अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२४ | Colorodo: 12:39

रेशम चौधरीलाई रिहा गर्न थारुवान मोर्चाको माग, आन्दोलनका कार्यक्रम सार्वजनिक

बिआरटीनेपाल २०७७ साउन २४ गते ६:१५ मा प्रकाशित

टीकापुर घटनाको राजनितिक रुपमा समाधान निकाल्न थरुहट थारुवान मोर्चाहरुले माग गरेका छन् । शनिबार कैलालीमा पत्रकार सम्मेलन गर्दै मोर्चाले आफूहरुको माग सुनुवाइ नभए सरकारलाई नै बहिस्कार गर्ने चेतावनी दिएको छ । मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले ३ महिना भित्र राज्यले सो घटनाको समस्या समाधान नगरे सरकार र सरकारमा रहेका मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई बहिस्कार गरिने चेतावनी दिनुभयो ।

टीकापुर प्रकरणमा थुनामा रहेका रेशमलाल चौधरी सहितका ११ जनालाई ३ महिना भित्र गर्नुपर्ने मोर्चाको माग रहेको उहाँको भनाइ छ । साथै मोर्चाले यसका लागि संघर्षका कार्यक्रम पनि तय गरेको छ । जसअनुसार साउन २५ मा प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउने, भाद्र २ मा मानव अधिकार र नागरिक अगुवाहरुसँग छलफल गर्ने, भदौ ७ मा विरोध सभा गर्ने र भदौ ८ टीकापुर घटनालाई स्मरण गर्दै कालो दिनको रुपमा मनाउने रहेको छ ।

त्यसैगरी असोज ३ मा देशव्यापी संविधानका धारा जलाउने र त्यतिन्जेलसम्म पनि माग पूरा नभए नयाँ आन्दोलनका कार्यक्रमहरु तय गरिने मोर्चाले जनाएको छ । मोर्चाको आन्दोलनमा नेपाल आदिवासी जनजाती महासंघ प्रदेश समन्वय परिषद्, उत्पीडन समन्वय मञ्च कैलाली, नेपाल लोकतान्त्रिक पार्टी कैलाली, खसान रास्ट्रिय संघर्ष समिति, नेपाल मगर संघ कैलाली, संघीय दलित शिल्पी मञ्च कैलाली र मिसन अम्बेडकर कैलालीले समेत एक्यबद्धता जनाएको मोर्चाका संयोजक थारुले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू