अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१६ | Colorodo: 12:31

एमसिसीका ‘दलाल’ले मेराबारे कुप्रचार गरे – भीम रावल

बिआरटीनेपाल २०७७ भदौ २७ गते ७:२० मा प्रकाशित

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारित गर्नुपर्छ भनेर आफूले भन्दै नभनेको कुरा प्रचार गरिएको भन्दै आक्रोश पोख्नुभएको छ । शनिबार ट्विटरमार्फत रावलले त्यसरी कुप्रचार गर्नेहरूलाई ‘दलाल’ को संज्ञासमेत दिनुभयो ।

‘मैले भन्दै नभनेको कुरा गरी एमसिसी पारित गर्नुपर्छ भने भनी कुप्रचार अभियान चलाउनेहरू एमसिसि पारित गराउन लागिपरेका त्यसकै दलालहरू हुन्,’ नेता रावलले ट्विटमा भन्नुभएको छ , ‘यस्ताहरू भीम रावलले देशभक्तिपूर्ण अडान छाडेदेखि नेपालको शीर झुकाउन सजिलो हुन्थ्यो कि भन्ने कुत्सित सपना देखिरहेका छन् जो कहिल्यै पूरा हुने छैन।’

नेता रावलले एमसिसी हुबहु पारित गरे राष्ट्रघात हुने अडान राखिरहनुभएको छ । तर हिजो शुक्रबार सम्पन्न नेकपाको स्थायी कमिटी बैठकमा उहाँले पनि एमसिसी पारित गर्नुपर्ने पक्षमा बोलेको भन्दै समाचार आइरहेका छन्। शुक्रबार सम्पन्न नेकपाको स्थायी कमिटीको बैठकले एमसिसी परिमार्जनसहित पारित गर्नुपर्ने निर्णय गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू