अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०० | Colorodo: 06:15

युनेस्को अन्तर्राष्ट्रिय साक्षरता अवार्ड ‘एजिङ नेपाल’ लाई

बिआरटीनेपाल २०७७ भदौ २० गते ७:०३ मा प्रकाशित

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले ज्येष्ठ नागरिकका क्षेत्रमा कार्यरत संस्था ‘एजिङ नेपाल’ लाई यस वर्षको ‘युनेस्को अन्तर्राष्ट्रिय साक्षरता अवार्ड २०२०’ प्रदान गर्ने भएको छ । युनेस्को नेपालका निमित्त नेपाल राष्ट्रिय आयोगका सहायक महासचिव डा. बाबुराम अधिकारीका अनुसार ज्येष्ठ नागरिक र साक्षरताका सवालमा सो संस्थाले दिएको योगदान मूल्याङ्कनसहित गरिएको सिफारिशका आधारमा युनेस्को मुख्यालयले निर्णय गरेको हो । हरेक वर्ष विश्वभरीका प्रतिस्पर्धीमध्ये दुई या दुई संस्थालाई दिइने यो विश्वप्रसिद्ध पुरस्कारको राशी २० हजार अमेरिकी डलर छ ।

हरेक अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा फ्रान्सको पेरिसस्थित युनेस्कोको मुख्यालयमा पुरस्कार वितरण गरिँदै आएकामा यस वर्ष यही भदौ २३ गते भर्चुअलरुपमा पुरस्तरका वितरण हुने डा अधिकारीले जानकारी दिनुभयो । उहाँले नेपाली संस्थाले यस प्रकारको अन्तर्राष्ट्रियस्तरको पुरस्कार पाउनु नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, युनेस्को आयोगको सचिवालय र नेपालीका लागि गौरवको विषय भएको बताउनुभयो ।

एजिङ नेपालका अध्यक्ष कृष्णमुरारी भण्डारी (चट्याङ मास्टर) ले पुरस्कारको निर्णयबारे जानकारी पाउँदा खुशी लागेको उल्लेख गर्दै आफूहरुले बेग्लै किसिमको पाठ्यपुस्तक, अध्यापन विधि र तालिमप्राप्त शिक्षक तयार गरी एक दशकदेखि काम गर्दै आएको बताउनुभयो । सो संस्थाले राष्ट्रसङ्घस्थित युएन कमिटी अन एजिङको सहयोगमा सन् २०१६ देखि काठमाडौँका वडास्तरमा ‘ज्येष्ठ नागरिक आधारभूत शिक्षा’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । हाल नेपालमा महिला ज्येष्ठ नागरिक बढी निरक्षर रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू