अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५१ | Colorodo: 06:06

तन्का

श्रीराम श्रेष्ठ २०७७ भदौ ५ गते १२:११ मा प्रकाशित

१. शीतको थोपा
अँजुलीभरि राखेँ
चुहेर गयो
तिर्खा लागेको बेला
बाफिएको रहर ।

२. मनको पीडा
पोख्ने ठाउँ पाइनँ
जलेको जल्यै
लामो समयदेखि
भूसको आगोसरि ।

३. थाकेको साँझ
डुव्न लागेको घाम
नौलो आकृति
नरोकिने नियम
फेरिएको समय ।

४.फूलको थुँगा
टाउकोमा घुसार्दा
हेर्दा सुहायो
कतिन्जेल टिक्ने हो
फुर्किएको मनले ।

५. सुनेँ र देखेँ
त्यो तिम्रो अनुहार
गुराँस जस्तै
सधैँ फुलिरहने
अजम्मरी बुटीझैँ ।

६. स्वादिलो फूल
भमरा नै टाँस्सिने
सुगन्धमय
नबितेको समय
ओइलिएको रूप ।

७. गुराँस फुल्यो
ढकमक्क आकाश
बनै थर्किने
कोइलीको आवाज
सङ्गीतबद्ध धुन ।

८. नीलो आकाश
घुम्टो हालेको माया
सूर्यास्त हुँदा
पहेँलिँदै रोएको
अँध्यारो बाटो छेक्दा ।

९. असारे मेला
मुसलधारे वर्षा
तर्न खोजेको
कुर्नुसम्म कुरेको
रोकिएन पर्खँदा ।

१०.खहरे खोला
बगेको वग्यै भयो
आफू सम्झिँदै
सधैँ धरिको दुःखी
सधैँ भरिको पीडा ।

११. औँसीको रात
अँध्यारो खप्टिएर
अलिनो स्वाद
निदाउन खोजेको
चिसो बिहानी हावा ।

१२. सम्झिने बानी
लामो समय कुर्दा
तीतो सम्झना
कसरी बिर्सने हो
दाग लागेको रात ।

१३. हतार यात्रा
बिर्सन नसकिने
मुटु नै काम्यो
कोदोको मीठो झोल
भाग्दै जाँदाको जाडो ।

१४. आफै फुलेछ
समयमा नटिप्दा
झुक्किन पुग्दा
टिपेर नै के गर्ने
कसरी टिकाउने ।

१५. तिम्रो चाहना
पूरा भए पछि त
आकाश ताक्छ
कसरी बचाउने
कसरी जोगाउने ।

१६. ठाडो उकालो
लखतरान बाटो
चिसो बतास
थाक्दा थाक्दैको निद्रा
स्वर्ग तुल्य विश्राम ।

१७. मलामी कुर्दा
रित्तो पैताला दौडिन्छ
लास बोकेको
निहारिएको यात्रा
लास मात्रै सम्झेर ।

१८. शून्य दिमाग
आवाज पनि शून्य
मृत्यु उत्सव
रुँदै हिँडेका खुट्टा
मूर्दाघर चर्किदा ।

१९. कठोर यात्रा
पुग्ने ठाउँ सम्झिँदा
थकाइ ज्यादा
एकनासे हिँडाइ
पछाडि छाया छेक्दै ।

२०. आस्थाको रात
छिप्पिएको सम्झना
बिर्सेको यात्रा
हुस्सु छिर्दा बिहानी
निद्रा खलबलिँदा ।

प्रतिक्रिया