेसम्म विमानस्थल निर्माणको काम ६३ प्रतिशत सकिएको छ।

विमानस्थलको रन वे, एप्रोन, ट्याक्सी वे, पाइपलाइन, ट्रान्सफर्मरहरु, केबुल र लाइटिङका लगायतका कामहरु सम्पन्न भएका छन् । माटो कटान र फिलिङ गर्ने काम लगभग ९८ प्रतिशत सकिएको छ। गाडी गुड्ने रोड, एक्सेस रोड र ट्रमिनल बिल्डिङको काम पनि अन्तिम चरणमा पुगेको विमानस्थल आयोजनाले जनाएको छ । कार पार्किङको काम पनि सकिएको र बिल्डिङको हकमा १४ वटा बिल्डिङको स्ट्रक्चर सकेर फिनिसिङको काम सकिइसकेको आयोजना प्रमुख विनेश मुनाकर्मीले जानकारी दिनुभयो ।

निर्धारित समयभन्दा ६ महिना अघि नै काम सम्पन्न गर्ने लक्ष्य भएपनि कोरोना महामारी र लकडाउनका लागि चिनियाँ कामदार उतै रोकिएकाले अपेक्षित निर्माणको काम हुन नसकेको हो । लकडाउनले २ सय चिनियाँ कामदार रोकिएकाले केही निर्माण कार्य केही पर धकेलिएको उहाँले बताउनुभयो ।

विमानस्थलमा अहिले २ सय ४४ चिनियाँ र १ सय १८ नेपाली कामदार कार्यरत् छन् । विमानस्थल निर्माण सामाग्रीको भने अभाव नरहेको मुनाकर्मीले बताउनुभयो । लकडाउनअघि नै आवश्यक सामाग्री चीनबाट ल्याइएको र केही सामान भारतीय कलकत्ता बन्दरगाहबाट आउने क्रममा रहेकाले निर्माण सामग्रीको अभाव नहुने उहाँको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू