अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५९ | Colorodo: 09:14

प्रधानमन्त्री बैठकमा आउनैपर्छ, अरुका कुरा पनि सुन्नुपर्छ, विवाद मिलाउन अग्रसरता लिनैपर्छ – नेकपा प्रवक्ता श्रेष्ठ

बिआरटीनेपाल २०७७ साउन २० गते ६:१० मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्र प्रधानमन्त्रीको राजीनामाका विषयमा औपचारिक रुपमा कुरा नउठेको बताउनुभएको छ । पार्टी र सरकार दुवैले आफ्नो कार्यशैली सुधार गर्नुपर्ने विषयमा पार्टीका नेताहरुले व्यक्तिगत धारणा मात्रै व्यक्त गरेको उहाँले बताउनुभएको हो ।

गोरखामा पत्रकारहरुसँग कुरा गर्दै श्रेष्ठले सरकारले अहिलेसम्म गरेका कामको समीक्षा गर्ने क्रममा केही नेताहरुले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग गरे पनि त्यसलाई पार्टीले औपचारिक प्रस्तावका रुपमा अघि नसारेको बताउनुभयो । पार्टीले सरकार बनाउँदा सामाजिक न्यायसहितको समृद्धिको लक्ष्य पूरा गर्ने, समाजवादको आधार तयार गर्ने जस्ता काममा भएको प्रगति, कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारको सन्दर्भमा सरकारको भूमिकालगायतका विषयमा भने प्रश्न उठेको उहाँले बताउनुभयो ।

‘पार्टीको अवस्था र भूमिका, सरकारको अवस्था र भूमिकाको समीक्षा गर्ने क्रममा पार्टी र सरकार विचार र नीतिको आधारमा चल्ने काममा त्यति राम्रो भएन । विचार र पद्धतिको आधारमा चल्ने काममा त्यति राम्रो भएन भनेर प्रश्नहरु उठेका छन्’, नेकपा प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘सरकारले केही सकारात्मक महत्त्वका र केही ऐतिहासिक कामहरु गरेको छ तर केही महत्त्वपूर्ण मुद्दाहरुमा चुकेको छ ।’

नेपाललाई सामाजिक आर्थिक रुपले रुपान्तरण गर्ने, समाजवादमा जाने उद्देश्यलाई केन्द्रबिन्दुमा राखेर पार्टी एकता गरिएको भन्दै उहाँले यसबाट कोही विचलित हुन नसक्ने बताउनुभयो । नेकपाको एकता कायम राखिने र थप सदृढ गरेर अगाडि बढ्ने उहाँको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू