अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५१ | Colorodo: 18:06

सर्वोच्च अदालतद्धारा सरकारसंग सर्वसाधारणको कोरोना परीक्षण निःशुल्क नगर्नुको कारण माग

बिआरटीनेपाल २०७७ भदौ ३१ गते ७:१८ मा प्रकाशित

सर्वसाधारणको कोरोना परीक्षण निःशुल्क नगर्ने सरकारी निर्णयप्रति सर्वोच्च अदालतले जवाफ मागेको छ । सर्वोच्चले कोरोना भाइरस संक्रमण पत्ता लगाउन गरिने आरटी–पीसीआर परीक्षण किन निःशुल्क गर्न नसकेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग लिखित कारण मागेको हो ।न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु पर्ने हो ? आदेश जारी हुनु नपर्ने भए आधार कारणसहित यो आदेश जारी भएको १५ दिनभित्र लिखित जवाफ पेश गर्न भनेको छ ।

अधिवक्ताद्वय केशरजंग केसी र लोकेन्द्रबहादुर ओलीले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरूले जस्तै सर्वसाधारणको पनि कोरोना भाइरसको पीसीआर परीक्षण निःशुल्क गर्न माग गर्दै दायर रिटमा यो आदेश दिइएको हो । रिटकर्ताले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरूले निःशुल्क परीक्षण गर्ने र निमुखा जनतासँग शुल्क असुल्ने निर्देशन दिने सरकारको नीति संविधान विपरीत रहेको दाबी गर्दै रिट दायर गरेका थिए ।

कोभिड–१९ को परीक्षण जनस्वास्थ्य ऐन, २०७५ अनुसार आधारभूत स्वास्थ्य सेवामा पर्ने सरुवा रोग हो होइन ? भन्ने विषयमा पनि अदालतले जवाफ मागेको छ । रिट निवेदक र विपक्षी सरकार दुबै पक्षलाई ८ असोजमा छलफलका लागि अदालतमा उपस्थित हुन पनि भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू